पश्चिम म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिकामा–४ मुदीमा निमांणधिन अवस्थामा रहेको ३७ मेगावाटको माथिल्लो म्याग्दी जलविद्युत् आयोजनामा ५ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्ने भएका छन् । सिद्धार्थ बैंक लिमिटेडको अगुवाईमा लगानी हुने आयोजनाको वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएको छ ।

हाइड्रो इम्पायर प्रालिले निर्माण गर्ने आयोजनामा सिद्धार्थ बैंक लिमिटेडको अगुवाइमा नेपाल एसबिआई बैंक लिमिटेड, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, एभरेष्ट बैंक लिमिटेड र नबिल बैंक लिमिटेडले ५ अर्ब ३४ करोड ८८ लाख ९८ हजार रुपैयाँ लगानी गर्ने गरी सम्झौता भएको हो ।

आयोजनाको पे ब्याक पिरियड करिब १२ वर्ष रहेको छ ।सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट अमित श्रेष्ठ, नेपाल एसबिआईबाट सन्तोष पुन, सिटिजन्स बैंकको तर्फबाट रोशन मल्ल, एभरेष्ट बैंकबाट उमेश गेलाल र नबिल बैंकको तर्फबाट निशेष हरी राज भण्डारीले हस्ताक्षर गरे ।बैंकको ब्याजबाहेक आयोजनाको कूल लागत ६ अर्ब ६९ करोड ९४ लाख ९५ हजार रुपैयाँ अनुमान गरिएको छ । ब्याजसहित ७ अर्ब ६३ करोड २९ लाख १४ हजार रुपैयाँ लागत अनुमान गरिएको छ ।

आयोजनामा ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्वपूँजी लगानी रहनेछ । आयोजना पूरा भएपछि २१५.७१४ गिगावाट घन्टा ऊर्जा उत्पादन हुनेछ । उत्पादित विद्युत् विद्युतगृहदेखि १०.२ किलोमिटर दूरीको १३२ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत डाडाखेत सबस्टेसनमा जोडिनेछ ।कम्पनीका प्रबन्ध निर्देशक जितबहादुर घर्तीले प्राविधिक पक्ष राम्रो भएको र लगानी समेत जुटीसकेकोले निर्धारित समयमा सम्पन्न गर्ने बताए ।

हालसम्म आयोजनास्थल पुग्ने २१ किलोमिटर पहुँचमार्ग पूरा भई आवश्यक ५० टन क्षमताको १ र ३० टन क्षमताको १ बेलिब्रिज पनि सञ्चालनमा आइसकेको छ । आयोजनाले निर्माण गर्नुपर्ने करिब ९ किलोमिटर पहुँचमार्गको काम समेत पूरा भएको छ । आयोजनाका लागि आवश्यक निजी जग्गा १.६९ हेक्टर खरिद गरिएको तथा सरकारी जग्गा ३.६९ हेक्टर अधिग्रहण गरी यसको शोधभर्नाको प्रक्रिया अगाडि बढाएको छ । यस्तै, वन सम्बन्धी सम्पूर्ण कार्यहरू सकिइसकेको छ । आयोजनाका लागि आवश्यक विष्फोटक पर्दाथ खरिदका लागि लागि सम्बन्धित निकायबाट स्वीकृति लिई प्रक्रिया अगाडि बढाइएको कम्पनीले जनाएको छ । urjasanchar.com

Leave a Reply