म्याग्दीको रघुगंगा गाउँपालिका-३,पिप्लेको नवसन्तोष यूवा क्लवले बास्केटबल प्रतियोगितामा जितेको पुरस्कार रकम सामाजिक कार्यमा खर्च गर्ने गरेको छ ।
समुदायस्तरमा सक्रिय रहेको क्लवले प्रतियोगितामा पाएको नगद पुरस्कार रकम विद्यालयका बालबालिकालाई शैक्षिक साम्रागी सहयोग, विपन्नको उपचार तथा सडक बत्ती जडान सहित विभिन्न सामाजिक कार्यमा खर्च गरेको हो ।
म्याग्दीमा बास्केटबलतर्फ निरन्तर उपाधी जित्न सफल क्लबले असाहय, जेहेन्दार विद्यार्थीलाई ४५ हजार ५ सय बराबरको शैक्षिक साम्रागी सहयोग, बेगखोलामा करेन्ट लागेर घाईतेलाई नगद ५ हजार र करिब १ लाख ३१ हजार बराबरको सडक बत्ती जडान सहित अन्य विभिन्न सामाजिक कार्यमा खर्च गरिएको क्लवका सल्लाहकार प्रविण शाहीले बताए ।
‘समुदायस्तरका विभिन्न कार्यमा क्लवले सहयोग गरेको छ, आगामी दिनमा पनि खेलकुद सहितका सामाजिक कार्यमा निरन्तर सक्रिय हुनेछ’ सल्लाहकार शाहीले भने।
बि.स २०७८ सालदेखि हालसम्म ३५ बास्केटबल प्रतियोगितामध्ये ३३ खेलमा विजेता र २ मा उपबिजेता भएको क्लवले खेलाडी ब्यवस्थापन सहितको खर्च बाहेक समुदायस्तरका गतिविधिमा सक्रिय हुने क्लवका अध्यक्ष सुजन रकालको भनाई छ।
क्लवले स्थानीयस्तरमा प्रतियोगिता सहित म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङ जिल्लामा भएका प्रतियोगितामा क्लवले बलियो उपस्थिती जनाउने गरेको छ ।
क्लवको बास्केटबल टिमको क्याप्टेन आशिष शाही, कोच विकेक शाही र म्यानेजर लोक मल्ल रहेका छन् । बास्केटबल टिमका खेलाडीहरुमध्ये आशिष शाही, सुदिप कार्की, सुसन कार्की र अभिषेक चन्द्र क्षेत्रीयस्तरका खेलाडी हुन् ।
क्लवले खेलमा जितेको पुरस्कार भोजभतेर र अन्य फजुल खर्च नगरी सम्ुदायकै हितमा खर्च गरेको भन्दै स्थानीय संघसंस्थाले समेत प्रशंंसा गर्ने गरेका छन् ।