म्याग्दीको बेनीबजारमा अवस्थित माउन्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले विद्यार्थीलाई चारित्रिक दीप्ति,नैतिक बल र व्यवहारिक ज्ञान प्रदान गर्ने अभियान अन्तर्गत विभिन्न किसिमका कार्यक्रम संचालन गरेको छ ।
छात्रवासमा रहेका विद्यार्थीहरुलाई दैनिक रुपमा बिहान ५ बजे विद्यालयको हलमा योगा ध्यान सिकाइनुका साथै विभिन्न धार्मिक,ऐतिहासिक तथा पर्यटकीय क्षेत्रहरुको भ्रमण गराउँदै आएको विद्यालयले विद्यार्थीहरुलाई नैतिक र व्यवहारिक ज्ञान प्रदान गर्नका लागि थप कार्यक्रमहरु आयोजना गर्न लागिएको जनाएको छ ।
म्याग्दीको शैक्षिक तथा सामाजिक क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल विद्यालयले नियमित पठनपाठन र अतिरिक्त क्रियाकलाप बाहेकका अन्य जीवनोपयोगी र सीपमूलक कार्यक्रमहरु पनि संचालन गर्न लागिएको प्रिन्सिपल राजु केसीले बताउनुभयो ।
“माउन्ट एभरेष्टको गर्बिलो इतिहासलाई थप उचाइमा पु¥याउन हामी प्रयत्नशील छौँ,सेलेबस र रिजल्टमा मात्र हामी केन्द्रित छैनौं,विद्यार्थीको चौतर्फी विकास र जीवनका बहुआयामिक पक्षहरुको समेत जग निर्माणका लागि हाम्रो ध्यान केन्द्रित छ” प्रिन्सिपल केसीले भन्नुभयो । विद्यालयका संचालक सदस्य समेत रहनुभएका प्रिन्सिपल केसीले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञानका लागि तरकारी खेती लगाएत विभिन्न प्रयोगात्मक कार्यहरुको तयारी सुरु गरेको जानकारी दिनुभयो ।
जिल्लाका विभिन्न गाउँहरुमा कृषि र पर्यटनको समेत प्रशस्त सम्भावना रहेकोले विद्यालय तह देखि नै यी क्षेत्रहरुको बारेमा जानकारी दिन विद्यालयकै जग्गामा तरकारी खेती र नर्सरी स्थापनाको काम पनि अघि बढाइने उहाँले बताउनुभयो । त्यसैगरी पर्यटकीय स्थलहरुको जानकारी,होमस्टे (घरबास सेवा) को महत्व लगाएतका विषयहरुमा पनि विद्यार्थीहरुलाई सिकाउन सुरु गरिएको उहाँको भनाइरहेको छ ।
विद्यार्थीहरुलाई प्रकृति चिनाउने र महत्व बुझाउने उद्धेश्यले बिदाका दिनमा कहिले नदी किनार त कहिले वन जंगलमा भ्रमण गराउने,गाउँमा लगेर गाउँलेहरुको दिनचर्या र जीवनशैली बुझाउने,, दैनिक जीवनमा प्रयोग हुने साधनहरुको प्रयोग गर्ने तरिका सिकाउने,सामुहिकता,सहभागिता र सार्वजनिक सम्पदाहरुको महत्व र यसबाट हुने फाइदाहरुको बारेमा विद्यार्थीहरुलाई सिकाउने लगाएतका कामहरु विद्यालयले गर्दै आएको प्रिन्सिपल केसीले जानकारी दिनुभयो ।
शैक्षिक गुणस्तरका साथै जिल्ला स्तरमा हुने विभिन्न प्रतियोगिताहरुमा पनि राम्रो नतिजा प्राप्त गर्दै आएको यस विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालय सेवा क्षेत्र भित्र मात्रै नभइ जिल्लाका धार्मिक,ऐतिहासिक तथा पर्यटकीय स्थलहरुमा पनि विभिन्न किसिमका कार्यक्रमहरु गर्ने योजना बनाएको छ ।