बेनीको खुल्लामञ्चमा आयोजित बेनी नगरपालिकाको पाँचौँ राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा ८ बर्षिया रितिका घताने १५ सय दौडमा केही सेकेन्डले काँस्य पदक जित्नबाट बन्चित भइन् ।
बेनपा-१० पात्लेखेत स्थित दिपक माविमा कक्षा ४ मा अध्ययनरत घतानेले दौडमा पदक जित्न केही प्राविधिक ज्ञानको अभावले चुकिन् । प्रतियोगितामा १३ प्रतिस्पर्धीमध्येकी घताने पहिलोपटक जिल्लास्तरीय प्रतियोगितामा सहभागि भएकी हुन्।
पात्लेखेत आरनटोलकी घताने यसपटक नगरस्तरीय प्रतियोगिता एथ्लेटिक्स विधामा अतिथि, खेलाडी देखि दर्शकसम्म आकर्षणको केन्द्रबिन्दु बनिन् । १५ सय मिटरको दौड सकिएपछि पनि घताने उत्तिकै फुर्तिलो देखिन्थिन् ।
प्रतियोगितामा खेल्न आमाले किनिदिएको जुत्ता घरमै बिर्सिएर आएकी उनले नियमित लगाउने जुत्तामै सहभागिता जनाएकी थिइन् । उनको खुट्टाको साइजभन्दा जुत्ता ठुलो थियो ।‘जुत्ता ठूलो हुदाँ अन्तिममा दौडिन सकिन, आमाले किनिदिएको जुत्ता घरमै बिर्सिएछु’ घतानेले बेनीअनलाइनलाई भनिन् ।
उनले अहिले दौडिन पाउनुमै खुसी लागेको बताइन् । विद्यालयका शिक्षक विजय सुबेदीले प्रशिक्षणविना उनी प्रतियोगितामा सहभागी भएको बताए । उनलाई विद्यालयले ८ सय मिटरको दौडमा समेत प्रतियोगी बनाएको छ।‘धेरै तयारी गर्न पाइएन, राम्रो प्रशिक्षण पाएमा एथलेटिक्समा राम्रो सम्भावना छ’ शिक्षक सुबेदीले भने ।
विद्यालयमा प्रयाप्त खेल अभ्यासको वातावरण नभएपनि उनको सम्भावना देखेर प्रतियोगितामा सहभागि बनाएको प्रधानाध्यापक बिष्णु ढुंगानाले बताए। ‘लामो दुरीको दौडमा चौथो हुनु नै हाम्रो लागि पदक जिते जस्तै हो,उनी दौडिएको देखेर सबै दंग परेका छन्’ प्रअ ढुंगानाले भने ।
उनले एथ्लेटिक्स विधाका खेलहरूमा आवश्यक पर्ने तयारी तथा प्रशिक्षणका लागि समेत सम्बन्धित निकायबाट सहयोगको अपेक्षा गरिएको बताए । उनले पढाईमा समेत अब्बल छिन् । एथलेटिक्स सँगै भविस्यमा भलिबल सहितका अन्य खेल विधामा समेत सहभागि बनाउन सकिने प्रअ ढुंगानाको भनाई छ ।
प्रतियोगितामा घतानेको दौड देखेपछि बेनी नरपालिकाका मेयर सुरत केसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, वडा नं ४ का अध्यक्ष अणबहादुर खड्का, वडा नं १० का अध्यक्ष मसबिर रोका मैदानमै पुगेर बधाई दिएका थिए । उनलाई खुल्लामञ्चमा भेट्ने सबैले खेल नजिते पनि मन जित्यो भनेर प्रशंसा गरेका थिए ।
म्याग्दीमा विगतका बर्षहरूमा पालिका तथा जिल्लास्तरीय प्रतियोगिताबाट सम्भावना भएका खेलाडीहरूलाई समेत आवश्यक तालिम सहितको प्रशिक्षणको वातावरण भने बनेको छैन ।
प्रतियोगितामा उपाधी जितेका र सम्भावना भएका खेलाडीलाई नियमित प्रशिक्षणको आवश्यकता रहेको खेलकुदका जानकार बताउँछन् । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस सहित बेनी नगरपालिकाका २६ वटा विद्यालय सहभागि भएका छन् ।