म्याग्दीका सबैजसो बस्तीका किसान आलु खेतीप्रति आकर्षित भएसँगै जिल्ला नै आलु खेतीमा आत्मनिर्भर बनेको छ । गएको आर्थिक वर्ष २०८०÷०८१ मा म्याग्दीमा ३१ हजार ४ सयभन्दा बढी मेट्रिक टन आलु उत्पादन भएको छ । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको विभिन्न स्थानमा लगाइएको आलुबाट कुल ३१ हजार ४ सय ५० मेट्रिक टन आलु उत्पादन गरिएको हो ।
जिल्लाभर कुल १७ सय हेक्टर क्षेत्रफलको जमिनबाट गतवर्ष ३१ हजार ४ सय ५० मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।प्रति हेक्टर १८ दशमलव ५ मेट्रिक टन आलु उत्पादन भएको छ ।
उत्पादन भएको आलुमध्ये १ हजार ६ सय ८३ दशमलव ९३ मेट्रिक टन खायन आलु प्रवद्र्धन कार्यक्रममार्फत उत्पादन भएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गंगा लामिछानेले बताइन् । ‘आलु खेतीमा एकल र समुह सक्रियताले उत्पादन बढेको छ,‘आलु बिक्री गरेर रहरलाग्दो आम्दानी गरिरहनुभएको छ’ लामिछानेले भनिन् ।
उन्नत जात, खेती प्रविधिमा आधुनिकीरण, अनुदान, बीउ आलु भण्डार गृह निर्माण, बजारको पहुँच विस्तार जस्ता कारणले आलुखेतीतर्फ कृषकको आकर्षण बढेकाको कृषि ज्ञान केन्द्रले जनाएको छ ।म्याग्दीमा खायन आलु प्रवद्र्धन कार्यक्रमअन्तर्गत ९१ दशमलव ४ हेक्टर क्षेत्रफलको जमिनमा सो परिमाणको आलु लगाइएको थियो ।
यस कार्यक्रमबाट ४४ दशमलव ५ हेक्टर क्षेत्रफलको जमिनमा हिउँदे आलु लगाइएकोमा ८ सय २६ दशमलव ३७ मेट्रिक टन आलु उत्पादन भएको छ । हिउँदमा प्रति हेक्टर १८ दशमलव ५७ मेट्रिक टन आलु उत्पादन भएको थियो वर्षे आलु ४४ दशमलव १५ हेक्टरमा लगाइएको थियो ।
यसैगरी वर्षे आलुतर्फ ८ सय १ दशमलव ३२ मेट्रिक आलु उत्पादन भएकोमा प्रति हेक्टर १८ दशमलव १५ मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले बताए । ‘सुरक्षित भण्डारणको सिपले समेत बेमौसममा बिक्री गर्न सजिलो भएको छ,‘कोल्डस्टोरमा समेत बिउ भण्डारण गर्ने गरिएको छ’ प्रमुख बाँस्तोलाले भने ।
गतवर्ष बिउ आलुतर्फ २ दशमलव ७५ हेक्टर क्षेत्रफलको जमिनमा लगाइएको थियो । यसबाट ५६ दशमलव २४ मेट्रिक टन आलु उत्पादन भएकोमा २० दशमलव ४५ प्रति मेट्रिक टन उत्पादकत्व रहेको थियो । बाँकी आलु भने कार्यक्रमबाहेक अन्य क्षेत्रमा स्थानीय किसानहरुले लगाएका थिए ।
म्याग्दीमा उत्पादित आलु किसानले प्रतिकेजी ३० रुपैयाँको दरले हिउँदे र ३५ रुपैयाँको दरले वर्षे आलु बिक्री तथा वितरण गरेका छन् । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा कृषि ज्ञान केन्द्रमार्फत कृषक समूह र कृषि सहकारीबाट जिल्लामा आलु खेती विस्तार कार्यक्रम सञ्चालन गरिएको थियो । जिल्लामा उत्पादित आलु म्याग्दीसहित जिल्लाभन्दा बाहिर पनि निर्यात भएको छ ।
प्रदेश सरकारको सहयोगमा कृषि ज्ञान केन्द्रमार्फत किसानहरुलाई आलु खेतीका लागि सिँचाइ गर्ने पाइप, आलुको बिऊबिजन, विषादी, मललगायत सहयोग उपलब्ध गराइएको थियो । यसका साथै ज्ञान केन्द्रबाट यान्त्रिकरणतर्फ (मिनीटेलर हलो) तथा आलुको बजारीकरणमा समेत सहयोग गरिएको थियो ।
गतवर्ष हिउँदे आलु बेनी नगरपालिकाको २, ३, ४, ५ र १० नम्बर वडाअन्तर्गत ज्यामरुककोटको खबरा, भकिम्ली, सिङ्गा, पुलाचौरको मरुवा र पात्लेखेतमा लगाइएको थियो। त्यस्तै धवलागिरि गाउँपालिका–४ मुदीको खाम्ला, खिबाङ र ५ नम्बर वडा मराङमा पनि हिउँदे आलु लगाइएको थियो ।
बागलुङको निसीखोला, ढोरपाटन र लाम्मेलाबाट वर्षे आलुको बिऊ खरिद गरी किसानहरुलाई वितरण गरिएको थियो । वर्षे आलुतर्फ बेनी नगरपालिकाको ३ नम्बर वडा भकिम्लीको भकिम्ली, मुसुङडोले, भुकभुके, स्वर्गाश्रम, रघुगंगा गाउँपालिका–४ दग्नामको दर्मिजा, ६ पाखापानीको ठाडाखानी, अन्नपूर्ण–६ घारस्थित खिबाङ, मंगला–२ को हिदी, धवलागिरिको ४ मुदी र ७ नम्बर वडा ताकममा आलु लगाइएको थियो ।
पछिल्लो समय म्याग्दी जिल्ला आलु खेतीमा आत्मनिर्भर बन्दै जान थालेको छ । कृषि ज्ञान केन्द्र, स्थानीय पालिका र विभिन्न संघसंस्थाको सहयोग पाएपछि जिल्लाका किसानहरु व्यावसायिक आलु खेतीतर्फ सक्रिय भएर लागेका छन् । आलुलाई तरकारीको राजा पनि भनेर चिनिन्छ । आलुलाई तरकारीसँगै उसिनेर, अचार बनाएर, फिङ्गर चिप्स, फ्राईसहित विभिन्न परिकारका रुप दिएर प्रयोग गरिँदै आएको छ ।