म्याग्दीमा पछिल्लो समय अत्याधिक स्वदेशी पर्यटक पुग्ने गन्तब्य म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित प्रथम अन्नपूर्ण हिमालको शिविरमा बन्दै गएको छ । तीनबर्ष अगाडीसम्म करिब सुनसान जस्तै हुने पदमार्गमा अहिले दैनिक ३ सयको हाराहारीमा पर्यटक पुग्ने गरेका छन् ।

दैनिक पदमार्गमा खचाखच पर्यटक देखेर नारच्याङबासी समेत दंग छन् । ‘पर्यटकको चहलपहल बढेको छ, त्यहाँ बनाइएका संरचनाहरुमा बस्ने ठाउँ पनि हुदैन, टेन्ट सहित पुगेकालाई सहज हुन्छ’अभियान्ता तेज गुरुङले भने।

दशैंतिहारको विदामा नेपालका विभिन्न जिल्लाबाट एकल तथा सामुहिक रुपमा आउने पर्यटकले भरिभराउ रहेको बताए । खानबस्ने होटल सहितको सुविधा भए अन्नपूर्ण बेसक्याम्प म्याग्दी जिल्लाको प्रमुख पर्यटकीय गन्तब्य बन्ने पर्यटन ब्यवसायीहरू बताउँछन् ।

‘म्याग्दीको पहिलो गन्तब्य भनेकै अन्नपूर्ण बेसक्याम्प हुन्छ, अब स्वदेशी पर्यटक हिमालको काखमै गएर रमाउनेहरुलाई यो नेपालकै एक उत्कृष्ट गन्तब्य हो’ हालै त्यहाँ पुगेर फर्किएका बेनीका छवि आचार्यले भने ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको मुख्य आधार शिविरबाट हिमाल आरोहण गर्ने क्षेत्र, आधार शिविर तथा पञ्चकुण्ड ताल सहित पदमार्गमा रहेको फुतफुते ताल, गुफा, झरना सहितका सुन्दर दृष्य अवलोकन गर्न पाइन्छ । अन्नपूर्ण–३ नारच्याङको हुमखोलाबाट सुरु हुने मौरीस हर्जोग पदमार्ग अन्नपूर्ण आरोहण ट्रेक हुँदै दुई दिनको यात्रापछि अन्नपूर्णको आधार शिविर पुग्न सकिन्छ ।

मिश्रीखोलाको किनारै किनार निर्माण गरिएको पदमार्गको यात्रामा मनोरम प्राकृतिक सुन्दरताको अवलोकनका साथै हिमनदी र झरनाले पर्यटकहरुलाई आकर्षित गर्छ । यो बेनीबाट छोटो दूरीमा पर्ने आकर्षक पर्यटकीय गन्तब्य हो ।

गत वर्षको भन्दा यस वर्ष अन्नपूर्ण आधार शिविरको भ्रमण गर्ने पर्यटकको संख्यामा ६ गुणा बढेको छ । यसबर्षै भारतीय, चाइनिजि, ताइवानी र इटालियन पर्यटकहरु समेत पदमार्गमा देखिएका छन् ।

पर्यटकको सुविधाका लागि बेसक्याम्पमा सुविधासम्पन्न होटल, लज, संचारको सुविधा र बिच बाटोमा टी आउस लगायतका पूर्वाधार बनाउन बजेट सहितको तयारी समेत गरिएको गाउँपालिका अध्यक्ष भारतकुमार पुनको भनाई छ ।

बेनीबाट दुईदिनको यात्रामा सजिलै पुग्न सकिने रमणीय पर्यटकीय स्थल भएकाले सम्बन्धित निकायले पर्यटन पूर्वाधार निर्माण र प्रवद्र्धनमा ध्यान दिएमा एकैबर्ष हजारौं पर्यटक पुग्ने धौलागिरी पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले बताए ।

नेपालमा ‘जेठो हिमाल’ भनेर समेत चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म पुग्ने ‘मौरिस हर्जोग पदमार्ग’ अन्तर्गत नारच्याङको दोभान–छोटेपा हुँदै हुमखोलासम्म सवारी साधनमा पुगेर त्यहाँबाट पैदलमार्ग हुँदै दुईदिनमा सहजै अन्नपूर्ण आधार शिविरसम्म पुग्न सकिन्छ ।

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार क्षेत्र पुगिन्छ । उक्त पदमार्गमा शुक्रबार फ्रान्सेली नागरिक छोरा माथिएस हर्जाेगले पहिलोपटक मौरिस हर्जोगले आरोहण गरेको अन्नपूर्ण प्रथमको पदयात्रामा निस्किएका छन् ।

Leave a Reply