तनहुँको देवघाट गाउँपालिका-५ स्थित चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाले सञ्चालन गरेको डेरी उद्योगले डेरी पसल विस्तार गरेको छ। डेरी उद्योगमा संकलन भएको दुग्धजन्य पदार्थ बिक्रीवितरणका लागि सोही वडाको टाउनचोकमा डेरी पसल सञ्चालनमा ल्याइएको हो।
डेरीबाट उत्पादित दुग्धजन्य वस्तु आफ्ना नियमित उपभोक्ता तथा सर्वसाधारणको सहजताका लागि टाउन चोकमा पसल सञ्चालन गरिएको सहकारीका व्यवस्थापक संगीता ओझाले जानकारी दिइन्। सहकारीले सञ्चालन गरेको डेरीबाट उत्पादित दुग्धजन्य पदार्थहरु दूध, दही, घ्यु, पनिर, कुल्फी, आइसक्रिम र खुवा अबदेखि उक्त पसलबाट पनि बिक्री वितरण गरिने ओझाले बताइन्।
उनका अनुसार डेरी उद्योगमार्फत मासिक १० लाखको दुग्धजन्य उत्पादनको कारोबार हुँदै आएको छ। सहकारीलाई देवघाट गाउँपालिकाले दूधमा प्रोत्साहन रकम उपलब्ध गराएको छ भने उत्पादित वस्तुहरुको बजारीकरणमा हेफर इन्टरनेशनल नेपालले सहयोग गर्दै आएको छ।
देवघाटका महिलाले सञ्चालन गरेको उक्त सहकारीले बचत तथा ऋणको कारोबारसँगै दूध संकलन, दुग्धजन्य वस्तुको उत्पादन, डेरी सञ्चालन, पशुपानलन, तरकारीखेती तथा सामूहिक रुपमा नगदेबालीको खेतीजस्ता आयआर्जनको काममा सदस्यलाई आबद्ध गराउँदै आएको छ।
उक्त सहकारीमा हाल दैनिक पाँच सय ७० लिटर दूध संकलन हुँदै आएको छ। संकलित दूधलाई आफ्नै भवनमा रहेको उद्योगबाट विभिन्न वस्तु बनाई बिक्री गर्दै आइरहेको सहकारीका अध्यक्ष तारादेवी पन्तले जानकारी दिइन्। उनका अनुसार दूधबाट दुग्धजन्य पदार्थ दूध, दही, घ्यु, पनिर, कुल्फी, आइसक्रिम र खुवालगायत उत्पादन हुँदै आएको छ। सहकारीमा हाल सात सय ९४ जना शेयर सदस्य रहेका छन्।
सहकारीमा देवघाटको वडा नं १, ४ र ५ का महिला सदस्य छन्। शेयर सदस्यमध्ये अधिकांश पशुपालनमा संलग्न छन्। शेयर सदस्यहरुले उत्पादन गरेको दूध सहकारीले खरिदगरी दुग्धजन्य वस्तु उत्पादनगरी बिक्री गर्दै आइएको छ।
उत्पादित दुग्धजन्य वस्तु चितवनको नारायणगढ, भरतपुर, मुग्लिङ, हेटौँडा, कावासोती, गैँडाकोटलगायत बजारमा डेरी पसलमार्फत बिक्री गर्दै आएको छ। अध्यक्ष पन्तले भनिन्, ‘बचत संकलन तथा ऋण लगानीमार्फत शेयर सदस्यलाई व्यवसायमा सघाउने तथा उनीहरुको आर्थिक अवस्था सुधार्ने सहकारीको उद्देश्य हो। पछिल्लो समय सहकारीका सदस्य मिलेर समूह बनाएर सामूहिक रुपमा अदुवा र बेसारखेती गरेका छन्। रासस