करिव आधा शताब्दी (५० वर्ष) सम्म ढुङ्गामाटोले बनेको र खरले छाएको घरमा बस्नुभएका बेनी नगरपालिका-२ का ९० वर्षिय बेदप्रसाद उपाध्याय अहिले रड र सिमेन्टको पक्की घरमा बस्नुहुन्छ ।

पक्की घरको बास भएपनि उहाँलाई पुरानै जमानाको खरले छाएको घर नै ‘खास’लाग्ने गर्छ ।जंगलबाट बोकेर ल्याएका धुरीबला । बाँसका चोयाँ र चिर्पट । घनले फोडेर र टुकटुकेले कुँदेर तयार पारिएका गाह्रो लगाउने ढुङ्गा । खरबारीमा गएर काटील्याएको खर । कुवाको पानी गाग्रोमा बोकेर गाह्रो लगाउने माटो मुछ्दा थाकेको शरिरको स्मरण उहाँलाई अझै छ ।

५० वर्षको उमेरसम्मगाउँको खरले छाएको घरमा बसेर जीवन विताउनुभएका उपाध्याय अहिले पक्की घरमा बसे पनि खरले छाएको घरमा बस्दा पाइने आनन्द सिमेन्टेड पक्की घरमा नपाइने बताउनुहुन्छ । विगतमा उहाँको मात्र नभई प्रायः गाउँका सबै घर ढुंगामाटाले बनाइएका हुन्थे । घर, धन्सार खरले छाइएका हुन्थे ।

उहाँका अनुसार विगत तीन दशक अघिको समयसम्म ढुंगामाटाले बनेका र खरले छाइएका घरमा मानिसहरु बस्दथे । गाउँमा थुप्रै घुमाउने घरहरु हुन्थे । ढुंगामाटाले बनेका, खरले छाइएका घुमाउने घरमा मानिसहरु बसोबास गर्दथे । तर समयको परिवर्तनसँगै अहिले गाउँघरमा घरले छाइएका घर, धन्सार र घुमाउने घरहरु देख्नै मुश्किल पर्छ । कहिँकतै मात्रै खरले छाइएका घर, घुमाउने घरहरु देखिन्छन् । ती घरहरुमा पनि मानिस नवस्दा जीण अवस्थामा छन् । वरिपरि झाडी र बनमारा फैलिएको छ ।

पछिल्लो समय खरले छाइएका घर, घुमाउने घर गाउँघरमै देख्न मुश्किल पर्ने गरेको उपाध्यायले बताउनुभयो । “खरले छाइएको घर, घुमाउने घर हराइसके । यस्ता घरमा मानिस बसोबास गर्ने चलन त लगभग हराइसक्यो,” उहाँले भन्नुभयो । उहाँका अनुसार विगतमा गाउँमा रहेका धेरैको आर्थिक अवस्था कमजोर थियो । स्थानीय श्रोत साधनकै उपयोग गरी घर बनाउने, बस्ने चलन थियो । तर अहिले आर्थिक रुपमा मानिस सम्पन्न हुँदै गए । पक्की घर लगाउन थाले ।

“गाउँघरमा सजिलै पाइने बाँसको भाँटा, चोया, खरले ढुंगामाटाले बनाइएका घरमा बस्ने चलन थियो । गाउँमा खरले घर, धन्सार छाउने सीप भएका मानिस हुन्थे । अहिले त खरले छाइएका घर र घर छाउने सीप भएका मानिस पाउनै मुश्किल छ,”मालिका गाउँपालिका ६ का दीर्घबहादुर पुनले बताउनुभयो ।

परम्परागतभन्दा आधुनिक घर बनाउन सहज हुने भएकाले पनि पक्की घर निर्माणका साथै घरका छानो जस्ताले छाउने चलन बढ्दो रहेको उहाँले बताउनुभयो ।पछिल्लो समय ग्रामीण क्षेत्रमा सडकको पहुँच पुगेसँगै पक्की घर निर्माणका साथै जस्तापाताले घर टल्काउने प्रवृत्ति बढ्दै गएको र परम्परागत खरले छाइएको घर, घुमाउने घर हराउँदै गएको बगरफाँटका एकसय वर्षिय खड्गबहादुर थापाले बताउनुभयो ।

Leave a Reply