म्याग्दीको बेनी नगरपालिका-४ सिंगा राजिकुलोको कोल्डस्टोर (शीत भण्डार) राखिएको  बिउ र बजारमा बिक्री गर्ने आलुको परीक्षण सफल भएको छ । गत बर्षदेखि सञ्चालनमा आएको कोल्डस्टोरमा सुन्तलापछि पहिलोपटक राखिएको बिउ खेतबारीमा लगाउन कृषक र समुहले लैजान थालेका छन् ।

आलुको सिजनमा सस्तोमा बेच्नुभन्दा कोल्ड स्टोरमा राखेर बेमौसमा महँगो मूल्यमा बिक्री गर्ने गरी भण्डारण गरिएकोमा अहिले कृषकले बिउ र बजारमा बिक्री गर्ने गरी आलु लैजान थालेको वडा अध्यक्ष अण बहादुर खड्काले बताउनुभयो ।

‘आलुको परीक्षण पनि सफल भएको छ, अब सुन्तला र स्याउ भण्डारण गरिने छ, मंसिर महिनाभित्र आलु सबै निकालिन्छ’ अध्यक्ष खड्काले भन्नुभयो । कोल्डस्टोरको क्षमता अनुसार भण्डारण नभएपछि वडा अध्यक्ष खड्काले कृषकलाई सदुपयोग गर्न अनुरोध गर्नुभएको छ । हाल कोल्डस्टोरमा २ सय बोरा आलु भण्डारण गरिएको छ ।

कोल्ड स्टोरमा राख्नपछि निकाल्ने बेलामा प्रति केजी १० रुपैयाँ शुल्क लिएर लैजानुपर्छ । बेनी नगरपालिका सहित जिल्लाभरी उत्पादन हुने आलु, सुन्तलालाई भण्डारण गर्न सकिने र छिमेकी जिल्ला मुस्ताङबाट स्याउ समेत ल्याएर एकैपटक राख्न सकिने क्षमताको कोल्डस्टोर करिब १ करोड ६० लाखमा निर्माण गरिएको थियो ।

जिल्लामा सुन्तला र आलु् अत्याधिक उत्पादन हुने भएकाले सिजन बाहेक बेमौसम समयमा विक्री वितरणका लागि सहज हुनेछ । कोल्ड स्टोरमा मौसम अनुसार आलु, तथा किवीका साथै अन्य नगदे बालीलाई समेत भण्डारण गर्न सकिन्छ ।

मौसमको समयमा कम मूल्य पर्ने र कोल्ड स्टोरमा राखेर बेमौसममा बिक्री गर्दा राम्रो मूल्य पर्ने हुँदा किसानलाई फाइदै फाइदा हुने भएकाले बेनी नगरपालिकाले कोल्ड स्टोरलाई बषैभरी नै प्रयोग हुने गरी तापक्रमलाई सन्तुलित बनाई राख्ने उपकरण र संरचना सहित बनाएको छ ।

नेपालमा हालसम्म कोल्डस्टोरलाई सेतो हात्ती भन्ने गरिएकोमा कृषकको फाइदा र नमुना रुपमा सञ्चालन गरी सिजनमा व्यापारीलाई बारीबाटै सस्तोमा बिक्री गर्ने कार्यको अन्त्य गर्ने बेनी नगरपालिकाले जनाएको छ ।

Leave a Reply