चाडपर्वका बेला मुस्ताङमा उत्पादन भएको स्याउको खपत र कारोबार उच्च भएको छ । मुस्ताङमा उत्पादन हुने सिजनको फलफुल स्याउ स्वादिलो र रसिलो हुने भएकाले हरेक वर्ष दशैँमा कासेलीकै रुपमा किनमेल गर्ने चलन छ ।

म्याग्दीको बेनीका फलफुल पसलमा यतिबेला मुस्ताङको स्याउ किन्नेको चहलपहल छ । बेनीका व्यापारी विद्यानन्द शाहले अरू बेलको तुलनामा स्याउको व्यापार यो बेला धेरै हुने गरेको बताउनुभयो ।

दशैँको मुख्य दिन टीका र जमरा लगाएपछि स्याउ, केरा, कुराउनी, अम्बा जस्ता फलफुल प्रसाद दिने चलन छ । घरमा आउने पाहुनालाई प्रसाद दिने मात्र नभएर मान्यजनकहाँ दशैँको टीका, जमरा र आर्शीवाद लिन जाँदा पनि सजिलो हुने भएकाले स्याउ नै बोकेर जाने गरेको बेनी नगरपालिका–२ की सुजता शर्माले बताउनुभयो । किसान र व्यापारीका अनुसार मुस्ताङमा उत्पादन भएको स्याउ मुख्य गरी दशैँमा नै धेरै खपत हुने गर्छ ।

मुस्ताङमा स्याउ जोन कार्यक्रम सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुुनिकीकरण परियोजनाका निमित्त वरिष्ठ कृषि विकास अधिकृत नेत्रप्रसाद भट्टका अनुसार मुस्ताङमा उत्पादन भएको स्याउ बास्नादार र स्वादिलो हुन्छ । उच्च घनत्व जातको स्याउ भदौको १० र १५ गतेदेखि टिप्न थालिए पनि स्थानीय जातको स्याउ असोजको एक गतेदेखि टिपेर बजार पठाउन थालिएको थियो ।

Leave a Reply