म्याग्दीमा हरेक वर्ष जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय स्तरीय रनिङ शिल्ड छात्रा फुटबल प्रतियोगिता सञ्चालनका लागि सम्झौता भएको छ ।

जिल्ला फुटबल सङ्घ म्याग्दी र लायन्स क्लब अफ बेनी लभ्लिहिबिच मङ्गलबार सम्झौता भएको हो । सङ्घका अध्यक्ष कुमार बानियाँ र लायन्स क्लब अफ बेनी लभ्लीहिलका अध्यक्ष सोहन श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौता पछि जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिता सञ्चालन हुने र उक्त प्रतियोगिताको सम्पूर्ण आर्थिक पक्ष लायन्स क्लबले व्यहोर्ने छ । खेल सञ्चालनका लागि व्यवस्थापकीय, प्राविधिक पक्ष लगायत फुटबल खेल सञ्चालनको जिम्मेवारी भने सङ्घको हुने जनाइएको छ ।

जिल्लामा आयोजना हुने छात्रा फुटबल प्रतियोगिताको पुरस्कार तथा खेल सामग्री एवम् खेल सञ्चालन गर्न लाग्ने सम्पूर्ण आर्थिक व्यवस्थापन लायन्स क्लबले गर्ने भएपछि प्रतियोगिताको निरन्तरताका साथै व्यवस्थित हुने फुटबल सङ्घका अध्यक्ष कुमार बानियाँले बताउनुभयो ।

लायन्स क्लब अफ लभ्लीहिल बेनीका अध्यक्ष सोहन श्रेष्ठले जिल्ला स्तरीय छात्रा फुटबल प्रतियोगिता सञ्चालनको सम्झौता भएको र अब लगत्तै प्रतियोगिता आयोजना गरिने बताउनुभयो । उहाँले भन्नुभयो–‘‘फुटबल सङ्घसँगको सम्झौताले म्याग्दीको खेलकुद क्षेत्रमा सकारात्मक मार्गमा अगाडी बढ्नका लागि र खेल आयोजनाका लागि मुख्य प्रायोजनकै रूपमा हामी आइपुगेका छौँ ।’’

सङ्घसँगको सम्झौतापछि जिल्ला स्तरीय अन्तर मावि छात्रा फुटबल प्रतियोगिताको आयोजक लायन्स क्लब हो र सम्पूर्ण खर्च लायन्स क्लबले नै व्यहोर्छ ।

सम्झौता पछिको पहिलो अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिता रनिङ शिल्ड आउँदो मङ्सिरमा आयोजना गरिने र त्यसलाई भव्य तवरले सम्पन्न गर्ने योजना सहित अगाडि बढेको श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply