म्याग्दीको बेनी नगरपालिका-९,स्थित प्रशिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा साउन महिनामा भक्तजनले १५ लाखभन्दा बढी भेटी चढाएका छन् । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको प्रवेशमा ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि रहेको अलौकिक तिर्थस्थल गलेश्वरधाममा साउन महिनाका चार सोमबार पूजाआजाका लागि आएका भक्तजनको दान र सहयोग गरी १५ लाख १० हजार ७२४ रुपैयाँ संकलन भएको कार्यालय प्रमुख रामबहादुर बानियाँले जानकारी दिनुभयो ।

पहिलो सोमबार ३ लाख ७२ हजार ३७२ रुपैयाँ, दोस्रो सोमबार ३ लाख ३६ हजार १८५ रुपैयाँ, तेस्रो सोमबार ३ लाख ६६ हजार २ सय रुपैयाँ र चौथो सोमबार ४ लाख ३५ हजार ९ सय ६७ रुपैयाँ संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । गलेश्वर शिवालयमा साउन महिनाको सोमबार, वालाचर्तुदर्शी र शिवरात्रिको भोलिपल्टै र अन्य समयमा १५ दिन र मासिक रूपमा भेटी गनिने कोषका अध्यक्ष माधबप्रसाद रेग्मीले बताउनुभयो ।

भेटी संकलन गरेपछि कोषाध्यक्ष कुमारी रोकाले मुचुल्का गरी राखेपछि मंगलबार विहान कोषका पदाधिकारी, गलेश्वरबासी प्रहरी, सशस्त्र प्रहरी र आमा समूह र इच्छुक भक्तजनले समेत पैसा गन्ने गरी सार्वजनिक ठाउँमा झिजाउने गरिन्छ । संकलन गरिएको भेटीले बृद्धाआश्रम, विद्यालयका साथै विभिन्न भौतिक पूर्वाधार निर्माणमा खर्च हुने कोषका सदस्य सचिब बलबहादुर खत्रीको भनाई छ ।

गलेश्वर शिवालयको दर्शन तथा पूजापाठका साथै १०८ शिवलिङ्मा कालीगण्डकी नदीको जल अर्पण गरेमा पारिवारिक सुख, शान्ति र ऐश्वर्य प्राप्ति हुने धार्मिक विश्वास रहेको छ ।हिन्दू धर्मग्रन्थमा सतीदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको छ ।

पवित्र कालीगण्डकी नदीबाट उठेर ९ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामा अवस्थित मन्दिर सत्ययुगमा सतीदेवीको गलापतन भएर गलेश्वर नाम रहन गएको विभिन्न धार्मिक ग्रन्थ तथा पुराणहरुमा उल्लेख गरिएको पाइन्छ।

Leave a Reply