नेपाली महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले  तयारी राम्रो भएकाले बिहीबार (भोलि) देखि सुरु हुने काभा महिला नेसन्स लिगको फाइनलमा पुग्ने बताएकी छिन ।

प्रतियोगिता अगाडि बुधवार भएको पत्रकार सम्मेलनमा अरुणाले सहभागी तीन टोली बलियो रहे पनि यस पटक तयारी राम्रो भएकाले फाइनल खेल्ने बताएकी हुन। नेपालले बिहीबार श्रीलङ्कासँग खेल्दै पाँच टोली सहभागी भएको प्रतियोगिताको यात्रा सुरु गर्दैछ । आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन दिएमा नतिजा राम्रो आउने कप्तान अरुणाको विश्वास छ । उनले सहभागीमध्ये तीन टोली राम्रो रहेको बताइन। रसियासँगको खेलपछि रिसिभ र डिफेन्समा सुधार भएको पनि कप्तान शाहीले बताइन।

पाहुना टोली श्रीलङ्काले पहिलो खेल नेपालसँग खेल्दैछ । श्रीलङ्काकी कप्तान श्रीनिवासनाले नेपालसँग घरेलु समर्थकको राम्रो साथ हुने उल्लेख गर्दै राम्रो खेल्दै जित निकाल्ने बताइन। यसपटक श्रीलङ्का राम्रो टोली रहेको र नतिजा पनि राम्रो हुने उनको आशा छ ।

प्रतियोगितामा सबैभन्दा बलियो टोली भारत हो । भारतले गत महिना मात्र एभिसी भलिबल च्यालेन्ज कपमा राम्रो प्रदर्शन गरेको छ । यसै प्रतियोगितामा सहभागीमध्ये एक इरानलाई हराउँदै भारत पाँचौँ समेत भएको थियो । भारतीय महिला भलिबल टोलीकी कप्तान जिनी केएस पछिल्लो संस्करण पनि आफ्नो टोली च्याम्पियन रहेको र यस पटक पनि सोहीअनुरूप राम्रो तयारी गरिएको बताइन । यद्यपि, उनले नेपाल र इरान पनि बलियो टोली रहेको उल्लेख गरिन । नेपालसँग पछिल्लो भेटमा  राम्रो प्रतिस्पर्धा भएकाले यसपटक पनि सोहीअनुरूप प्रतिस्पर्धा हुने आशा व्यक्त गरिन।

माल्दिभ्सकी कप्तान जुजान जारिरले आफ्ना सिनियर खेलाडीहरू बिच भलिबल खेल्ने भएकाले त्यसको अभाव हुने बताइन । यद्यपि, आफ्नो टोलीले राम्रो प्रतिस्पर्धा दिने उनको विश्वास छ ।

यस प्रतियोगितामा इरान सबैभन्दा माथिल्लो वरीयताको टोली हो । इरानलाई भारतजस्तै बलियो टोलीका रूपमा हेरिएको छ । यस पटक इरानको टोलीमा औसत २१ वर्ष उमेरका खेलाडी भएकाले यो टोली युवा छ । इरानकी कप्तान साघाएघ हासन खानीले तयारी राम्रो रहेको र यो युवा टोलीले नेपालमा राम्रो नतिजा ल्याउने इरानकी कप्तानले आशा व्यक्त गरिन ।

यो उपाधि जित्नका लागि नेपालले झन्डै दुई महिनादेखि तयारीसमेत गरेको छ । प्रशिक्षणसँगै नेपालले विश्व भलिबलमा नै बलियो टोली रसियासँग दुई मैत्रीपूर्ण खेलसमेत खेलेको छ । यद्यपि ती मैत्रीपूर्ण खेलमा नेपालले एउटा सेट पनि आफ्नो पक्षमा पार्न सकेन । तर नेपाली टोलीले शारीरिक र प्राविधिक रूपमा बलियो रसियाविरुद्ध राम्रो चुनौती दिँदै सकारात्मक सन्देश दिएको छ । काभा महिला नेसन्स लिगको तयारीका लागि १४ सदस्यीय टोली घोषणा गरेको थियो । अरुणा शाहीको कप्तानीमा दुई नयाँ खेलाडी समेट्दै टोली घोषणा भएको हो ।

टोलीमा अनुभवी खेलाडी सरस्वती चौधरी, सलिना श्रेष्ठ, सफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम चन्द, कामना विष्ट र उषा भण्डारी छिन् । लिबेरो शान्तिकला तामाङ, मिडल ब्लकर कविता भट्ट, सेटर प्रगति नाथ पनि टोलीमा छिन् । मिडल ब्लकर सुमित्रा रेग्मी र स्पाइकर आरती सुवेदीले पहिलो पटक नेपाली टोलीमा स्थान बनाएकी हुन् । यी दुईले रसियासँग प्रभाव छाडेका थिए । महत्त्वपूर्ण स्पाइकर प्रतिभा माली भने चोटका कारण टोलीमा छैनन् । नेपाली टोलीको मुख्य प्रशिक्षणमा जगदीश भट्ट र सहायक प्रशिक्षकमा भरत यादव छन् । नेपालसहित पाँच राष्ट्र सहभागी हुने प्रतियोगिता साउन १७ देखि २३ गतेसम्म दशरथ रङ्गशालास्थित कभर्डहलमा चल्नेछ । नेपालसँगै इरान, भारत, श्रीलङ्का र माल्दिभ्सले प्रतियोगिता खेल्नेछन् । nagariknews.com

Leave a Reply