१० दिनदेखि अबरुद्ध रहेको पश्चिम म्याग्दीको ‘लाइफ लाइन’का रूपमा लिने गरिएको बेनी–दरबाङ सडकको फापरखेतमा बैकल्पिक सडकको स्तरोन्नती र बेलिब्रिजका लागि आवश्यक पहल गरिदिन म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बीर’ले गृहमन्त्री रमेश लेखकलाई अनुरोध गरेका छन् ।

पश्चिम म्याग्दी जोड्ने सडकखण्डको सबैभन्दा संवेदनशील र पहिरोका कारण यात्रुले दैनिक सास्ती खेप्नुपरेको भन्दै सांसद गर्बुजाले छोटो दुरीमा बैकल्पिक सडक तथा बेलिब्रिजको माग गरेका थिए ।

‘म्याग्दीमा बिपद्ले सधै सताउने गरेको छ,मुख्य सडकमा देखिएको समस्या समाधानका लागि गृह मन्त्रालयबाटै सक्रियता आवश्यक छ’ सांसद गर्बुजाले भने ।

बेनी नगरपालिका ४ र मंगला गाउँपालिका २ को सीमानामा पर्ने फापरखेतको समस्या समाधानका लागि मंगला गापा वडा नं ३ पखेर लुलीयाघाट र वडा नं २ मा पर्ने सिमलचौर जोड्ने म्याग्दी नदीमाथी बेलिब्रिज तथा पखेरदेखि लुलीयाघाट र सिमलचौरको मूल सडक जोड्ने करिब एक किलोमिटर वैकल्पिक सडक निर्माणसँगै बरंजा हुदै बावियाचौर जोड्ने सडकखण्डको समेत मर्मत तथा थप ब्यवस्थित बनाउनुपर्ने सांसद गर्बुजाको भनाई छ ।

उक्त विषयमा बैकल्पिक र सुरक्षित मार्गका लागि पहिरो खस्ने आसपासमा डिजाइन परिवर्तनका लागि समेत सम्बन्धित मन्त्रालयलाई समन्वय गर्ने प्रतिबद्धता गृहमन्त्री लेखकले जनाएको सांसद गर्बुजाको स्वकिय सचिव पृजन भट्टचनले बताए ।

उनका अनुसार बेनी–दरबाङ, बेनी–जोमसोमसँगै राहुघाट क्षेत्रको सडकखण्डका समस्या, बिपद्बाट विस्थापितलाई राहतमा प्राथमिकता दिन समेत गृहमन्त्री लेखकलाई सांसद गर्बुजाले अनुरोध गरेका थिए ।

गत बिहीबार रातिदेखि अवरुद्ध बेनी–दरबाङ सडक सिधा यातायात सेवा संचालन हुन नसक्दा पश्चिम म्याग्दीका जनताले सास्ती भोग्न वाध्य भएका छन् ।

पहिरोका कारण सिधा यातायात संचालन हुन नसकेपछि पश्चिम म्याग्दी जाने सयौं यात्रुहरु बेनीबाट तातोपानीसम्म गाडीमा र त्यहाँबाट पैदल हिडेर म्याग्दी नदीको झोलुंगे पुल तरेर सिमलचौर निस्केपछि अर्को गाडी चडेर गन्तव्यमा जाने गरेका छन् ।

Leave a Reply