सरुवा रोगको सङ्क्रमण न्यूनीकरणमा बर्सेनि विभिन्न अभियान सञ्चालन गरिए पनि पर्वतमा प्रभावकारी हुन सकेको छैन । जिल्लास्थित स्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षमा पर्वतमा क्षयरोगका ५५, एचआइभी एड्सका १३ र कुष्ठरोगका छ जना नयाँ बिरामी थपिएका छन् ।

चालु आवको सुरुदेखि हालसम्म उक्त सङ्ख्यामा नयाँ सङ्क्रमित थपिएका स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिए । उनका अनुसार अनुसार आव २०७९/८० मा क्षयरोगका कूल ७७ जना नयाँ बिरामी फेला परेकामा चालु आवमा उक्त यो सङ्ख्या घटेर ५५ मा झरेको हो ।

थपिएका बिरामीमध्ये मोदी गाउँपालिकामा छ, जलजला र महाशिला गाउँपालिकामा दुईरदुई, कुश्मा नगरपालिकामा १५, फलेवास नगरपालिकामा चार, बिहादी गाउँपालिकामा पाँच र पैयुँ गाउँपालिकामा २१ जना रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

क्षयरोगको सङ्क्रमणले फोक्सोलाई असर गर्ने र यो हावाका माध्यमबाट सर्ने भएकाले बिरामीले खोक्दा, हाछ्युँ गर्दा वा थुक्दा ध्यान पु¥याउनुपर्ने शर्माले बताए । उनका अनुसार यसको कुनै पनि शङ्का भएमा तुरुन्तै स्वास्थ्य संस्थामा जानुपर्दछ ।

जिल्लामा भेटिएका सङ्क्रमितलाई नियमित रूपमा औषधि सेवन गराइएको भन्दै शर्माले लगातार छ महिनासम्म औषधि खाए रोग पूर्ण रूपमा निको हुने जानकारी दिए । “स्वास्थ्य संस्थामा औषधि निःशुल्क पाइन्छ, तर लापरबाही गरेर बिचमा औषधि छाड्ने वा भाग्ने गरेमा निको हुदैन । यस्तो अवस्थामा अरूलाई रोग सारेमा अरूलाई पनि औषधिले काम नगर्ने गरी सङ्क्रमण फैलिने जोखिम हुने भएकाले सङ्क्रमितले नियमित औषधि सेवन गर्न अनुरोध गर्दछौँ”, उनले भने ।

जिल्लामा अघिल्लो आर्थिक वर्षसम्म एक सय १२ जनामा एचआइभी एड्सको सङ्क्रमण रहेकामा चालु आवमा १३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार योसँगै जिललामा सङ्क्रमितको सङ्ख्या एक सय २५ पुगेको छ । थपिएकामध्ये जलजला गाउँपालिकामा एक, कुश्मा नगरपालिकामा पाँच, फलेवास नगरपालिकाका चार र पैयुँ गाउँपालिकामा तीन जना छन् ।

एचआइभीको लक्षण देखिएका कोही पनि खुलेर नआउने भन्दै पुष्टि भएकाहरूलाई घरमा लगेर औषधि दिने गरिएको कार्यालयका प्रमुख शर्माले बताए । विभिन्न सङ्घसंस्थाले पनि एचआइभी एड्सको न्यूनीकरणमा काम गर्दै आएका छन् ।

यसैगरी यसवर्ष मोदी गाउँपालिकामा एक, जलजला गाउँपालिकामा चार र फलेवास नगरपालिकामा एक जना कुष्ठरोगका नयाँ बिरामी फेला परेका छन् । आव २०७९र८० मा मात्रै जिल्लामा १५ जना कुष्ठरोगका बिरामी फेला परेकामा अहिले यो सङ्ख्या केही घटेको पाइएको शर्माले जानकारी दिए । कुष्ठरोगको औषधि पनि सरकारले निःशुल्क रूपमा उपलब्ध गराउँदै आएकाले सबैले नियमित औषधि सेवन गर्नुपर्नेमा उनले जोड दिए । रासस

Leave a Reply