कालीगण्डकी करिडोरअन्तर्गत निर्माणाधीन बेनी-जोमसोम-कोरला सडकखण्डको म्याग्दी खण्डमा पर्ने तिप्ल्याङ क्षेत्रमा सडक स्तरोन्नतिको काम सुरु भएको छ ।

तिप्ल्याङ बजारका स्थानीयलाई मुआब्जा दिएर घर, टहरा भत्काएपछि अहिले सडक स्तरोन्नतिको काम भैरहेको बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ ।  म्याग्दीको रघुगंगा गाउँपालिका–१, बेगखोलास्थित तिप्ल्याङ बजारमा शर्मा युनाईटेड जेभीमार्फत सडक स्तरोन्नतिको काम अगाडि बढाइएको छ ।

सडकको दुवैतर्फ नाली निर्माण गर्नुका साथै सडकलाई फराकिलो बनाउनेलगायत सडक स्तरोन्नतिको काम भैरहेको बेनी–जोमसोम–कोरला सडक योजनाका सूचना अधिकारी विष्णु चापागाईँले जानकारी दिनुभयो।

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत पर्ने बेनी–जोमसोम–कोरला सडकखण्डको म्याग्दी खण्ड तिप्ल्याङको ५ सय मिटर बजार क्षेत्रमा अहिले सडक विस्तार तथा स्तरोन्नतिको काम भैरहेको छ ।  पर्वतको मालढुङ्गादेखि मुस्ताङको कोरला नाकासम्म २ सय २ किलोमिटरको दूरीमा बेनी–जोमसोम–कोरला सडक योजनामार्फत विभिन्न प्याकेजमा सडक स्तरोन्नति र कालोपत्रे गर्ने काम भैरहेको सूचना अधिकारी चापागार्इँले बताउनुभयो।

२०७४ साल जेठ ५ गते सम्झौता भई आगामी पुसको ८ गतेभित्र निर्माणसम्पन्न गरिसक्नुपर्ने गलेश्वरदेखि तातोपानीसम्मको सडकखण्डमा हालसम्म करिब ९० प्रतिशत प्रगति भएको छ । यस खण्डको कुल लागत ६२ करोड ४४ लाख रुपैयाँ रहेको छ ।

Leave a Reply