म्याग्दीको मंगला गाउँपालिका-१ पूर्णगाउँ, खानीगाउँका स्थानीयले वडा विभाजनको माग गर्दै हस्ताक्षर संकलन गरेका छन्। अन्य वडाको तुलनामा भौगोलिक रुपमा ठूलो, सेवासुविधाको सहजतालगायत अन्य कारण देखाउँदै वडा विभाजन गर्न माग गर्दै वडा अध्यक्ष, गाउँपालिका अध्यक्ष, म्याग्दीका राजनीतिक दललाई पूर्णगाउँ र खानीगाउँबासीको हस्ताक्षर तथा भेलाले गरेका निर्णय बुझाएका हुन् ।

साविकको कुहुँ गाविस वडा नं १ र २ खानीगाउँ र पूर्णगाउँलाई छुट्टै वडा कायम गर्ने आवश्यक रहेको भेला सहित संघर्ष समिति नै बनाएर स्थानीयबासीले वडा अध्यक्ष एकजित रोका, गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, नेपाली कांग्रेस म्याग्दीका कार्यवाहक सभापति हरिकुमार श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष बालकृष्ण सुबेदी, राप्रपा म्याग्दीका सचिव देबेन्द्र घिमिरे लगायतका राजनीतिक दललाई समेत ज्ञापनपत्र बुझाएका छन् ।

वडा सदस्य नरबहादुर खत्री, संघर्ष समितिका सल्लाहकार बाबुराम आचार्य, टेकबहादुर राम्जाली, गोविन्दप्रसाद सुबेदी, कृष्णबहादुर केसी, संघर्ष समितिका सहसंयोजक खगेन्द्र खत्रीले वडा भौगोलिक रुपले ठूलो भएकाले विकास निर्माणको काम लगायत सरकारी सेवा सुविधामा सरोकारवाला जनताको पहुँच पुग्न कठिनाइ भएकाले वडा विभाजन गरि छुट्टै वडा कायम गर्न माग गरिएको बताएका थिए ।

त्यस्तै वडा विभाजनको अर्का प्रस्तावमा बेनी नगरपालिका वडा नं ५ पुलाचौरको डडुवा सहितको भूभागलाई समेत समेटेर वडा बनाउन सकिने प्रस्ताव समेत गरिएको संयोजक मनिष गौचनको भनाई छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद २ को दफा ५ र ६ को परिधिमा रही हालको वडालाई विभाजन गरी छुट्टै वडा कायम गर्न सकिने दावी गरिएको छ।

वडाबासीको मागलाई गाउँपालिकाको सभाले प्रस्तावलाई पारित गरिदिएर गण्डकी प्रदेश सभाबाट समेत पारित भएमा केन्द्रमा जाने र केन्द्रले पारित गरेमात्रै वडा विभाजन हुन्छ ।

म्याग्दीमा यसअगाडी जिल्ला समन्वय समिति म्याग्दीको पाँचौ जिल्ला सभाले हिमाली जिल्लाको मापदण्ड अनुसार विभिन्न गाउँपालिकाको वडा बिभाजनको निर्णय सहितको सिफारिस गरेको भएपनि त्यो अलपत्र अवस्थामा छ ।

Leave a Reply