पूर्व-पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्य पहाडी लोकमार्गको वैकल्पिक मानिएको म्याग्दी–बागलुङको ढोरपाटन हुदै पुर्वी रुकुम जोड्ने बेनी-दरवाङ-मुना-जलजला-ढोरपाटन सडकमा स्रोत सुनिश्चितता भएको छ ।

पश्चिम म्याग्दीको लाइफलाइन मानिने सडकखण्डमा आगामी आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक कार्यक्रममा गण्डकी प्रदेश सरकार र संघीय सरकारको लागत साझेदारीमा सञ्चालन हुने समपुरक बजेटका आयोजनाहरुको सूचिमा बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक आयोजना समावेश भएको हो । संघीय समपुरक आयोजनामा समावेश भएसँगै लामोसमय देखि मध्यपहाडी लोकमार्गको विकल्पको रुपमा मानिएको म्याग्दी खण्डको काम अगाडी बढ्ने भएको हो ।

म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य तथा पुर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली (सुविन)ले प्रदेश सरकार मार्फत कार्यान्वयन हुने गरि छनौट भएको यो आयोजनामा ९२ करोड बजेट स्विकृत भएको बताए । उनका अनुसार आगामी आर्थिक वर्षका लागि १२ करोड संघीय सरकारले बिनियोजन गरेको यस योजनाका लागि प्रदेश सरकारबाट पनि १२ करोडनै बजेट बिनियोजन गरी आयोजना तीनबर्षमा ९२ करोड बजेट खर्च हुनेछ।

आयोजनाका लागि प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजा खम्बीरले समेत प्रतिनिधिसभामै मध्य पहाडी लोकमार्गको वैकल्पिक मानिएको म्याग्दी खण्डमा बजेटका लागि पटकपटक ध्यानार्कषण गराएका थिए भने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले अघिल्लो कार्यकाल र यसपटक पनि निरन्तर प्राथिमकतामा राखेको योजना रहेको छ ।

योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठले बैकल्पिक सडक बनेमा म्याग्दी क्षेत्रमा आर्थिक, सामाजिक सहित सम्रग पर्यटन विकासमा कोशेढुंगा सावित हुने बताउँदै आएका छन् । धवलागिरी गाउँपालिकाको शिवाङ देखि गाउँपालिकाको केन्द्र मुनातर्फ जोड्ेने सडक कालोपत्र सहित स्तरोन्नति गर्न यो बजेट परिचालन हुनेछ ।

दरवाङ देखि मुना हुुदै मरेनी जोड्ने २६ किलोमिटर सडक कालोपत्र गर्न एक अर्ब बजेट अनुुमान सहितको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको थियो । बेनी देखि दरवाङ–मुना–जलजला–ढोरपाटन हुदै पुर्वी रुकुमको टकसेरा जोड्ने सडक निर्माण भएपछि मध्य पहाडी लोकमार्गको बागलुङ खण्ड भन्दा ७० किलोमिटर दुरी छोटिने म्याग्दीको धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।

धवलागिरी गाउँपालिका–२ खोरीयामा तीन वर्षअघि पुगेको सडकलाई जलजलासँग जोड्न १९ किलोमिटर सडकको मार्ग खोल्न यस वर्ष सडक डिभिजन कार्यालय बाग्लुुङले रु. तीन करोडको आयोजना कार्यान्वयन भइरहेको छ ।

पूर्वाधार कार्यालय मार्फत २४ किलोमिटर दुरीको बेनी–दरवाङ सडक कालोपत्र गर्न योजना अन्तिम चरणमा र ६ किलोमिटर दुरीको दरवाङ–धारापानी सडक ग्राभेल गर्न सञ्चालित आयोजना सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारले धारापानी देखि ताकम हुुदै शिवाङ जोड्ने सडक कालोपत्र गर्न चालुु आर्थिक वर्षमा २५ करोडको आयोजना ठेक्का आव्हान भएको छ ।

म्याग्दीको रणनीतिक र मध्य पहाडी लोकमार्गको वैकल्पिक भएकाले बेनी–दरवाङ–मुुुना–जलजला ढोरपाटन सडकलाई जिल्लाका सबै सरोकारवालाहरुले प्राथमिकतामा राखेका छन् ।

पुर्वी रुकुमको टकसेरा देखि ढोरपाटनको निसिलढोरसम्म ८ किलोमिटर सडकले जोडिन बाँकी छ । म्याग्दीका सरोकारवालाले खोरीया पुगेको सडकलाई ढोरपाटन हुँदै पुर्वी रुकुम जोडेर मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको वैकल्पिक मार्गका रुपमा यो सडकलाई प्रयोगमा ल्याउन प्राथमिकता दिएका छन् ।

यसैबीच आगामी आवको बजेटमा म्याग्दीमा विभिन्न सडकमा प्राथमिकताका साथ बजेट विनियोजन भएको छ भने नदीकटानको संरक्षण लगायतका योजनाहरुमा समेत बजेटले प्राथमिकता पाएको छ ।

 

Leave a Reply