बालमैत्री स्थानीय शासन घोषणा गर्नको लागि विद्यालयका सरोकारवालाहरुलाई आज (बिहीबार) अभिमुखीकरण भएको छ। बालमैत्री स्थानीय शासन घोषणा गर्न विद्यालयस्तरीय सरोकारवाला निकायबीच अभिमुखीकरण तथा प्रतिबद्धता जाहेर गरिएको हो ।

अन्नपूर्ण गाउँपालिका र सामाजिक विकास कार्यालय म्याग्दीको समन्वय तथा आर्थिक सहयोग एवं मिलन म्याग्दीको आयोजनामा बालमैत्री स्थानीय शासन घोषणाका लागि सरोकारवालालाई अभिमुखीकरण गर्नुका साथै प्रतिबद्धता जाहेर गरिएको वडाले जनाएको छ ।

अन्नपूर्ण–८, राम्चेको देउराली आधारभूत विद्यालयमा आयोजित कार्यक्रमको वडा अध्यक्ष खमबहादुर गर्बुजाले उद्घाटन गर्नुभयो । कार्यक्रमको उद्घाटन तथा प्रतिबद्धता जाहेर गर्दै वडाध्यक्ष गर्बुजाले सबै सरोकारवाला निकायको सहयोगमा वडालाई तोकिएको समय अवधिभित्रै बालमैत्री स्थानीय शासन घोषणा गर्न सकिने बताउनुभयो ।

उहाँले अभिमुखीकरण तथा प्रतिबद्धता जाहेर कार्यक्रममा वडालाई बालमैत्री स्थानीय शासन घोषणा गर्न प्रतिबद्धता जनाइसकिएको हुँदा वडाका जनप्रतिनिधि, शिक्षक, अभिभावक र स्थानीय सरोकारवाला सबैले प्रतिबद्धताअनुसार आ–आफ्नो ठाउँबाट आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक अबिर गर्बुजाले बालमैत्री स्थानीय शासन घोषणाका लागि प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउँदै घोषणाका लागि मात्रै कार्यक्रम गर्न नहुने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गीता पुनको अध्यक्षता र मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले स्वागतसहित उद्देश्यमाथि प्रकाश पारेको कार्यक्रमको कार्यसमिति सदस्य मोहन बानियाँले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चका सदस्य एवं प्रमुख प्रशिक्षक साहिल अन्सारीले बालअधिकार, बाल अधिकारका सिद्धान्त, संवैधानिक व्यवस्था र बालमैत्री स्थानीय शासनका सूचकहरुको विषयमा सहजीकरण गर्नुभएको थियो।

यसैगरी सामाजिक विकास कार्यालयका लेखा प्रमुख भविलाल शर्माले बालमैत्री स्थानीय शासन घोषणा गर्दा स्थानीय तह, संघसंस्था, अभिभावक र बालबालिकाले पालना गर्नुपर्ने आचारसंहिताको विषयमा सहजीकरण गर्नुभएको थियो । साथै उहाँले सामाजिक विकास कार्यालयबाट प्रवाह हुने नीति, कार्यक्रम र योजनाको बारेमा समेत जानकारी गराउनुभएको थियो।

स्थानीय तह तथा वडालाई बालमैत्री स्थानीय शासन घोषणा गर्नको लागि बाल अधिकारका चार आयामहरुका विभिन्न ५१ वटा सूचकहरुको सर्वेक्षण गरी अन्नपूर्ण गाउँपालिका वडानम्बर ८ राम्चेले बालमैत्री स्थानीय शासन स्थितिपत्र–२०८० प्रकाशन गरेको छ ।

सो स्थितिपत्रअनुसार अधिकांश सूचकहरु पूरा भएको र पूरा नभएका सूचकहरु पूरा गरी २०८२ सालको चैत मसान्तभित्र वडा र अन्नपूर्ण गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने कार्यक्रममा वडाबाट आवश्यक सहयोग गर्ने र गराउने कार्यमा गाउँपालिकाबाट जारी नीति, नियम तथा आचारसंहिताप्रति सामूहिक प्रतिबद्धता जाहेर गरिएको थियो ।

अन्नपूर्ण गाउँपालिका–२, ७ र ८ नम्बर वडाभित्र सञ्चालित माध्यमिक तथा आधारभूत विद्यालयहरुमा बालमैत्री स्थानीय शासन घोषणा गर्न विद्यालयस्तरीय सरोकारवाला निकायबीच अभिमुखीकरण तथा प्रतिबद्धता जाहेर कार्यक्रम सञ्चालन गरिएको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ । यस कार्यमा सम्बन्धित वडाका जनप्रतिनिधि, सम्बन्धित विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, बाल सञ्जाल, शिक्षकहरु, विद्यार्थीलगायत अन्य सरोकारवालाको सहभागिता रहने व्यवस्था छ ।

Leave a Reply