गत चैत २९ गते बुधबार काठमाण्डौदेखि म्याग्दीको दरबाङ आउँदै गरेको ग २ ख १६३० नम्बरको बस कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जाको सुइखेतमा दुर्घटना हुँदा घाइते भएकाहरुमध्ये एक जनाको उपचारको क्रममा शनिवार राती मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार म्याग्दीको मालिका गाउँपालिका–१ दरवाङ् बस्ने ७२ वर्षिय नर बहादुर पुनको उपचारकै क्रममा शनिवार राती चिकित्सकले मृत घोषणा गरेका हुन् ।दुर्घटनाबाट घाइते पुनको उपचार गण्डकी मेडिकल कलेज पोखरामा चलिरहेको थियो ।
गत बुधवार राति करिब तीन बजेको समयमा काठमाडौंबाट बेनीका लागि छुटेको ग २ ख १६३० नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकको बायाँ साइडमा पल्टिएको थियो । बसमा सवार आठ जना घाइतेमध्ये सात जना सोही दिन सामान्य उपचार पश्चात् डिस्चार्ज भएका थिए ।
बसका चालक म्याग्दीको बेनी नगरपालिका–६ का ३२ वर्षीय राजकुमार गैरेलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरेको थियो । अनुसन्धानबाट उक्त बस सोही बसका सह–चालक म्याग्दीको बेनी नगरपालिका–४ तातोपानी बस्ने २५ वर्षीय विनोद दर्जीले चलाउँदा दुर्घटना भएको खुलेको छ ।दर्जी समेत सामान्य घाइते भई पश्चिम क्षेत्रीय अस्पतालमा उपचार पश्चात् ‘डिस्चार्ज’ भएपछि वडा प्रहरी कार्यालय बगरको नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ ।