कुकुरले हैरान पारेपछि संख्या घटाउन बेनीमा बन्ध्याकरण

सडकका कुकुरको संख्या घटाउने उद्देश्यले म्याग्दीको सदरमुकाम बेनीमा सडक तथा सामुदायिक कुकुरको सन्तान बृद्धि रोक्न ९० सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको छ। बजार क्षेत्रमा छोडिएका कुकुरले हैरान बनाएपछि शनिबार र आइतबार दुई दिनसम्म भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा संचालन गरिएको शिविरमार्फत सो संख्यामा बन्ध्याकरण गरिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र बेनी नगरपालिकाको आयोजनामा संचालन गरिएको शिविरमा ३९ वटा सामुदायिक र ५१ वटा घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ। शिविरमा गतबर्ष बन्ध्याकरण गरिएको १२ कुकुरलाई रेबिज भ्याक्सिनेसन लगाइएको थियो ।

सदरमुकाम बेनीबजार आसपासमा सामुदायिक र घरपालुवा कुकुरको संख्या बढ्न थालेपछि हरेक बर्ष शिविर सञ्चालन गर्ने गरिएको बेनी नगरपालिकाका मेयर सुरत केसीले बताए ।पशु अधिकार ऐन अन्तरगत कुकुर मार्न पाईदैन् ।

बच्चा जन्माउने प्रक्रियालाई रोक्दा संख्या कम हुने भएकाले एक दिनको शिविरमार्फत सामुदायिक र घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको भेटेरिनरी अस्तपालका प्रमुख भरत रेग्मीले बताए। ‘कुकुरको संख्या बृद्धि नियन्त्रण गर्नका लागि शिविरले सहयोग पुग्छ’ प्रमुख रेग्मीले भने ।

सडकमा हिड्ने पैदलयात्री, मोटरसाईकल सवारलाई कुकुर आतंकले सताउने गरेका छन् ।

शिविरमा डा. अनन्त कोइराला, डा. मनिष विश्वकर्मा, केन्द्र प्रमुख भरत रेग्मी सहितको टोलीले कुकुरको बन्ध्याकरण गरेका छन । बेनी नगरपालिकाका नगर प्रहरीको टोलीले सामुदायिक कुकुर संकलन गरी शिविरमा पुर्याएका थिए । हरेक बर्ष शिविर सञ्चालन गर्दा कुकुरले टोक्ने र संख्या समेत घटेको छ । गतबर्ष ९८ वटा कुकुरको बन्ध्याकरण गरिएको थियो । बन्ध्याकरण गरिएका कुकुर कम हिंस्रक हुन्छन् ।