जिल्लाको जलजला गाउँपालिका–६ नाग्लीवाङकी प्रजिना सुवेदी रेग्मी गत साउन २५ गते गाउँ फर्किँदै थिइन् । श्रीमान् बद्री रेग्मीलाई जापान उडाएर उनी काठमाण्डौँबाट घर फर्किइन् ।घरमा जाँदै गर्दा साउन २५ गते बेलुका नाग्लीवाङको छहरे खोलामा अचानक बाढी आयो । उनी भाग्ने क्रममा साथमा रहेको झोलामा नै खस्यो । झोलामा करिब तीनतोलाको हातमा लगाउने सुनको बाला र केही नगद पनि थियो । बाढीबाट ज्यान जोगाए पनि उनको झोला बचाउन सक्ने उपाय भएन।

सुन र नगद हराएको पिर भन्दा पनि बाढीबाट ज्यान जोगिएकोमा रेग्मी खुसी थिइन् । २०७८ सालमा दुई लाख ४९ हजार खर्चेर किनेको बाला नै पानीमा बग्दा मनमा नरमाइलो त किन लाग्दैनथ्यो र ?बाढीमा परेको झोला भेटिएला, सुन र नगद फेरि पाउँछु भन्ने उनको मनमा लागेको थिएन । तर अहिले बजार मूल्य अनुसार करिब साढे तीन लाख रुपैयाँ पर्न आउने सोही सुनको बाला प्रजिनाले प्राप्त गरेकी छिन् ।

नाग्लीवाङका वडाध्यक्ष विकास जिसीका अनुसार जलजला गाउँपालिका–८ का ६५ वर्षीय ऋषिराम पाध्याले खेतबारीमा सिचाइको नाग्लीवाङकै पाहारीमा रहेको तल्लो कुलोको मुहान सफा गर्दै थिए । मुहान खोतल्दै जाँदा धातुको बाला हातमा लागेपछि उनले धातुको यकिन गरे । गाउँमा रहेर कृषि पेसासँगै पण्डित्याइँ समेत गर्दै आएका पाध्याले सुन भेट्टाउनु र हराउनु दुवै नराम्रो हुने आहान सुनेकै थिए । त्यसमा पनि गाउँमा इमानदार छवि बनाएका पाध्याले आफूले भेट्टाएको बाला लिएर वडा कार्यालयमा पुगे ।

साउनमा भएको घट्नाको बारेमा जानकार वडाध्यक्ष जि.सी. ले बाला गुमाएकी प्रजिनालाई पनि बाला खरिद गरेको बिल सहित वडा कार्यालयमा बोलाए । प्रहरी सहित केहीलाई रोहबरमा राखेर सुनको बाला प्रजिनालाई नै सोमबार फिर्ता गरिदिए। वडामा भेला भएका सबैले इमानदार पाध्याको दीर्घ आयुको कामना गरे । समाजमा उनकै जस्तो व्यवहार भइदिने हो भने अनुशासन कायम हुने उनीहरूले बताए ।

‘हराएको भनेर आसा मारेको सामान उहाँले चाहेको आफै लुकाउन सक्नुहुन्थ्यो । तर इमानदार छविका बुबाले त्यो गहना गुमाउँदा कोही त पक्कै रोएको छ भनेर वडामा आउनुभयो । कसैको आँसु रोक्नको लागि यो इमान्दारीताको पाठ सबैले सिक्नुपर्छ,’ वडाध्यक्ष जि.सी.ले भने, ‘इमान्दारीता आफैमा उत्तम धर्म हो । अहिलेको समाजमा यस्तै खालको मनोवृत्ति हुने हो भने चोरी, डकैती, छल, कपट सबैको अन्त्य हुन्थ्यो । समुदायमा एउटा दिएको पीडामा अर्को मान्छे रोएर बस्नुपर्ने थिएन ।’ ढोरपाटन 

Leave a Reply