खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा बागलुङ जिल्ला तमानखोला गाउपालिका-१ का पदम बहादुर घर्ती मगरको शरीर र अनुहार जल्यो । घरायसी काम सकेर गएको माघ १४ गते दिउँसो साढे दुई बजे खाजा पकाउन थालेकी श्रीमति मेनुकालाई जोगाउन खोज्दा पदमको अनुहार र हात नराम्रोसँग पोल्यो ।

तत्कालै गाउँको स्वास्थ्यचौकीमा उपचारपछि सिधै बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक तातोपानीको कुण्डमा स्नान गर्न आएका पदमको चमत्कारी सुधार भइरहेको छ । गएको माघ १५ गते मध्यरातमा तातोपानी कुण्ड पुगेका पदमबहादुरलाई कुण्ड ब्यवस्थापन समितिले अन्य विरामीलाई असर नगर्ने गरी छुट्टै बाथटपमा स्नान गर्ने ब्यवस्था मिलाएको थियो ।

अनुहार नचिनिने अवस्थामा कुण्डमा आएका पदमबहादुर १३ दिनसम्म लगातार डुबेपछि अहिले धेरै सुधार भएको कुण्ड ब्यवस्थापन समितिका सचिव कुमार केसीले बताए ।

बि.स २०६८ सालमा हजुरबुबा समेत आगोले पोलेर घाईते भएको अवस्थामा पदमबहादुरले नै बोकेर कुण्डसम्म ल्याई करिब डेढ महिना राखेर उपचार गरेका थिए । ‘हजुरबुबालाई कुण्डमा डुबेपछि धेरै निको भएको थियो, मैलेपनि त्यही बाटो रोजे‘ पदमबहादुरले भने । उनले अझै एक साता डुबेपछि घर फर्किने बताए ।

हेरचाहका लागि आएकी श्रीमति मेनुकाले समेत डरलाग्ने अवस्थामा श्रीमानलाई कुण्डमा ल्याएकोमा अहिले धेरै सुधार भएको बताइन् । ‘श्रीमानको अनुहारमा चमक आएको छ, तातोपानीले परिवारको खुसी फर्किएको छ’ मेनुकाले भनिन् ।

कुण्डमा शरीरभरि फैलिएको घाउ, छाला पट्पटी फुटेर डरलाग्दो अवस्थामा आएका, माछाको कत्ला जस्तो घाउबाट दुर्घन्ध समेत फैलिएको भन्दे केही विरामीले छुट्टै स्नानको सुविधा रहेको कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताए।

जमिन मुनिबाट ४८ डिग्री सेन्टिग्रेडको तापक्रममा विरेनुनको स्वादमा निस्कने तातोपानी कुण्डमा डुबुल्की मारेपछि ग्याँस्ट्रिक, बाथरोग, घाउखटिरा, गानोगोला, युरिकएसिड, हार्डजोर्नी दुख्ने, हड्डीको दुखाई, नसा च्यापिएको, बज्रिएको सड्किएको र मर्किएकोसहित चिसोबाट उत्पन्न सबै प्रकारका रोगहरु निको हुने जनविश्वास रहेको छ । पुरुष र महिलालाई फरक– फरक समय तालिका रहेको कुण्डमा गम्भीर दुर्घटनामा परेर अस्पतालमा बसेका विरामी चिकित्सकले डिस्र्चाज गरेपछि कुण्डमा एक महिनासम्म स्नान गर्छन् ।

 

 

Leave a Reply