चरम गरिबीका कारण पठनपाठनमा समस्या भएको समाचार सार्वजनिक भएपछि हाल अमेरिकामा रहनुभएका समाजसेवी सबी थापा र इन्द्र थापाले उच्च शिक्षासम्मका लागि शैक्षिक अभिभावकत्व ग्रहण गर्नुभएको छ ।  म्याग्दीको सदरमुकाम बेनीमा अवस्थित प्रकाश माविमा कक्षा १ मा अध्ययनरत धवलागिरी गाउँपालिका-७ ताकमका आशिष विश्वकर्मा र कक्षा ७ मा अध्ययनतर बेनी नगरपालिका-३ भकिम्लीकी सुष्मा परियारको कक्षा १२ सम्मको पठनपाठनका लागि आवश्यक वार्षिक १५ हजार नगद आर्थिक सहयोग गर्दै अभिभावकत्व ग्रहण गर्नुभएको हो ।

बुधबार विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यार्थी आशिष र सुष्मालाई अमेरिकाबाट आउनुभएका सहयोगदाताका आफन्त सुर्दशन पौडेलले विद्यालयका प्रअ लेखबहादुर हमाल, सहायक प्रअ विनय श्रेष्ठको उपस्थितीमा सहयोग रकम हस्तान्तरण गरिएको थियो।

बुबाले अर्को विवाह गरेर पोखरा गएपछि दृष्टिविहिन आमाले गीत गाउँदै संकलन गरेको आर्थिकले पेटभरी समेत खान नसक्ने अवस्था र नियमित विद्यालयमा समेत जान नसक्ने आशिषका बारेमा बेनीअनलाइनमा समाचार प्रकाशित भएपछि इशा फाउण्डेशनका संस्थापक समेत रहनुभएका सबी र इन्द्रले उच्च शिक्षासम्मका लागि नियमित सहयोगले अबका दिनमा पठनपाठनमा सहज भएको विद्यालयका प्रअ हमालको भनाई छ । ‘चरम गरिबीकै कारण धेरै समस्या थियो, यो सहयोगले आशिषलाई धेरै राहत भएको छ’ प्रअ हमालले भन्नुभयो ।

त्यस्तै अर्की विद्यार्थी सुष्मा बेनी नगरपालिकामा एथलेटिक्स विधामा सर्वोत्कृष्ट खेलाडी हुन् । बुबाले अर्को विवाह गरेपछि चरम यातना सहन बाध्य भएकी आमाले भकिम्लीबाट सदरमुकाम बेनीमा सँगै लिएर शिक्षादीक्षाको अवसर पाएकी सुष्माको आर्थिक अवस्था अत्यन्त नाजुक छ ।

पढाइ र खेलकुदलाईसँगसँगै लगेकी सुष्माले सहयोगले पढाइमा रहात भएको छ । सुष्माकी आमाले फोहोर संकलन गर्ने र अर्काको घरमा मजदुरी गर्नुहुन्छ । सम्पत्तिको नाममा एक टुक्रा जमिन समेत नभएका दुबै विद्यार्थीले शैक्षिक अभिभावक पाएपछि उत्साहित छन् ।

शैक्षिक अभिभावकत्व ग्रहण गर्ने सबी थापाले गरिब तथा विपन्न परिवारका बालबालिका आर्थिक अभावका कारण विद्यालय जानबाट बञ्चित हुने अवस्था आएपछि सहयोग गरेको बताउनुभयो । आर्थिक अभावकै कारण अध्ययनशील र अनुशासित विद्यार्थीको पढाइमा समस्या भएमा भविष्यमा पनि थप सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

यसैबीच चरम गरिबीकै कारण आमाले आत्महत्या गरेपछि विचल्लिमा परेमा परेकी बेनी नगरपालिका–२ हाडेभिरकी बालिका अमृता किसान र उनकी दिदी सुस्मितालाई शैक्षिक साम्रागी समेत हस्तान्तरण गरिएको छ ।

बेनी महरानीथानस्थित माउण्ट एभरेष्ट आवासीय माविमा कक्षा २ पढ्ने अमृतालाई विगत ५ बर्षदेखि समाजसेवी थापाले बार्षिक ६० हजार खर्च सहित शैक्षिक साम्रागी, पोशाक लगायतको खर्च गर्ने गर्नुभएको छ ।

बेनी नगरपालिका–४,थामडाँडा घर भई हाल अमेरिकामा रहेकी समाजसेवी सवी थापा र इन्द्र थापा दम्पत्तीले अभिभावकत्व ग्रहण गरी पहिलो पटक विद्यालयमा पुयाइएपछि लगातार विद्यालयमा सर्वोत्कृष्ट नतिजा ल्याएको विद्यालयका शिक्षक रामप्रसाद सुबेदीले बताउनुभयो ।

आर्थिक अभावकै कारण विद्यालय प्रवेश गर्न नपाएकी अमृताजस्तै अभिभावक विहिन दुई बालबालिकालाई उच्च शिक्षा र एक छात्रलाई स्नातक तहमा लाग्ने सबै खर्च समाजसेवी थापाले नै जिम्मा लिनुभएको छ ।

Leave a Reply