म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको घुम्ती शिविरमा ५० जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको छ । अपाङ्ता भएकाहरू विविध समस्याका कारण परिचयपत्र लिनबाट बन्चित भएको अवस्थामा वडास्तरमा पुगेर सेवा दिने उदेश्यले आयोजित शिविरमा महिला २३ र पुरुष २७ जनालाई परिचयपत्र वितरण गरिएको गाउँपालिका उपाध्यक्ष दिवा पुनले बताउनुभयो ।

गाउँपालिकाको केन्द्र पोखरेबगर, हिस्तान र राम्चेमा आयोजित शिविरमा पूर्ण अशक्त अपाङ्गता (क) भएका १२ जनालाई, अति अशक्त अपाङ्गता (ख)को २६ जना र मध्यम अपाङ्गता (ग) १० र साधारण अपाङ्गता (घ) १ जना गरी ५० जनालाई परिचयपत्र दिइएको उपाध्यक्ष पुनको जानकारी दिनुभयो ।शिविरमा गाउँपालिकाका जनप्रतिनिधिहरुले ७ बर्षको बालकदेखि ६८ बर्षसम्मका अपाङलाई घरमै पुगेर परिचयपत्र दिनुभएको थियो ।

राज्यले उपलब्ध गराउने भत्ताको सुविधा पाउने भएपनि विभिन्न समस्याका कारण घरमै भेटिएका थिए । गाउँपालिकाको वडा नं १ देखि ६ सम्म पोखरेबगर र वडा नं ७ र ८ मा पुगेर शिविर सञ्चालन गरिएको थियो ।

उक्त शिविरमा नाम दर्ता भएकोमा बेनी अस्पतालका डा. रोशन आचार्य, डा.करुणा कार्कीले अपाङ्गहरूको स्वास्थ्य परीक्षण गरी अपाङ्गताको वर्गीकरणको सिफारिस गर्नुभएको थियो ।  गाउँपालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरूको उचित तरिकाले पहिचान गरी सरकारबाट पाउने सेवा सुविधा व्यवस्थापनमा कुनै कमी हुन नदिने गरी गाउँपालिकाले घुम्ती शिविर गरेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले जानकारी दिनुभयो । 

Leave a Reply