वनहार्ट वल्डवाइडमार्फत म्याग्दी जिल्लामा सञ्चालित परियोजना कार्यान्वयनको चरण समापन तथा सिमुलेसनमा आधारित मेन्टरसिप कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना र वनहार्टको सहकार्यमा मेन्टरसिप कार्यक्रम (एसबिएमपि) अध्ययनको बुधवार नतिजा प्रस्तुतीकरण र छलफल गरिएको हो ।
परियोजना कार्यान्वयनको चरणमा सम्पन्न गतिविधिहरु र आगामी कार्यक्रमहरुको बारेमा जानकारी दिन एवं परियोजना दिगोपनाका लागि सरोकारवालाहरुसँग परामर्श तथा छलफल गर्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएका छन् । कार्यक्रममा सिमुलेसनमा आधारित अनुशिक्षण कार्यक्रम अध्ययनको नतिजाको समेत प्रस्तुतीकरण गरिएको थियो ।
वनहार्ट वल्डवाइडमार्फत म्याग्दी जिल्लामा सन् २०२१ देखि परियोजना सञ्चालन भएको थियो । म्याग्दीको सबै स्थानीय तहमा सञ्चालन भएको परियोजनाले मातृ तथा शिशु स्वास्थ्यको क्षेत्रमा मुख्य रुपमा काम गरेको कार्यक्रममा जानकारी गराइएको थियो ।
परियोजनाको उद्देश्यको रुपमा स्थानीय सरकारको क्षमता अभिवृद्धि गरी स्वास्थ्य प्रणालीलाई सुदृढ गर्ने, मातृ तथा नवजात शिशुमा स्वास्थ्य सेवाको माग बढाउने र मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको उपयोगमा वृद्धि गर्नेलगायत रहेका थिए ।
परियोजना सञ्चालन अवधिभर म्याग्दीमा वनहार्ट वल्डवाइडले तीन करोड १२ लाख रुपैयाँको बजेटमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको जनाएको छ ।
तीमध्ये स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको क्षमता अभिवृद्धि गर्न जिल्ला र प्रदेशस्तरीय एवं स्वास्थ्य संस्थास्तरीय तालिम, स्वास्थ्य योजना तथा बजेट तर्जुमा कार्यशाला, गुणस्तरीय स्वास्थ्यका लागि आफ्नै पहल, सामुदायिक स्वास्थ्य प्राप्ताङ्क बोर्ड कार्यक्रम, बर्थिङ सेन्टरको मर्मत तथा सुदृढीकरण, नर्सिङ कर्मचारीलाई दुई महिने दक्ष प्रसूतिकर्मी तथा पालिकाहरुमा इम्प्लान्ट र आयुसिडी तालिम, ग्रामीण भिडियो एक्सरे मेसिन सहयोगसहित विभिन्न ३३ वटा कार्यक्रमहरु सञ्चालन भएका छन् ।
परियोजना कार्यान्वयन चरण समापन कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले तीनवर्षे कार्यकालमा जिल्लामा भए गरेका कार्यक्रमहरुको निरन्तर रुपमा फ्लोअफ र अनुगमन गर्नुपर्ने बताउनुभयो । उहाँले परियोजनामार्फत जिल्लामा सञ्चालित कार्यक्रमहरुको स्थानीय सञ्चारमाध्यमबाट पनि प्रचारप्रसार गर्नुपर्ने बताउँदै स्थानीय सरकारहरुले कार्यक्रमको अनुगमन र निरीक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले एनजिओ र आइएनजिओहरुले सप्टवेयरमा मात्र नभई हार्डवयरमा पनि कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले जिल्लामा कार्यक्रम सञ्चालन गर्दा सबै पक्षसँग समन्वय गरेर प्रभावकारी रुपमा गर्नुपर्ने बताउँदै प्राप्त उपलब्धिहरुको पहिले र अहिलेको तुलनात्मक अवस्थालाई पनि तथ्याङ्कको रुपमा समावेश गर्न सुझाव दिनुभयो । कार्यक्रममा वनहार्ट वल्डवाइडका अनुगमन तथा मूल्याङ्कन निर्देशक लिलाधर ढकालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा वनहार्ट वल्डवाइड म्याग्दीका जिल्ला संयोजक उपेन्द्र चन्दले परियोजना अवधिभर म्याग्दीमा सञ्चालित गतिविधिहरुको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख भुवन ठकुराठीको अध्यक्षता, सूचना अधिकारी गणेश सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा वनहार्ट वल्डवाइडका फिल्ड अफिसर सिर्जना गौतमले स्वागतसहित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।

Leave a Reply