रसिलाले भनिन्,‘ बिन्ती छ, उपचारमा सहयोग गरिदिनुहोस्

रोजगारीका लागि भारत पुगेका श्रीमानको हातमा गम्भीर चोट लागेर अस्पताल भर्ना भएको केही दिनमा पर्वत जलजला गाउँपालिका–४,लामाखेतमा घाँस काट्ने क्रममा रसिला दमाइ भीरबाट लडेर गम्भीर घाईते भइन् । श्रीमानको भारतमा सहयोग जुटाएर जेनतेन उपचार भइरहेको छ तर, रसिलाले आर्थिक अभावका कारण शल्यक्रिया सहित उपचारमा समस्या झेल्नुपरेको छ ।

सुकुम्बासी जिवन विताइरहेकी रसिलाले विगत दु्ईसातादेखि अस्पतालको सैयाबाट उपचारको याचाना गरिरहेकी छन् । मेरुदण्डमा गम्भीर चोट लागेपछि शल्यक्रियाका लागि आवश्यक पर्ने खर्च अभावले झटपटाइरहेकी रसिलालाई यूरोपबाट आशिष परियार, जलजला गाउँपालिकाका साजन परियारले सहयोग जुटाइरहेपनि अझै सल्यक्रियाका लागि प्रयाप्त बजेट अभाव नै छ ।

गएको पुस २० गते लामाखेत नजिकै भिरमा घाँस काटिरहेको बेला अचानक भिर बाट लडेर गम्भीर घाईते भएपछि उपचारमा समस्या भएको आर्थिक संकलन अभियानमा जुटेका साजन परियारले बेनीअनलाइनलाई बताए ।

‘उपचारमा आर्थिक समस्या भइरहेको छ, उहाँलाई अप्रेसन सहित औषधिका लागि पनि सहयोग चाहिएको छ’ परियारले भने । उनले आर्थिक अभावका कारण अप्रेशनमा समेत ढिलाइ भएको बताए । भिरबाट लडेर अचेत भएकी रसिलाको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Adv

गण्डकी मेडिकल कलेजको बेड नं २७ मा उपचारार्थ रसिलाको मेरुदण्डसँगै घाँटी र शरीरको विभिन्न भागमा चोट लागेको छ ।धन कमाउन भारत पुगेरका श्रीमानको मेसिनले हातमा चोट लागेपछि अहिले रसिलालाई श्रीमान, घरमा रहेका दुई कलिला छोराछोरीको चिन्ताले समेत सताइरहेको छ ।

‘छोराछोरीका लागि म बाँच्नुपर्छ,’बिन्ती छ उपचारमा लागि लाग्ने खर्च सहयोग गरिदिनुहोला’ रसिलाले बेनीअनलाइनलाई भनिन् । उनले उपचारपछि निको भएर मजदुरी गरी छोराछोरीलाई पाल्नुपर्ने बाध्यता रहेको बताईन् । अस्पतालको सैयामा भक्कानिदै याचना गरेकी रसिलाले सहयोग गर्नेलाई जिवनभर नबिर्सिने बताइन् । रसिलाको उपचारमा करिब ३ लाख खर्च हुने बताइएको छ ।