गफ दिन र काम गर्न कति फरक छ, त्यसको ज्वलंता उदहारण हो म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्लामञ्च ।एक दशक अगाडीदेखि निर्वाचित जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधिले ठूल्ठूला गफ गदैं खुल्लामञ्चलाई ‘मिनी रंगशाला’ बनाउने घोषणा गरेर अहिलेसम्म म्याग्देली जनतालाई झुक्याइरहेका छन् ।
खुल्लामञ्चलाई रंगशाला बनाउने कामलाई तिब्रता नदिएपनि अहिलेसम्म गफ जोतेरै भएपनि सुन्दर खेलमैदानको सपना बाँडिरहेका छन् । गतबर्ष असोज–कात्तिक महिनामा म्याग्दीको सदरमुकामस्थित खुल्लामञ्चमा नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आयोजित महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन सत्रमा बेनीको खुल्लामञ्चको पूर्वाधार विस्तारमा ४ करोड विनियोजन गर्ने सार्वजनिक रुपमै प्रतिबद्धता जनाएका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले ए बजेट नै पठाएनन् ।
मिनी रंगशालाको अवधारणा अनुसार नगरपालिकाले तयार गरेको डिपिआर सहित पटक–पटक सदस्य सचिव घिसिङलाई भेट्न जाँदा बेनी नगरपालिकाका मेयर सुरत केसी, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा सहितको टोलीलाई समेत समय दिएनन् ।
‘सार्वजनिक भाषण र ब्यक्तिगत भेटघाटमा पनि बजेट हाल्ने प्रतिबद्धताले उत्साहित थियौ,‘म्याग्देलीलाई उनले धोका दिनुभयो,यसपटक नगरपालिका बाहेक कतैबाट पनि बजेट आएन’ मेयर सुरत केसीले भने ।
खुल्लामञ्चलाई ‘मिनी रंगशाला’ बनाउन खेलकुदका सदस्य सचिव घिसिङले मात्रै होइन संघीय, प्रदेशसभाका सांसदले समेत बोली पुरा गर्न सकेका छैनन् । खेलकुद कार्यक्रममा खुल्लामञ्चमा प्रमुख अतिथि भएर गएका सांसदले पोडियममा उभिएर चर्को प्रतिबद्धता जनाएपनि आफ्नै हातमा रहेको बजेट सामान्य योजनाहरूमा खर्च गर्ने गरेका छन् ।
सांसदले विनियोजन गर्ने बजेट ग्रामिण क्षेत्रका सामान्य खेलमैदानमा राजनीतिक प्रभाव हेरेर खन्याउने सांसदहरूले खुल्लामञ्चको पूर्वाधार विस्तारमा आँखा चिम्लिएका छन् । DPR
नगरपालिकाको बजेटबाट मात्रै मिनी रंगशालाको सपना पूरा नहुने अवस्थामा अहिलेका संघीय र प्रदेशसभाका सांसद र मन्त्रीले समेत खुलामञ्चलाई स्तरोन्नति गरी मिनी रंगशाला बनाउने अभियानमा खुलेर बोलेका छैनन् ।विगत ५ बर्षदेखि संघीय सरकारबाट बजेट आएको छैन भने प्रदेश सरकारको समेत प्राथमिकतामा परेको छैन् ।
अव्यवस्थित मैदानका कारण फुटबलका फुटबलमा ११–११ जनाको टिम हुनुपर्नेमा खेलमैदानको मापदण्ड नपुग्दा ९–९ जनाको टिममा प्रतियोगिता हुने गरेको छ ।
मिनी स्टेडियम बनाउने योजनामा खेलमैदानलाई फराकिलो बनाउने र प्याराफिट बनाउने पूर्वाधारको काम बजेट अभावका कारण गति लिन नसकेको बेनपा–७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले बताए । ‘विगतमा कनिका छर्केजस्तै बजेट आउने गरेको थियो, अहिले त्यही पनि छैन’ वडा अध्यक्ष श्रेष्ठले भने । बेनी नगरपालिकाले चालु आवमा विनियोजन गरेको २० लाख बजेटबाट अहिले काम भइरहेको छ ।
अघिल्लो बर्ष बेनीमा आएका गण्डकी प्रदेशका सांसद एवम् पूर्व युवा तथा खेलकुद मन्त्रि राजिव गुरुङ (मनाङ्गे)ले खुल्लामञ्चको बिस्तारका लागि ८ लाख बिनियोजन भएको खवर सुनाएर फर्किएका थिए । मिनी रंगशालाका लागि करिब १० करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ ।
कालीगण्डकी र म्याग्दी नदीमा पक्की पर्खाल र पुरानो भन्दा फराकिलो ११–११ जना फुटबल खेल्न मिल्ने मैदान बनाउन ९६ मिटर लम्बाई र ४५ मिटर चौडाई भएको मिनी स्टेडियम बनाउन अहिलेकै अवस्थामा बजेट विनियोजन भए अझै एकदशक लाग्ने देखिन्छ ।
खुलामञ्चको स्वरुप फेर्दै रंगशाला बनाउने गण्डकी प्रदेश र संघीय सरकारबाट बजेट विनियोजन भए करिब २ बर्षमै मिनी रंगशाला तयार हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताए ।
म्याग्दी नदी र कालीगण्डकी किनारतर्फ प्याराफिट बनाउने काम भइरहेको छ कालीगण्डकी र म्याग्दी नदीको संगमस्थलमा अवस्थित खेल मैदान विस्तारसँगै नदी किनारामा तटबन्ध उठाई ८ हजारभन्दा बढी दर्शक अट्ने ९०–९० मिटर लामो प्यारापिट राख्ने योजना छ ।
विसं २०५१ मा तत्कालीन सांसद निल पुनले सांसद विकास कोषबाट १ लाख रूपैयाँ बजेट विनियोजन गरेर खुलामञ्चलाई व्यवस्थित बनाउन सुरु गरिएको थियो ।
खेलमैदान सुधारको अभियान सुरू भएको २९ बर्षसम्म पनि सदरमुकाम बेनीको एउटा खेलमैदान बनाउन म्याग्दीबाट निर्वाचित भएर गएका सांसदहरू असफल भएका छन् । नेपालीमा एउटा उखान छ–आकाशको फल आँखा तरी मर । म्याग्देलीलाई मिनी रंगशाला’ खेल खेल्ने र अवलोकन गर्ने यो उखान चरितार्थ हुँदैछ ।