भिरालो पहाडको टुप्पोमा अवस्थित म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिकाधुरीमा भाइटिकाको दिन करिब ५ सयभन्दा बढीले पूजाआजा गरेका छन् ।

मालिका, रघुगंगा र मंगला गाउँपालिकाको सिमानमा अवस्थित त्रिदेवी मालिका, कालिका र जालपाको पूजआजा गर्न बिम, पाखापानी, दरबाङ, कुहुँ लगायतका विभिन्न क्षेत्रबाट भक्तजनहरु मन्दिरमा पुगेको मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए । ‘एकाविहान धेरै घुईचो थियो, दर्शन गरी भाइटिका मनाउन भक्तजनहरु गन्तब्यतर्फ लागेका छन्’ अध्यक्ष गर्बुजाले भने ।

उनका अनुसार मन्दिरमा भक्तजनले चढाएको ४६ हजार ५७० रुपैयाँ भेटी संकलन भएको छ । त्यस्तै पाखापानीका कर्णबहादुर पुनले मन्दिरमा कृतिम दियो माला हस्तान्तरण गरेका छन् ।

विशेष गरी भक्तजनहरु मालिका मन्दिरमा भाकल गर्न र पुरा भएपछि बोका तथा परेवा लिएर भाकल फर्काउन जाने गर्दछन् । हरेक वर्ष बैशाख शुक्लपूर्णिमा, जेष्ठी पूर्णिमा र कार्तिक शुक्लपूर्णिमाको दिन पारेर मालिका मन्दिरमा पुजाआजा गर्न जाने गर्दछन् ।

समुन्द्री सतहदेखि करिब ३ हजार ३ सय मिटरको उचाइमा अवस्थित मालिका श्रीस्वस्थानी व्रतकथासँग सम्बन्धित छ । महादेवले मृत सतिदेवीलाई बोकेर हिँड्दा उनको माला खसेको ठाउँमा मालिका स्थापना भएको किम्बदन्ती छ ।

कालिका र जालपाकाको बीचमा मालिका मन्दिर छ । एउटा ठूलो शिलालाई कालिका र अर्कोलाई जालपाको रूपमा पुजिन्छ। सन् १९६६ सालदेखि नियमित रुपमा पुजाआजा हुँदै आएको मालिका मन्दिरमा बालबालिकादेखि वृद्धवृद्धासम्म पुग्ने गर्दछन् । मालिका–६, दरबाङस्थित दुखुका तीर्थबहादुर रोकाले २०२५ सालमा मालिका मन्दिर बनाइदिएका थिए ।

मन्दिरको छेउमा रहेको ढुङ्गा अर्थात् शिलाको चुचुरो छ । मालिकाबाट धौलागिरी, निलगिरी अन्नपूर्ण, मनास्लु, माछापुच्छे, गुर्जा, चुरेन,पुथा लगाएतका दर्जनौ हिमश्रंखला समेत अवलोकन गर्न सकिन्छ । मन्दिर आसपासबाट हिमालभन्दा अग्लो मान्छे देखिन्छ ।

 

Leave a Reply