म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीस्थित भगवती  युवा क्लबद्वारा विजयादशमीको अवसरमा आयोजित बडा दशैं मेला सकिएको छ । मेलामा सञ्चालित  विविध कार्यक्रमअन्तर्गत विभिन्न खेलका फाइनल खेल सकिएसँगै मेला सकिएको हो ।

शनिबार खुला भलिबल, प्रौढ भलिबल तथा बाल बास्केटबलको फाइनल खेल खेलाइएको थियो । बाल बास्केटबलमा कुल १९ टिमबाट फाइनलमा पुग्न सफल चिमखोलालाई हराउँदै पात्लेखेतले उपाधि जितेको थियो । उपाधिसँगै पात्लेखेतले ३० हजार र चिमखोलाले २० हजार नगद, प्रमाण पत्र र मेडल प्राप्त गरेको छ ।

खुला भलिबल प्रतियोगितामा कुल २० टिमले भाग लिएका थिए । अन्य १८ टिमलाई पछि पार्दै फाइनलमा पुगेका आयोजक भगवती युवा क्लब र काउलेगौडा युवा क्लब घतानबीच बेस्टप फाइभमा खेलाइएको खेलमा तीन सेट आफ्नो पक्षमा पार्दै घतानले उपाधि जितेको छ । विजेता क्लबले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँसहित प्रमाण पत्र र मेडल प्राप्त गरेको छ ।

उपविजेता आयोजक भगवतीले ६० हजार रुपैयाँसहित प्रमाण पत्र र मेडल प्राप्त गरेको छ । प्रौढ भलिबलअन्तर्गत १२ टिम सहभागी मध्ये १० टिमलाई पछि पार्दै फाइनलमा पुगेका बागलुङ गल्कोट र भक्किम्लीबीच समय अभावका कारण बेष्ट अफ थ्रि खेलाईएको खेलमा २-१ को सेटमा भक्किलीलाई हराउँदै गलकोटले उपाधि चुमेको हो।

विविध सांस्कृतिक कार्यक्रमअन्तर्गत मेला अवधिभर साँझ स्थानीय कलाकारले आफ्ना सांगीतिक प्रस्तुति दिए । राष्ट्रियस्तरमा ख्याति प्राप्त लोक तथा दोहोरी गायक रबी कार्की, गायिका शोभा कार्की र नृत्याङ्गना रबिना भण्डारीले समेत आफ्ना सांस्कृतिक प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

मेला आयोजक समितिका अध्यक्ष सरोज मल्लको अध्यक्षता, गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारीको प्रमुख आतिथ्यता तथा रघुगंगा गाउँपालिका वडा नं. २ भगवतीका वडाध्यक्ष अमृत भण्डारीको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

यहाँको भगवती कोत मन्दिरमा नवमीको दिनमा राँगोको बली दिइने गरिन्छ । तत्कालीन बाइसे/चौबिसे राज्यकालदेखि यहाँको कोतमन्दीरमा बढिबढाउ गरी राँगो हान्ने (काट्ने) चलन छ । यहाँ सरकारी मार हान्न हुने बोलकबोल रकम नेपालकै सबैभन्दा धेरै रहेको अनुमान गरिएको छ ।

Leave a Reply