बेनी नगरपालिका-३,भकिम्लीको मानब वस्तीदेखि करिव आधा घण्टाको उकालो उक्लिएपछि घनाजंगलको पूर्वतर्फको टुप्पोमा प्राचिन कालिदेखि सुरक्षित एउटा आध्यात्मिक सम्पदा छ । धार्मिकस्थल स्वर्गाआश्रमको अगाडीपट्टी चट्टानको माथि पानीको कुवा,धुपी सल्लाका सर्लक्क परेका रुख र ती रुखको विचमा ग्रामिण शैलीको ढुङ्गाले छाएको २ तले परम्परागत घर छ ।

बटुवा र ध्यान बस्न आउनेहरूलाई लक्षित गरी चिटिक्कको सत्तल बनाइएको छ भने तपस्यास्थलदेखि विश्रामस्थल, प्रवेशद्धार र चिटिक्क ढुंगा विच्छाइएको स्वर्गाआश्रम भने अहिलेसम्म गुमनाम रहेको छ ।

सप्तऋषि पहाडको रुपमा समेत चिनिने आश्रम आसपासको जंगलमा तत्कालिन समयमा ईश्वरानन्द सरस्वति एक्लै तपस्या र ध्यान बसेको ओडार सहितका अन्य भग्नाबसेस अहिले सम्म छ ।

धार्मिक र पर्यटकीय दृष्टिकोणले समेत म्याग्दीको सदरमुकाम बेनी नजिकै रहेको आर्कषक गन्तब्य स्वर्गाआश्रममा फाटफुट पर्यटक पुग्न थालेपछि गण्डकी प्रदेशले २० लाख, बेनी नगरपालिकाबाट २२ लाख र स्थानीय वडाबाट समेत पूर्वाधार विस्तार गरेको स्वर्गाआश्रम बेलढुंगा ब्यवस्थापन समितिका अध्यक्ष रत्न जिसीले बताए ।

‘प्राचिन कालिदेखि सुरक्षित एउटा आध्यात्मिक सम्पदा हो,‘यहाँ आएपछि धेरै देख्न पाइन्छ’ अध्यक्ष जिसीले भने। पाँच दशक अगाडी प्रमानन्द गुरू र छविलाल गुरू नाम गरेका स्वामीले समेत तपस्या गरेको उक्त स्थान आसपासमा रहेका पहाडलाई सप्त ऋषि पहाडको रुपमा समेत चिनिन्छन् ।

प्राकृतिक रुपमा अत्यन्त रमणीय,आध्यात्मिक आस्थाको केन्द्र,पर्यटकीय सम्भावनाले युक्त स्वर्गाश्रमको प्रचारप्रसार नहुदाँ ओझेलमा परेको बेनपा–३ का वडाध्यक्ष पदम पुनले बताए ।स्वर्गाआश्रमस्थलबाट स्वर्गाश्रमको ढोकाबाट पूर्वतर्फ सुन्दर बेनीबजारसंगै कालीगण्डकी,महारानी थान,उत्तरतर्फ गलेश्वरधाम,जगन्नाथधाम,मुक्ति क्षेत्र लगाएतका तीर्थस्थलहरुको अवलोकन गर्न सकिन्छ ।

तपस्वीनी ईश्वरानन्द सरस्वतीले २० वर्षसम्म कठोर तपस्या गरी सिद्धिप्राप्त गरेपछि देवघाटमा गएपछि पनि नियमित प्रचारप्रसार र पूर्वाधार विस्तारमा सहयोग गर्ने गरेकी छन् ।

स्वार्गाआश्रमको क्षेत्रमा दैनिक श्रमदानदेखि भक्तजनलाई स्वागत तथा सम्मानमा स्थानीय आमा समुहले समेत आफ्नो घरको घरायसी काम समेत छोडेर सक्रिय हुने गरेको भकिम्लीको भुकभुके आमा समुहकी पूर्णकला जिसीले बताईन् । हरेक वर्षको वैशाख १ गते स्वार्गाआश्रममा विश्व शान्तिको कामना गदैं रथयात्रा सहित भब्य पूजा गरिन्छ ।

Leave a Reply