अगतिलो ठेकेदारका परेका कारण म्याग्दीको बहुप्रतिक्षित ४० मेघावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको निर्माण कार्य कछुवा गतिमा संचालन भैरहेको छ। रघुगंगा गाउँपालिका–३ पिप्लेमा नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको आयोजना सुरू भएको करिब डेढ दशकमा जम्मा ६० प्रतिशत काम सकिएको छ ।नेपाल विद्युत प्राधिकरणले २०६६ सालमा यो आयोजनाको काम सुरु गरेको थियो ।
भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारकोे संयुक्त लगानीमा विसं २०६६ मा सो आयोजना निर्माण सुरू भएको आयोजनाको भारतीय ठेकेदार कम्पनी आइभिआरसियलले सम्झौता तोडेर गएपछि पुनः २०७४ साल मंसिर महिनामा भारतीय कम्पनी जेपी एशोशियट्सले ठेक्का लिएपनि आयोजनास्थलमा उल्लेखनीय प्रगती देखिएको छैन् ।
ठेकेदार आईभीआरसीएललाई सम्झौता रद्द गर्ने लगायतका प्रक्रियाका कारण लामो समयसम्म रघुगंगा अलपत्र प¥यो । भारतीय ठेकेदार कम्पनी आइभिआरसियलसँगको सम्झौता तोडेपछिको आयोजनास्थलमा जोडिएको जेपी एसोशियट्सको प्रगति समेत सन्तोषजनक छैन ।
भारतीय ऋण भएकाले ठेकेदार र परामर्शदाता उसकै हुनुपर्ने शर्तका कारण समेत राहुघाटभन्दा पछाडी सुरू भएका निजी आयोजनाहरूले ब्यवसायीक उत्पादन गरेपनि राहुघाटको प्रगति कमजोर छ ।
पहिलो ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण ठेक्का टोड्न ढिलाईमजदुरलगायत विस्फोटक पदार्थ आपूर्तिको स्वीकृतिका साथै ठेकेदारले झिकाउने सामानको अनुमति लगायत सरकारी प्रक्रियाका कारण बि.स २०७० सालमा परीक्षण उत्पादनको लक्ष्य अधुरो भएपनि भारतीय नाकाबन्दी, कोभिड–१९ को महामारीका कारण दोस्रो कार्यतालिका डिसेम्बर, २०२२ मा पूरा गर्ने योजना थियो । तर यो घोषित समयमा पनि पूरा हुन सकेन ।
विद्युत प्राधिकरणले सहायक कम्पनीको रुपमा २०७३ मा स्थापना गरेको रघुगंगा हाईड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको राहुघाट जलविद्युत आयोजनाको ठेकेदारले पर्याप्त मात्रामा उपकरण, निर्माण सामग्री र जनशक्ति परिचालन गर्न नसकेको कारण हालसम्म ६० प्रतिशत भौतिक र ४५ प्रतिशत वित्तिय प्रगति भएको जनाएको छ । आयोजनाका व्यवस्थापक राज विष्टले सन् २०२४ को अक्टोबर १७ सम्म ठेक्का सम्झौताको म्याद थप भएको बताए ।
ठेकेदार कम्पनीको कछुवा गतिमा भइरहेको प्रगतिले तेस्रो पटक तोकिएको अवधिसम्म पनि आयोजना सम्पन्न हुने छाटकाट छैन् । औपचारिक रुपमै आयोजना सकिने मिति अहिले भन्न आयोजना पक्ष तयार छैन् । प्राधिकरणमा कार्यकारी निर्देशक भएर कुलमान घिसिङ आएपछि आयोजनालाई प्राथमिकतामा राखेका थिए ।
पहिलो र दोस्रो कार्यकालमा समेत घिसिङको प्रयासमा आयोजनाले गति लिएपनि ठेकेदार कम्पनीको ढिलासुस्तीको चौतर्फी आलोचना भइरहेको छ । हालसम्म दग्नाम र झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध निर्माणको काम ६० प्रतिशत सकिएको छ ।
पिप्लेमा ६१ मिटर गहिरो सर्चसाफ्ट, तीन सय २९ मिटर वटम प्रेसर साफ्ट, छ सय ५४ मिटर लामो चारवटै अडित (मुख्य सुरुङमा पुग्ने पहुँचमार्ग) र १ सय ९६ मिटर ठाडो सुरुङ निर्माण भइरहेको छ। ६ किलोमिटर दुई सय ७० मिटर लामो सुरुङमध्ये हालसम्म पाँच हजार एक सय ६२ मिटर निर्माण सकिएको छ ।
१ हजार एक सय आठ मिटर सुरुङ खन्न बाँकी छ । बाँध निर्माण स्थलमा अडिट एक, अधेरीखोलामा अडिट दुई, पिप्लेमा अडिट तीन र तिल्केनी चौरमा अडिट नं ४ खन्ने कार्य सम्पन्न गरी ती अडिटहरुबाट सुरुङ निर्माण भइरहेको आयोजनाले जनाएको छ ।
घुमाउनेतालदेखि ११ किलोमिटर पहुँचमार्ग र एक वटा ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरी विद्युतगृह र बाँधलाई सिधा सडकले जोडिएको छ । तिल्केनीचौरमा विद्युत गृहको संरचना निर्माणमा जुटेको जेपी एसोशियट्सको कामबाट सरोकारवाला निकाय पटकै सन्तुष्ट छैनन् ।
स्थानीय राजनीतिक दलका केही नेताहरूलाई काम दिने, पहुँचको भरमा अगाडी बढ्न खोज्ने ठेकेदार कम्पनीले शक्तीशाली मानिएकालाई रिझाउने काम गरेको स्थानीय जनप्रतिनिधिको समेत गुनासो छ । ‘स्थानीय समुदायको माग पूरा हुदैन्, पहुँचवालाहरूको रजाँई छ’ नेकपा एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुबेदीले भने।
उनले म्याग्दी जिल्लाकै उज्यालो भविस्यको प्रतिनिधित्व गर्ने राहुघाटलाई गति दिन विभिन्न चरणमा गरिएका प्रयासले समेत काम नगरेको बताए । म्याग्दीका स्थानीय, प्रदेश र संघीय जनप्रतिनिधिले समेत आयोजना ढिलाइले म्याग्दीको विकासमा धक्का लागेको बताउने गरेका छन् ।
सन २०२३ को जनवरी ३१ देखि वार्षिक चौबिस करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत उत्पादन गर्ने लक्ष्यसहित आयोजनाले काम अघि बढाएको थियो।
यसैबीच गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जालीले समयमै आयोजना सम्पन्न गर्न आयोजनाका अधिकारीलाई निर्देशन दिएका थिए । उनले आयोजना अगाडी बढाउने क्रममा हुने अवरोध तथा निर्माण साम्रागीको अभावलाई सहजिकरण गर्ने समेत बताए ।
निर्माण कम्पनीको ढिलासुस्ती, डलरको मूल्यवृद्धि, निर्माण सामग्रीको बढेको भाउ लगायतका कारण हरेक वर्ष आयोजनाको लागत बढ्न सक्छ । नेपालका अरु आयोजनाहरू जस्तै बहुप्रतीक्षित राहुघाटपनि सेतो हात्ती बन्ने बाटोमा पुगेको छ । आयोजनाको समय र लागत बढदै गएर धान्नै नसक्ने गरी महँगो हुने रोगले आयोजना पनि थलिने जोखिम छ ।