म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको गाजेनस्थित सौरबोट क्षेत्रमा ३५ वर्षदेखि स्थानीयवासीको १ सय १२ रोपनीभन्दा धेरै जग्गा बाँझो छ । खेतीयोग्य जमिन भएर पनि स्थानीयवासीले अन्नबाली लगाउन छाडेपछि अहिले जमिन बाँझै बनेको हो ।
लेकबाट बेसीतर्फ बसाइँ सर्ने क्रम बढ्नु, गाउँघरमा गाईगोरु पाल्न छाड्नु र लेकाली अन्नबाली लगाउन छाडेपछि खेतीयोग्य जमिन बाँझो भएको छ । सौरबोट क्षेत्रमा एकजना स्थानीय व्यक्तिको न्यूनतम पाँच रोपनीदेखि १५ रोपनीसम्म जग्गाजमिन छ । तर खेती गर्न छाडेका कारण अहिले खेतीयोग्य जमिन सबै खाली पाखोमा रुपान्तरण भएका छन् ।
सौरबोटमा केही व्यक्तिले खेतीयोग्य जमिनलाई नुन छरेर पनि छाडेका छन् । २०४४/०४५ सालसम्म लेकाली उत्पादनको राम्रो खेती हुने यहाँको जग्गा जमिनमा अहिले तीतेपाती, बनमारो, घँयरु, थकाईलो जस्ता झार जङ्गलले भरिएको छ । सरकारले हरेक वर्ष ल्याउने बजेट, नीति, र कार्यक्रममार्फत खाली जग्गा जमिनको प्रयोग गरी कृषि गर्ने र स्वदेशमै रोजगारको सिर्जना गर्ने भने पनि त्यो नारामा मात्रै सीमित भएको छ ।
सौरबोटमा स्थानीयवासीले बसाइँसराइसँगै खेती गर्न छाडेको हुँदा अहिले आएर ती खेतीयोग्य जमिन पनि खाली पाखो बनेका हुन् । केही भिरालो र सम्म परेको सौरबोटमा १२ जनाभन्दा बढी स्थानीयको जग्गाजमिन बाँझै छ । उनीहरु सबैका जग्गाजमिन वर्षैँदेखि बाँझा छन् । सौरबोटमा पहिला मकै, कोदो र आलु खेती गरिन्थ्यो । अहिले जमिन बाँझै बनेपछि यहाँ दिनहुँ स्थानीयले भैँसी, गोरु, बाख्रासहितका बस्तुभाउ चराउँछन् । खेतीयोग्य जमिन चरन क्षेत्रमा परिणत भएपछि लेकाली उत्पादन समेत हराउँदै गएको छ ।
गाजने गाउँदेखि नजिकै पर्ने सौरबोटमा ४०–४५ सालसम्म लेकाली उत्पादन राम्रो हुन्थ्यो । तर अहिले लेकाली उत्पादन हुने खेतीयोग्य जमिन सबै बाँझो छ । मानिसहरुले गाउँबाट सहर चापेका कारण खेती लगाउन छाडेपछि जग्गाजमिन बाँझो बनेको गाजनेका स्थानीय यामबहादुर बानियाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘म आफूले जान्दा सौरबोटमा खेती देखेको थिएँ । ०४४/४५ सालसम्म यहाँ मकै, कोदो, आलु खेती गरेको मैले देखेको छु । त्यसपछि अहिलेसम्म जग्गाधनीहरु सहरीकरणले बसाइँ सरेपछि खेती गर्न छाडे । यहाँ झण्डै १४/१५ जनाको लगभग डेढसय रोपनी जति जग्गाजमिन बाँझो छ ।’
सौरबोट क्षेत्रमा लेकाली उत्पादनको साथमा व्यावसायिक कृषि उत्पादन गरेर बाँझो जग्गालाई हराभरा बनाउन सकिन्छ । संसारको सातौँ अग्लो धौलागिरि र दशौँ अग्लो चुचुरो अन्नपूर्ण हिमालको सम्मुखमा पर्ने भएकाले पनि यस ठाउँमा स्याउ, कफिलगायत अन्य लेकाली उत्पादनहरु तितेफापर, मुला, सागलगायत तरकारी र फलफूलहरु प्रशस्तै लगाउन सकिन्छ । समुन्द्री सतहदेखि झण्डै २३ सय मिटरको उचाइमा अवस्थित सौरबोटमा चिसो हावापानी भएकाले पनि लेकाली उत्पादनले राम्रो प्रतिफल दिन सक्छ ।
परम्परागत खेतीतर्फ जौ, फापर, ऊवालगायत अन्नबाली सौरबोटमा उब्जाउन सकिन्छ । कृषि खेती गर्न सकिने सौरबोट क्षेत्रमा पर्यापर्यटनको पनि उत्तिकै सम्भावना रहेको छ । तरेली परेका डाँडाकाँडा र लेकाली वस्तीको सौन्दर्यको साथमा पवित्र कालीगण्डकी तथा रघुगंगा नदीको वहाव सौरबोटबाट देखिन्छ । धौलागिरि र अन्नपूर्ण रेञ्जका सबै हिमश्रृङ्खलाहरु यहाँबाट छर्लङ्गै देखिन्छन् । म्याग्दी सदरमुकाम बेनीदेखि नजिकको दूरीमा पर्ने सौरबोटमा पिकनिक स्पट बनाएमा त्यहाँ पुगेर रमाउन सकिन्छ ।
जगन्नाथ आधारभूत विद्यालयका पूर्व प्रधानाध्यापकसमेत रहनुभएका स्थानीय निलकण्ठ शर्माले सौरबोटमा कृषि उत्पादनसँगै रिसोर्ट बनाएर आयमूलक फलफूल, जडिबुटी तथा कालीजपालनसमेत गर्न सकिने बताउनुभयो । ‘बेनीदेखि १० किलोमिटरको दूरीमा जगन्नाथ मन्दिर र मन्दिरबाट एक किलोमिटरको दूरीमा सोरबौट पर्दछ । यो अत्यन्तै समथर रहेकाले यहाँ वनस्पति प्रजाति, चराचुरुङ्गी प्रजाति, वन्यजन्तु जनावरको प्रजातिहरु पाइने ठाउँ भएकाले रिसोर्ट बनाएर पनि सौरबोट क्षेत्रलाई पर्यटनको हिसाबले विकास गर्न सकिन्छ । यसका लागि स्थानीयस्तरबाट पनि पहल हुन जरुरी छ’ उहाँले भन्नुभयो ।
कृषि उत्पादनको साथमा सौरबोट क्षेत्र आफैँमा पनि निकै सुन्दर, मनमोहक र आकर्षणको क्षेत्रका रुपमा रहेको छ । आर्यआर्जनको हिसाबले प्रचुर सम्भावना बोकेको ठाउँ भएर पनि सौरबोट ओझेलमा परेको स्थानीयवासी बताउँछन् । सौरबोटलाई पर्यटकीय गन्तव्य क्षेत्र टोड्केसँग पनि जोडेर विकास गर्न सकिन्छ । प्रसिद्ध जगन्नाथ मन्दिर, ऐतिहासिक डढेकोट राजदरबार र पर्यटकीयस्थल केभहिलबाट नजिकै पर्ने सौरबोटमा परापूर्वकालमा रानीले कपाल कोर्ने डिल पनि रहेको छ ।
कृषि र पर्यटनलाई जोडेर सौरबोटको विकास गर्न सकेमा स्थानीयको आयआर्जनमा वृद्धि हुनुका साथै रोजगारीको सिर्जना हुन्छ । सौरबोट क्षेत्रमा पछिल्लोपटक सडक सञ्जाल पु¥याइएको छ । लेकाली उत्पादन र पर्यापर्यटनको अधिक सम्भावना बोकेको क्षेत्र सौरबोटको विकास, प्रवर्द्धन र प्रचारप्रसार गर्नका लागि आवश्यक पहल थालिएको बेनी नगरपालिकाले जनाएको छ । सौरबोटको खेतीयोग्य जमिनलाई उत्पादनसँग जोड्नका लागि आफूहरुले योजना बनाइरहेको जग्गाधनी दुर्गा कार्की बानियाँले बताउनुभयो ।