म्याग्दीको बेनी नगरपालिका-८,कालिपुलमा निर्माण भएको टर्मिनल भवनको उद्घाटन गरिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले निर्माण गरेको उक्त भवनको बुधबार एक कार्यक्रमबिच बेनी नगर प्रमुख सुरत केसीले उद्घाटन गरे। टर्मिनल भवन निर्माण र बसपार्क ढलान गर्न वि.स. २०७८ पुषमा शुभ कन्ट्रक्सनसँग दुई करोड ८५ लाख ४५ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

निर्माण व्यवसायीले भवन निर्माण गरेर आयोजनालाई हस्तान्तरण गरेको थियो । आयोजनाले १७ बैशाखमा बेनी नगरपालिकालाई हस्तातरण गरेको हो ।टर्मिनल भवन निर्माण भएसंगै डेढ दशकपछि सदरमुकामस्थित कालीपुल बसपार्क सञ्चालनमा आएको हो । बसपार्कलाई सरसफाइ गरेर चिटिक्क पारिएको छ । सवारीसाधन व्यवस्थित रुपमा पार्किङ गरेर राखिएका छन् ।

बसपार्कमा टर्मिनल भवन,पार्किङ स्थल ,शौचालय, खाजाघर र प्रतीक्षालय लगायतका पूर्वाधार निर्माण भएपछि हिउँदमा धुलो, बर्खामा हिलो र अव्यवस्थित पार्किङको समस्या हटेको बेनी नगरपालिकाका प्रमुख केसीले बताए । ‘बेनी प्रवेशद्धारको यो भवनलाई चिटिक्क बनाउनुपर्नेछ,‘सबैको साथ र सहयोग आवश्यक छ’ मेयर केसीले भने ।

विगत तीन वर्ष यता बसपार्कलाई व्यवस्थित बनाउन पूर्वाधार निर्माण थालिएको थियो । कालीगण्डकी नदी कटानको जोखिममा परेको बसपार्कको संरक्षणका लागि तटबन्धन निर्माण, बसपार्क कालोपत्रे, ट्याक्सी र बस पार्किङ स्थल ढलान गरेपछि धुलो र हिलोको समस्या हटेको कालीपुल बसपार्क व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका बेनी नगरपालिका ८ का वडाध्यक्ष उत्तम कर्माचार्यले बताए ।

बसपार्कलाई व्यवस्थित र आधुनिक बनाउन गुरुयोजना अनुसार बसपार्कमा करिब साढे दुई करोड रुपियाँ लागतमा टर्मिनल भवन निर्माण गरिएको थियो । अपाङ्गमैत्री रहेको टर्मिनल भवनमा सार्वजनिक शौचालय, बाथरुम, टिकट काउन्टर र यात्रु प्रतीक्षालय लगायतका पूर्वाधारहरु निर्माण गरिएका छन् ।

बसपार्क निर्माण गर्न २०७४ मा सहरी विकास मन्त्रालयले कालीपुल बसपार्क गुरुयोजना बनाउन २१ करोड रुपियाँ लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको थियो । डिपिआर अनुसारको निर्माणकार्य अझै बाँकी रहेको छ । भवन आसपासका क्षेत्रमा रहेका अतिक्रमित संरचना नगरपालिकाले नै भत्काएको थियो ।

पार्किङमा राखिने सवारी सधानलाई समयको आधारमा २५ देखि दुई सय रुपैयाँ प्रति गोटाका दरले शुल्क निर्धारण गरिएको छ । भवन परिसरमा सुरक्षा निगरानीका लागि सिसिटिभी क्यामेरा जडान गरिएको छ । व्यवस्थित बसपार्क निर्माण भएपछि यातायात व्यवसायीलाई सहज भएको यातायात व्यवसायी लालबहादुर थापाले बताउनुभयो । २०६४ मा पर्वत र म्याग्दी जोड्ने काली गण्डकी नदीमाथि मोटरेबल पुल निर्माण भएपछि कालीपुल बसपार्क सञ्चालनमा आएको थियो । बेनीदेखि काठमाडौं, पोखरालगायत देशका विभिन्न ठाउँ, मुस्ताङ, म्याग्दीको उत्तरी क्षेत्रमा छुट्ने गाडी र ट्याक्सी यहाँ पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।

Leave a Reply