विगत ५ वर्षयता म्याग्दी मकै उत्पादनमा आत्मनिर्भर बन्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ । दैनिक उपभोग गर्नेबाहेक बीउका लागि यहाँ फलेको मकै बाहिरी जिल्लामा जाने गरेको छ ।
जिल्लाको लेकदेखि बेंसीसम्मका अधिकांश खेतीयोग्य जमिनमा मकैको खेती हुन्छ । कृषि ज्ञान केन्द्रले दिएको अनुसार जिल्लाको ११ हजार हेक्टर क्षेत्रफलबाट वार्षिक ३७ हजार ८ सय १७ टन मकै उत्पादन हुन्छ । यहाँबाट करिब २५ टन मकैको बीउ पर्वत, पोखरा, चितवन, लमजुङ, गोर्खा, डोल्पा, जुम्लामा जाने गर्छ । “म्याग्दी मकै खेतीमा आत्मनिर्भर छ,” कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो । “खानाबाहेक बीउ मकै उत्पादन गरी बाहिर जिल्ला पठाइने गरेको छ ।”
मकै खेतीमा सिँचाइ, समयमै फौजीकिरा नियन्त्र, असल मूल बीउ र आवश्यक मलको प्रबन्ध गर्न सके जिल्लाका कृषकले मकैबाट राम्रो आम्दानी लिन सक्ने कृषि प्राविधिक बानियाँले बताउनुभयो ।
गाउँघरमा ‘केटाकेटी मकै’ भनिने जुनेली मकै ‘पपकन’ को सहरमा माग बढेपछि नगदे बालीका रूपमा खेती गर्न थालिएको छ । जिल्लामा नगदे बालीका रूपमा पपकन सेतो र पपकन पहेंलो गरी दुई जातका मकैको १ सय ५० हेक्टरबढी क्षेत्रफलमा खेती हुन्छ । कार्यालयका अनुसार जिल्लाबाट पपकनको १० टन बाहिर निकासी हुने गरेको छ । जिल्लाको शत प्रतिशत मकै खेती आकासेपानीको भरमा निर्भर छ । हाल म्याग्दीका कृषकलाई मकै थन्क्याउने चटारो छ ।
जिल्लाको १६ सय मिटरभन्दा तल्लो क्षेत्रमा मनकामना १, ३, देउती, सितला र उपल्लो क्षेत्रमा अरुण १, २, हिलपुल सेतो र स्थानीय जातका मकै खेती गरिन्छ । पोसिलो मकै रत्नेचौर,बगरफाँट,घतान, पुलाचौर, सिँगा, पात्लेखेत, झीँ, भगवती, घार, बाबियाचौर क्षेत्रमा बढी खेती गरिन्छ । त्यसैगरी उत्पादन राम्रो भए पनि राष्ट्रिय मकै बाली अनुसन्धान केन्द्र रामपुरले ‘गरिबका लागि’ भनी सिफारिस गरेको पोसिलो १ मकै कृषकले रुचाएनन् ।
पोसिलो मकै स्वादमा मात्र होइन उत्पादन क्षमतासमेत राम्रो थियो । ‘पोसिलो मकैको स्वाद गुलियो र खाँदा नरम भएकाले बूढाबूढीले पनि मकैको आँटो सजिलै खान सक्थे,’ बेनी नगरपालिका २ का ८५ वर्षिय बेदप्रसाद उपाध्यायले बताउनुभयो ।
धान पछिको दोस्रो मुख्यबाली मानिएको मकै खेती पछिल्लो समय व्यावसायिक समेत हुँदै गएको छ । यहाँका किसानले खेतबाट नै हरियो मकै विक्रि गरेर मनग्गे आम्दानी समेत गर्न थालेका छन् ।