म्याग्दी बेनी नगरपालिका–७,महारानीथान आसपासका क्षेत्रमा बाटो ढुकेर दुई यूवाले लुटपाट गर्ने प्रयास गरेका छन् । बेनी–महारानी थान–अर्थुङ्गे सडकखण्ड अन्तरगत माउण्ट एभरेष्ट आवासीय मावि नजिकै साढे ८ बजे बाटोमा मोटरसाइकल रोकेर लुट्ने प्रयास गर्ने दुई यूवालाई यात्रुले प्रतिवाद गरेपछि भागेका छन् ।

रघुगंगा गाउँपालिका–५ झिँबाट फर्किदै गरेको अवस्थामा महारानीथान निवासी सञ्जय कुँवरको मोटरसाइकल बाटोमा सुतेर रोक्दै लुटपाटको प्रयास गरेका थिए । मोटरसाइकलका चाबी खोसेर शरीरमा लगाएको सुन र पैसा लुट्ने प्रयास गरेको कुँवरले बताए ।

‘बाटोमा योजनाबद्ध तरिकाले लुट्ने खोजेको देखियो,‘अध्यारोमा बसेर लुट्न खोजेजस्तो देखिन्छ’ कुँवरले भने । उनका अनुसार प्रतिबाद गदैं गर्दा बेनी अस्पताल विकास समितिका अध्यक्ष ज्ञानेन्द्र सुबेदी, स्थानीय होटल ब्यवसायी गंगा शाक्य आएपछि भागेको बताए । लुटपाटको प्रयास गर्ने दुबैको तस्वीर सहित विवरण प्रहरीलाई जानकारी दिइएको छ । लुट्न खोज्दा कुँवरको कपडा समेत च्यातिएको छ ।

लुटपाटमा संलग्न बेनी नगरपालिका भित्रैका यूवा भएकाले तस्वीर समेत कुँवरले सामाजिक सञ्जालमा हालेर सचेत हुन अपिल गरेका छन् । बाटोमा बसेर नगद, सुन र मोबाइल खोसेर भाग्ने योजना बनाएको अवस्थामा समयमै प्रतिबाद भएपछि भागेको प्रत्यक्षदर्शीको भनाई छ । यता प्रहरीलाई जानकारी गराइएपछि खोजीकार्य भइरहेको जनाएको छ ।

Leave a Reply