पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा हिजो (बुधवार)देखि व्यावसायिक रुपमा अचार बनाउने तालिम सुरु भएको छ । मालिका गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वय र मिलन म्याग्दीको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।

‘राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत’ एकल महिला, फरक क्षमता भएका महिला तथा कोभिड प्रभावित र हिंसापीडित महिलाहरुको लागि व्यावसायिक अचार बनाउने तालिम चलाइएको छ । समुदायमा रहेका विभिन्न प्रकृतिका महिलाहरुलाई समावेश गरी तालिम दिएर उनीहरुलाई पेशा तथा व्यवसायमा आबद्ध बनाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको मिलन म्याग्दीले जनाएको छ ।

व्यावसायिक अचार बनाउने तालिमको उद्घाटन गर्दै मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले अचार बनाउने तालिम लिएर सफल महिला उद्यमी बन्न सहभागीहरुलाई सुझाव दिनुभयो । उहाँले वडास्तरबाटै सहभागीको रुपमा महिलाहरु छनोट गरी तालिममा समावेश गरिएको बताउँदै तालिमको अवधिभरमा सिकेका ज्ञान, सिपलाई आउँदो दिनमा पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । आगामी आर्थिक वर्षका लागि वडास्तरबाटै सिपमूलक तालिमहरु सञ्चालन गर्न आवश्यक योजना बनाएर बजेट विनियोजन गर्नुपर्ने उहाँको भनाइ छ ।

सोही तालिमलाई सम्बोधन गर्दै मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले महिलाहरुलाई लक्षित गरेर सञ्चालित तालिम राष्ट्रपति महिला उत्थान अन्तर्गतको एउटा कार्यक्रम भएको बताउनुभयो । उहाँले कार्यक्रमको निर्देशिका अनुसार तालिम आयोजना गरी सहभागीहरुलाई तालिममा बोलाइएको बताउँदै ७ दिनको तालिम अवधिभरमा स्थानीयस्तरमा उपलब्ध हुने सामग्रीको प्रयोगमा गुणस्तरीय अचार निर्माण गर्नुपर्नेमा जोड दिनुपर्ने बताउनुभयो । म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाई दरबाङका अध्यक्ष लेकबहादुर पुनले तालिममा सिप सिकेपछि पेशा तथा व्यवसाय सञ्चालन गरेर उद्यमी बन्नुपर्ने बताउनुभयो ।

 

तालिमको उद्घाटनसत्र समापन गर्दै मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुनले तालिम लिएर महिला दिदीबहिनीहरु व्यावसायिक अचार उत्पादनको काममा लाग्नुपर्ने बताउनुभयो । उहाँले आगामी दिनमा पनि पालिकामार्फत महिलाहरुलाई विभिन्न तालिम तथा कार्यक्रमहरु सञ्चालन गरिने बताउँदै तालिमपश्चात् सक्षम उद्यमी बन्न महिलाहरुलाई आग्रह गर्नुभयो । गाउँपालिकाका उपाध्यक्ष पुनको अध्यक्षता र व्यवस्थापन संयोजक सुमित्रा गैरे पौडेलको सञ्चालनमा सम्पन्न तालिमको उद्घाटनसत्रमा मिलन म्याग्दीका अध्यक्ष कमला बानियाँ थापाले स्वागतसहित तालिम आयोजना गर्नुको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।

आउँदो ७ दिनसम्म चल्ने तालिमको धवलागिरि प्राविधिक शिक्षालय लेते मुस्ताङबाट प्रशिक्षक प्रदीप गौतमले सहजीकरण गरिरहनुभएको छ । यसअघि म्याग्दी उद्योग वाणिज्य संघको आर्थिक सहयोगमा महिला उद्यम विकास समिति म्याग्दीले पनि सदरमुकाम बेनीमा तनहुँबाट महिला प्रशिक्षक बोलाएर ५ दिने अचार बनाउने तालिम सञ्चालन गरेको थियो ।

गाउँघरमा पाइने टमाटर, मुला, गाजर, गुन्द्रुक, भटमास, बन्दा, काउली, अमला, कागतीलगायत स्थानीय कच्चा पदार्थहरुको प्रयोग गरेर बनाइने मीठो र स्वादिष्ट अचारबाट आकर्षक आम्दानी समेत गर्न सकिन्छ । अहिले सहर तथा बजारका होटल र रेष्टुरेण्टहरुमा विदेशबाट अचार आउने गर्दछ ।

Leave a Reply