म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँट गाउँमा अहिले डोकाभरी अनेक प्रकारका भाँडा वर्तनहरू बोकेर तीनजना व्यापारीहरू आएका छन् । सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका-८ घर बताउने ५६ वर्षीय फुलबहादुर तामाङ, धादिङ इन्द्रवतीका केशवकुमार आचार्य र महेन्द्र गुरुङ भाँडा बर्तनहरू बोकेर म्याग्दीका गाउँगाउँ डुलिरहनु भएको छ । सोही क्रममा उहाँहरू बगरफाँट पुग्नुभएको हो ।
भाँडाको भारी बोकेर गाउँ गाउँमा डुल्न थालेको ४० वर्षभन्दा बढी भएको उहाँहरूको भनाइ छ । ‘१४ वर्षको उमेरदेखि भाँडाको भारी बोकेर ‘बा’सँग गाउँगाउँमा डुल्न थालेको हुँ, यही पेसाबाट मेरो घर चलेको छ, पुख्र्यौली पेसा पनि धानिएको छ’ फूलबहादुर तामाङले भन्नुभयो । पर्वतको अर्मादीमा फूलबहादुर तामाङसहित १२ जनाको समूहले भाँडा स्टोर गरेर राखेका छन् । ‘हाम्रो १२ जनाको समूह छ, अर्मादीमा भाँडा स्टोर छ, त्यहीबाँट भाँडा बिक्री र सटही गर्न म्याग्दी, पर्वत र बागलुङका विभिन्न गाउँमा जाने गर्छौ र पुराना भाँडालाई त्यही लगेर जम्मा गर्ने गर्छौंँ’ फुलबहादुरले भन्नुभयो ।
गाउँमा तीन छोरा र श्रीमती भएका तामाङलाई आफ्ना पुर्खाहरूले कहिलेदेखि घुमन्ते व्यापार गर्न थालेका हुन् भन्ने एकीन हेक्का छैन । तर, पनि बाबु बाजेको पालादेखि नै यही पेशा गर्ने गरेकाले आफू पनि यही पेशामा लागेको उहाँ बताउनुहुन्छ । पहिलो पटक १४ वर्षको उमेरमा ‘बा’सँग भाँडा बोकेर ब्यापारमा निस्कनुभएका तामाङ अहिलेसम्म पनि त्यही पेशामै हुनुहुन्छ ।
मंसिरको अन्तिम साता धादिङदेखि पर्वतको अर्मादी आउनुभएका गुरुङको समूहले चैतको पहिलो सातासम्म यस क्षेत्रमा ब्यापार गरेपछि पुन गाउँ फर्केर अर्को ठाउँमा ब्यापारका लागि हिड्ने योजना रहेको बताउनुहुन्छ । डोकोमा नयाँ भाडा ल्याएर गाउँमा गएर कोही बेच्ने कोही साट्ने गर्ने सिन्धुपाल्चोकका ब्यापारीहरूको पुस्तैनी काम हो । उहाँहरूले आफ्नो नयाँ सामान र ग्राहकहरूसँगको पुरानो सामानको पनि मूल्य निर्धारण गर्ने र बराबर मूल्य परेमा पुरानो लिएर नयाँ सामान दिने गर्नुहुन्छ भने यदी मूल्य नयाँको कम परेमा आफूहरूले दिने र पुरानोको कम भएमा ग्राहकसँग रकम लिएर साट्ने गर्नुहुन्छ।
गुरुङका अनुसार व्यापार पहिला जस्तो छैन, अहिले सामान्य छ । वर्षमा एक पटक पर्वत, बागलुङ, म्याग्दी क्षेत्रमा व्यापारका लागि आउने गरेका उहाँहरूले मासिक सबै खर्च कटाएर २० देखि २५ हजार रुपैयाँसम्म जोगाउने बताउनुहुन्छ । ‘यही व्यापार सिकियो र यसैमा रमााएका छौँ, हुँदै भएन भने पनि महिनामा २० हजार रुपैयाँसम्म जोगाउने गरेका छौँ’ गुरुङले भन्नुभयो ।
आधुनिक प्रविधिको विकास भएसँगै मानिसहरू छिटो र भरपर्दो सेवाको प्रयोगमा लाग्छन् । आफ्ना आवश्यक्ताहरू परिपूर्ति गर्न आधुनिक स्रोत साधनको प्रयोग बढेको छ । सडक यातायातको विकासले गाउँघरमै सुविधा पाएपछि ग्रामिण क्षेत्रका स्थानीय बासिन्दा आफैँ बजार झरेर नयाँ भाँडा किन्ने गर्छन् । केही वर्ष अघिसम्म पुराना भाँडाहरू सबैका घर-घरमा देखिन्थे । भाँडा साटफेर गर्नेहरू गाउँ-गाउँमा भाँडा साट्दै हिँड्ने गर्दथे ।
आजभोलि गाउँघरतिर डोकोमा भाँडो बोकेर हिडेको बिरलै भेटिन्छन् । ‘धेरै पढाई लेखाई छैन त्यसैले दुःख भए पनि पुर्खाले गरेको पेसा अंगाल्दै आइरहेका छौँ,’ अर्का व्यापारी केशवकुमार आचार्यले भन्नुभयो । ‘अहिले यातायातको सुविधा छ, तर भाडा खर्चमा लाग्ने रकम बचाउन सकिन्छ कि भनेर डोकोमा बोकेर जिल्लाका सबै ठाउँमा बिक्री र साटफेर गर्दै हिँड्छौँ,’ आचार्यले भन्नुभयो ।
केही वर्ष अघिसम्म नयाँसँग पुराना भाँडाहरू साट्नका लागि गाउँगाउँमा डोकोभरी भाँडा बोकेर हिँडेको पाइन्थ्यो । पूर्वका पश्चिम क्षेत्र र पश्चिमका पूर्वी क्षेत्रतिर भाँडा बोकेर साटफेर गर्न हिँड्ने गर्दथे । तामा, स्टिल र सिल्टीका भाँडा बनाउने र बेच्ने व्यावसायीहरू नै भरिया बनेर गाउँघरमा हिड्ने गर्दथे । आजभोलि गाउँघरतिर मात्र नभएर कतै भेटिँदैनन् ।
ठाउँ-ठाउँमा भारी बिसाउँदै थकाई मार्दै वारि गाउँ र पारि गाउँ गर्दै डोकोभरिका नयाँ भाँडा सकेर पुराना भाँडाले फेरि डोको भरेर आफ्नै घर फर्कन्थे । प्रायजसो भाँडा साटफेर गर्नेहरू जुम्लातिरबाट आउने गरेको बेनी नगरपालिका-२ बगरफाँटका ८९ वर्षीय बेदप्रसाद उपाध्यायले बताउनुभयो । गाउँघरमा बुढापाकाहरू भाँडा साट्नेहरू आउँछन् भनेर पुराना र टुटेका भाँडाहरू सुरक्षित साथ राखिरहन्थे । त्यसबेला आफूहरूलाई भाँडा साट्नेहरू खोज्न पर्ने चिन्ता नभएको उहाँले बताउनुभयो ।