म्याग्दी : बेनीबजारलाई कालिगण्डकी नदीको कटानबाट जोगाउन पक्की पर्खाल निर्माण सुरु भएको छ।
रूपाताल एकीकृत विकास संरक्षण विकास परियोजनाले बेनी नगरपालिका–७ र ८ को कटानको उच्च जोखिम क्षेत्रमा थप पक्की आरसीसी पर्खाल निर्माण काम सुरु गरेको हो।
म्याग्दी जेसिजको भवनदेखि म्याग्दी उद्योग वाणिज्य संघको भवनपछाडिको भागसम्म कालिगण्डकी नदी किनारमा ८ मिटर अग्लो १३४ मिटर लामो काउण्टर फोर्ट प्रविधिको आरसिसि पर्खा निर्माण गर्न जग खनिरहेको छ।
कालिगण्डकी नदी कटानको उच्च जोखिममा रहेको कालिपुल वसपार्क र जेसिज भवन रहेको भागमा पक्की पर्खाल लगाउन गत वर्ष रुपताल संरक्षण एकिकृत विकास परियोजनाले ९ करोड ४५ लाख रुपैयाँमा रौताहट–बीएनबी कन्ट्रक्सन जेभीसँग ठेक्का सम्झौता गरेको परियोजनाका इन्जिनियर कृष्णबहादुर विकले जानकारी दिए।
परियोजनाका अनुसार २२ महिना भित्र योजना सम्पन्न गर्ने गरी गत वर्ष पुसको दोस्रा हप्ता ठेक्का सम्झौता भएको थियो।
सम्झौता अनुसार गत वर्ष कालिपुल वसपार्क स्थित कालिगण्डकी नदीले कटान गरेको क्षेत्रमा ८० मिटर पक्की पर्खाल निर्माण सम्पन्न गरिएको छ।
चालु आर्थिक वर्षको जेठ महिना भित्र जेसिज भवन देखि उद्योग वाणिज्य संघको कार्यालय पछाडी सम्मको एकसय ३५ मिटर पक्की पर्खाल निर्माण सक्ने गरी काम थालिएको छ।
रौताह–बीएनबी कन्ट्रक्शन जेभीको सहायक निर्माण कम्पनी माउन्ट धवलागिरि कन्ट्रक्सनका प्रतिनिधि विक्रम हमालले नदी किनारमा पक्की पर्खाल निर्माण गर्न जग खन्न थालिएको बताए। नदी किनारमा १४ मिटर फराकिलो जग ढलान गरी दुई मिटरमाथिबाट ५० सेन्टिमिटर बाक्लो र ८ मिटर अग्लो आरसीसी पर्खाल निर्माण गर्ने योजनामा उल्लेख छ।
दुईवर्ष अघि कालीगण्डकीमा आएको बाढीले बेनीको संगमचोक पछाडि र कालीपुल बसपार्क क्षेत्रमा कटान गरेको थियो।
वर्षात्का समयमा नदी कटानबाट बजारलाई जोगाउन पक्की पर्खाल लगाउन थालिएको बेनी नगरपालिका ७ का वडाध्यक्ष रमेश कुमार श्रेष्ठले बताए।
म्याग्दी खोलातर्फ मंगलाघाट देखि बेनी नगरपालिकाको कार्यालय सम्मको भागमा पक्की पर्खाल लगाउन ठेक्काको प्रक्रिया थालिएको परियोजनाले जनाएको छ। कालिगण्डकी र म्याग्दी नदी कटानको उच्च जोखिममा रहेको म्याग्दीको सदरमुकाम बेनीबजारलाई संरक्षण गर्न करिब ५३ करोड बराबरको लागत अनुमान गरिएको छ।