पछिल्लो समय भाइरल बनेको म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौरमा तोरीको फाँटमा अहिले पनि पहेँलै तोरी फुलेको छ । गतबर्षजस्तो घुम्न आउनेको भिडभाड यसपटक कम छ । तर, तोरीबारीमा भने मौरीको ताँती नै देख्न सकिन्छ । तोरीबारी आसपासका क्षेत्रमा लस्करै राखिएको मौरीको घार र तोरीबारीभरी मौरीले रस चुसीरहेको दृष्य निकै लोभलाग्दो छ।

म्याग्दीको बेनी नगरपालिका–४,सिङ्गास्थित सुर्केमेलाका दिलबहादुर खत्री क्षत्री बेनपा–१ रत्नेचौर र छिमेकी जिल्ला बागलुङस्थित बागलुङ नगरपालिका–४,कुँडुलेमा रहेको तोरीबारीको छेउमा दिनभर मौरी  चराउनुहुन्छ । मौरीको आहारा खोज्दै हिडेका दिलबहादुरले दिनभरी मौरीको हेरचाहमा विताउनुहुन्छ ।

म्याग्दीका व्यवसायिक माहुरीपालक कृषक ४२ वर्षीय क्षत्रीले रत्नेचौरमा २५ घार र बागलुङ नगरपालिकाको कुँडुलेमा ४५ घार मौरी चराइरहेका छन् । करिब एक दशकदेखि मौरीपालनमा सक्रिय रहेका क्षत्रीले बर्षेनी मौरीलाई प्रयाप्त चरण क्षेत्र र सहन सक्ने तापक्रमको खोजी गदैं मुख्य बासस्थानबाट घार ल्याएर मह उत्पादनमा सघाउने चरन क्षेत्रमा राख्ने गरेको बताउनुभयो ।पहेलै फुलेको तोरीबारी आसपासका क्षेत्रमा मौरीको ताँती नै देखिन्छ ।

मौरीको स्रोत जोगाउन पनि रुचाइएको आहारा र शान्त बतावरण चाहिने कृषक खत्रीको भनाई छ । मौरीको बासस्थानबाट करिक ३ किलोमिटरसम्म आहाराको खोजीमा जाने गर्दछन् । वार्षिक रुपमा मौरी तथा मौरीसहितका घार बिक्री गरेर बार्षिक २० लाखको कारोबार हुन्छ । बार्षिक मौरीसहित, खाली घार गरी सयवटा घार बिक्री गर्ने गरेका छन् । प्रतिघार मौरीसहित बिक्री गर्दा ४० प्रतिशत लगानी र ६० प्रतिशत श्रम तथा मुनाफा हुने अनुभव छ ।

म्याग्दीकै अर्का मौरीपालक कृषक जिवन केसीले मौरीको सबैभन्दा पहिलो रोजाई चिउरी र दोस्रो तोरीबारी रहेको बताउनुभयो । गुणस्तरीय महका लागि फलफूल, तरकारी, तेलहन, दलहन बाली, फुल फुल्ने सबै बिरुवा अनुकुल भएपनि सबैभन्दा राम्रो तोरी र चिउरी मानिन्छ । गुणस्तरीय मह उत्पादन गरे ग्राहक मह खोज्दै घरमै आउने भएकाले बजारको समस्या नभएको कृषकको भनाई छ । मौरी भाग्न सक्ने जोखिममा सावधानी अपनाउनुपर्नेमा भने कृषकलाई चुनौती छ । विहान चरन क्षेत्रमा पुगेका मौरी घाम अस्ताउन लागेपछि आफ्नै बासस्थानमा फर्किने अवस्थामा अरिङ्गाल लगायतका किराको आक्रमणले क्षती हुने गरेको कृषकको भनाई छ ।

विगतमा मौरीले तोरीबारी नष्ट गर्ने भ्रम रहेको अवस्थामा अहिले भने तोरीखेतीमा सक्रिय कृषकले नै मौरीपालकलाई बोलाउने गरेको भानु मावि रत्नेचौरका प्रअ भरत खत्रीले बताउनुभयो। तोरीबारीमा मौरीको चरन क्षेत्रले तोरी फस्टाउनुका साथै उत्पादनमा समेत सहज भएकाले मौरीपालक कृषकलाई स्थानीयले स्वागत गर्न थालेपछि जिल्ला बाहिरबाट समेत मौरी लिएर आउन थालेका छन् ।

 

 

 

 

Leave a Reply