न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारी संस्थाको सदरमुकाम बेनीमा एकाई प्रतिनिधिस्तरीय वार्षिक साधारणसभा आयोजना गरिएको हो।

कुल ६ हजार ४ सय ६३ जना शेयर सदस्यबाट आठ करोड २३ लाख ३४ हजार चारसय रुपैयाँ शेयर पुँजी, निक्षेप बचततर्फ ६९ करोड ९७ लाख ५० हजार छ सय ६५ रुपैयाँ र कर्जा लगानी ७३ करोड ६० लाख छ हजार दुईसय २८ रुपैयाँ रहेको छ । जगेडा कोष दुई करोड ६९ लाख ३३ हजार ५७ रुपैयाँ रहेकोमा कुल आम्दानी १० करोड ८७ लाख ७७ हजार दुईसय एक र खर्च नौ करोड ५८ लाख ७७ हजार आठसय ४५ रुपैयाँ रहेको सहकारीले जनाएको छ ।

‘सक्षम सदस्य, प्रतिस्पर्धी र उत्कृष्ट साकोस’ भन्ने मूल नारासहित सञ्चालित सहकारीको उद्घाटनसत्रमा सहकारीका उपाध्यक्ष रामजीप्रसाद सुवेदीले प्रगति, कोषाध्यक्ष बमबहादुर पुनले आर्थिक र लेखा तथा सुपरीवेक्षण समितिका संयोजक गोविन्दप्रसाद पौडेलले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाको अवसरमा उत्कृष्ट कर्मचारीहरुतर्फ ज्योती रिजाल, अस्मिता जिसी र सिर्जनादेवी शर्मा आचार्यलाई दोसल्ला ओढाएर नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

साधारणसभाको उद्घाटन गर्दै सहकारी रजिष्टार कार्यालय पोखराका रजिष्टार रमेश घर्तीले सहकारी संस्थाहरु सहकारीको नीतिनियम र सिद्धान्तअनुसार चल्नुपर्ने बताए । उनले पछिल्लो समय विश्व नै आर्थिक मन्दीमा फसिरहेको अवस्थामा सहकारीहरु पनि आर्थिक समस्यामा परिरहेको बताउँदै सहकारीको विकासमा सबै लाग्नुपर्नेमा जोड दिए । सहकारी रजिष्टार कार्यालयका अधिकृत चोलाकान्त वाग्लेले सहकारी संस्थालाई बलियो बनाउन सञ्चालक समिति, शेयर सदस्य र कर्मचारी सबै लाग्नुपर्ने भन्दै यसमा शेयर सदस्यहरुले विशेष ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष लिलाबहादुर बानियाँ, उत्कृष्ट सेवा केन्द्रको तर्फदेखि जलजला गाउँपालिका–३, मल्लाज पर्वत सेवाकेन्द्र उपसमिति संयोजक हेमन्त थापा, शेयर सदस्यद्वय सीता सापकोटा र सुजन बरुवालले मन्तव्य व्यक्त गरे । सहकारी संस्थाका अध्यक्ष अमृतलाल श्रेष्ठको अध्यक्षता र उपाध्यक्ष रामजीप्रसाद सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सदस्य कृष्णकुमार शेरचनले स्वागत गरेका थिए ।

Leave a Reply