म्याग्दीको विकास र समृद्धिको सपना पूरा गर्न जनताले मत दिएको वाम–लोकतान्त्रिक गठबन्धनबाट निर्वाचित प्रतिनिधिले बताएका छन् । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदको निर्वाचनमा विजय हासिल गरेपछि  बिहीबार म्याग्दीको बेनीमा आयोजित विजयउत्सवमा अबको पाँचबर्ष विकास र समृद्धिको मोडल बनाउने सपना पूरा गरी जनमतको सम्मान गर्ने बताएका हुन् ।

वाम–लोकतान्त्रिक गठबन्धनले म्याग्दीको निर्वाचनमा प्रतिनिधि सभामा नेपाली कांग्रेस र प्रदेश सभामा नेकपा माओवादी केन्द्रले जितेपछि खुसियालीस्वरुप आयोजित सभालाई सम्बोधन गदैं प्रतिनिधिसभामा निर्वाचित खमबहादुर गर्बुजा ‘खम्बीर’ले संघीय र प्रदेश सरकारबाट जिल्लाभित्र आवश्यक योजनाहरु ल्याउने सबैभन्दा पहिलो प्राथमिकता रहेको बताए। ‘तपाईहरुले भोट दिनुभयो, अब मेरो काम विकास दिएर ऋण तिर्ने हो’ गर्बुजाले भने।

उनले नयाँ परियोजना ल्याउने र अलपत्र परेका परियोजना, सडकका ठेकेदारलाई अबको केही महिनाभित्र काम सुरु गर्ने गरी काम गर्ने बताए। त्यस्तै प्रदेशसभा (२)मा माओवादी केन्द्रकै जिल्ला संयोजक रेशमबहादुर जुग्जालीले चुनावी अभियानमा विपक्षीका कमजोरीमाथि प्रहार गरेपनि अव जिल्लाको आवश्यकता र विकासमा सहकार्य गर्ने बताए । उनले आफ्नो क्षेत्रका प्रमुख समस्याहरूमा जानकार रहेको बताउँदै पश्चिम म्याग्दीका समस्या समाधान गर्ने गरी काम गर्ने बताए ।

प्रदेशसभा (१)मा नेकपा माओवादी केन्द्रका हरिबहादुुर भण्डारीले निर्वाचनको बेलामा बोलेका सबै प्रतिबद्धताहरु पुरा गर्ने बताए । कार्यक्रममा संविधानसभा सदस्यद्वय रेशमबहादुर बानियाँ, गोविन्द पौडेल, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्मा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष छवि विश्वकर्मालगायत नेताहरुले सम्बोधन गरेका थिए ।

कार्यक्रम नेपाली काँग्रेस म्याग्दीका उपसभापति केबि भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो । बिहीबार बिहानैदेखि गाउँ गाउँबाट हजारौंको संख्यामा आएका नेता, कार्यकता, समर्थक र शुभेच्छुकहरुको उपस्थितिमा सदरमुकाम बेनीबजारको परिक्रमा गरेको थियो ।

बेनीबजारको विभिन्न स्थानको परिक्रमासहित विजयउत्सवको ¥यालीमा सहभागी निर्वाचन जितेका दल तथा नेताहरुले बजारवासीको तर्फदेखि खादा, अबिर तथा आशिर्वाद थापेका थिए । बेनीबजारमा परिक्रमा गरेपछिको विजयउत्सवको ¥याली खुलामञ्च पुगेर सभामा परिणत भएको थियो ।

Leave a Reply