म्याग्दीको बेनी नगरपालिका-७,कुरिलाखर्कमा रहेको महारानीथान मन्दिरमा शनिबार पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ। दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन विभिन्न स्थानबाट मन्दिरमा आएका सर्वसाधारणहरुले पुजाआजा गरेका छन् । आफ्नो भक्तजनले मनोकामना पूरा गर्न पूजा आराधाना गरेको महारानी क्षेत्र विकास समितिकी अध्यक्ष लक्ष्मीदेवी जोशीले बताउनुभयो ।

कोरोना भाइरसको कारण दुईबर्षसम्म मन्दिरमा नियमित पूजाआज बाहेक भक्तजनका लागि बन्द गरिएकोमा यसबर्षदेखि नियमित पूजाआजा खुल्ला गरिएपछि धवलागिरी भित्रका तीन जिल्लाका विभिन्न स्थानका साथै पोखरा, भैरहवा, चितवन, बुटवल, बागलुङ, पर्वत जिल्लाबाट भक्तजनहरु आउन थालेको समितिले जनाएको छ । जिल्लाकै पुरानो तथा ऐतिहासिक महत्वको महारानीथान मन्दिरमा पर्व बाहेक अन्य समयमा शनिबार र मङ्गलबार विशेष पुजाआजा हुँदै आइरहेको छ ।

भाकल गरेर पुरा भएमा सर्वसाधारणले भाकल अनुसार बोका वा परेवाको बलि चढाउने तथा उडाउने गरेका छन् । भाकल गरेर विदेश वा पेशा जागिरमा लाग्नेहरु पुरा भएपछि पुजा गर्न आउने गर्छन् । पछिल्लो समय मन्दिरमा पुजा गर्न भक्तजनहरुको संख्या बढेको छ । मन्दिरमा शान्तिको प्रतिक मानिने परेवा उडाउने गरिन्छ भने भाकल पुरा गर्न बली दिने गरिएको छ । पछिल्लो समय बली विस्तारै घट्न थालेको छ ।

मन्दिरमा बलि दिने ठाउँ भक्तजनले नदेख्ने गरी पछाडिपट्टी सारिएको छ । तत्कालीन पर्वतका प्रशासक भर्तीबम मल्ललाई राजा मलेबमले देश छाड्ने आदेश दिँदा नमानेपछि हत्या गरेको थाहा पाई उनकी श्रीमतीले सोही ठाउँमै रुखमा झुण्डिएर आत्महत्या गरेकाले मृतआत्माको श्रद्धास्वरुप उक्त स्थान महारानीथान भएको पाइन्छ ।

सो स्थानमा शिलामूर्ति स्थापना गरी पुजाअर्चना गर्र्ने गरिएको महारानी क्षेत्र विकास समितिले जानकारी दिएको छ । करिब ३ सय बर्ष अगाडी बेनीबजारमा मानवबस्तीको विस्तारसँगै बेनीबजारमा समेत मन्दिरहरु बनेका थिए । महारानी थान, शिवालय, लक्ष्मीनाराण, गणेश मन्दिर, भगबती मन्दिर बेनीबजारको सबैभन्दा पूराना मन्दिर मानिन्छ ।

Leave a Reply