महिला उद्यमी हरिदेवी सिउथानी घरायसी काम सकेर सधै बेनी नगरपालिका-२,हाडेभिरस्थित साझा सुविधा केन्द्रमा जाने गर्थिन् । घरको कामबाट बचेको समयमा सिउथानीसँगै उद्यमीहरूले केन्द्रमा गएर अल्लो र ढाका बुन्ने गर्दथे। सीप र जाँगर भएपछि महिलाहरूको लोभलाग्दो आम्दानीको माध्यम बनेको केन्द्र विगत दुईबर्षदेखि बन्द अवस्थामा छ। बेनीबजारमा खपत हुने राँगा र भैसीको मासुका लागि केन्द्र नजिकै पशु बधशालामा जथाभावी पशुबध गरिँदा दुर्गन्ध फैलिन थालेपछि महिला उद्यमी जान पाएका छैनन्।

दैनिकजसो ढाका र अल्लोका विभिन्न उत्पादन खरिद गर्न जाने, नियमित तालिम लिन तथा ब्यवसायिक उद्यमीलाई सामान्य मापदण्ड समेत नअपनाइ बधशाला सञ्चालन गरिँदा त्यहाँ पुग्दा नाक थुन्नुपर्ने अवस्था भएको छ। उद्यमीलाई प्रोत्साहन गर्नुपर्ने बेनी नगरपालिकाले महिला उद्यमीको पटक–पटकको अनुरोध र अवलोकनको क्रममा देखिएको समस्यालाई समेत टुलुटुलु हेरेर बस्न बाध्य छ।बधशालाले केन्द्र बन्द भएपछि मंगला आमा समुहको भवनमा अल्लो र ढाकाको उत्पादन गदैं उद्यमी

बधशालामा राँगा तथा भैसी काटेपछि निस्कने हाड, छाला, लादी आदिको व्यवस्थापन नहुँदा समस्या भएको भन्दै उद्यमीले प्रश्न गर्दा नगरपालिकाले निर्माण गरेको पूर्वाधारसँगै नियमित कर तिर्ने गरेको भन्दै उल्टै प्रतिवाद गर्ने गरेको राष्ट्रिय लघु उद्यमी महासंघकी केन्द्रिय उपाध्यक्ष दिलु घतानेले बताइन् ।

‘बद्यस्थलले उद्यमी नै विस्थापित हुनुपरेको छ,‘प्रदेशमै नमुना रहेको साझा घरमा अहिले पाइला टेक्ने अवस्था छैन’ उनले भनिन् । महिला उद्यमीको कमाउने र अवलोकन गर्ने केन्द्र बधस्थलले उठिबास बनाउँदा समेत सरोकारवाला निकायले बेवास्ता गर्ने गरेको गुनासो गरेकी छन्।

जिल्ला लघु उद्यमी संघकी अध्यक्ष नेकसरा पुनले बधस्थल सञ्चालकले पाखाभरी दुर्गन्ध फैलिने गरी फालिएकाले केन्द्रमा रहेको सामानहरू निकाल्ने बेलामा समेत नाक थुन्नुपर्ने अवस्था रहेको बताईन् ।‘देशैभरबाट म्याग्दीका उद्यमीले उत्पादन गरेको अवलोकन गर्न आउने केन्द्र नै बन्द भएको छ,‘नयाँ उद्यमीलाई तालिम, अनुभव आदानप्रदान समेत रोकिएको छ’ अध्यक्ष पुनले भनिन् ।

उनका अनुसार बधस्थल सञ्चालन अगाडी केन्द्रमादैनिक अल्लोका १० जना, कटन ब्यागको १२ जना र ढाकाको १६ जना उद्यमीले उत्पादन गर्ने गरेको अवस्थामा अहिले केहीले आमा समुह र अधिकांसले कोठाबाटै बिक्री गर्ने गरेको बताईन्।

तत्कालिन समयमा व्यवस्थापिका–संसद्,महिला उद्यमशीलता विकास उपसमितिका संयोजक छाया शर्माको नेतृत्वमा पाँच सांसद र उद्योग मन्त्रालयका अधिकारीको टोलीले महिला उद्यमीले सञ्चालन गरेको उद्योगको अध्ययन गरेर उत्साहित हुदै फर्किएको बताइन्।

पशु बधशालामा बेलाबेला नगरपालिकाका जनप्रतिनिधि सहित जिल्लास्तरीय अनुगमन समितिले अनुगमन गर्दा बधशाला मापदण्ड विपरित भएको भन्दै सुधार गर्न निर्देशन दिएपनि अटेर गर्ने गरिएको छ ।

महिला उद्यमीको गुनासोसँगै बेनी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष एवम् नगरका प्रबक्ता रमेशकुमार श्रेष्ठ, वडा नं २ का अध्यक्ष यामबहादुर कार्कीले पटक–पटकको निर्देशनमा अटेर गरेको बताउँदै तत्काल बधका लागि ल्याइएका भैसी हटाउन र सरसफाई गर्न निर्देशन दिएका थिए ।

उनले महिला सक्षम भए घर, परिवार समाज नै समृद्ध हुने भएकाले पनिरोजगारी सिर्जना, गरिबीको अन्त्यका लागि वडाभित्रका महिलालाई समेत केन्द्रको आवश्यकता रहेको बताए।

‘यहाँबाट बधस्थल हटाउने प्रक्रियामा छौ,‘यस्तै अवस्था रहेमा डोजरले भत्काएर फाल्छौ’ वडा नं २ का अध्यक्ष कार्कीले भने । उनले बधस्थल आफ्नो वडामा पर्ने भएकाले यहाँ रहेको उद्यमीहरुको केन्द्रलाई नै प्राथमिकता दिने बताए।उनले उद्यमीहरूलाई विस्थापित गरी मापदण्ड विपरितको बधस्थल सञ्चालनमा वडाले अनुमति नदिने समेत प्रष्ट पारे।

यसैबीच बधस्थलले मंगलाघाट आसपासमा दुर्गन्ध फैलिने गरेको लिखित गुनासो वडा कार्यालयमा प्राप्त भएकाले अबको कार्यापालिका बैठकमा प्रस्तुत गरिने वडा अध्यक्ष श्रेष्ठको भनाई छ । जिल्लामा स्थानीय सीप, स्रोत र साधनमा आधारित साना उद्योग स्थापना अगाडी महिला उद्यमीले तालिम लिने केन्द्र नै बन्द भएपछि अहिले घरमै पुगेर तालिम दिदाँ प्रभावकारी नभएको उद्यमीको भनाई छ ।

Leave a Reply