शिरमा धौलागिरि हिमाल अनि पाउमा कलकल बग्ने काली गण्डकी । रुईसेदेखि गलेश्वर मन्दिरसम्म विशाल छाति लिएर बसेको राखु भगवती । यहि राखु भगवतीमा करिव ३० वर्ष अघि बैसाख २१ गतेका दिन सुवेदार लाल बहादुर श्रेष्ठ र बिष्णुमायाको कोखबाट एक प्रतिभावान बालकको जन्म हुँदा सायदै कसैलाई लागेको थियोे होला यस बालकमा अनौठो प्रतिभा लुकेको छ । भोलि यहि बालक राखु भगवतीको मात्र नभई नेपाल कै सान बन्नेछ–पहिचान बन्नेछ ।

यहाँ चर्चा गर्न लागेको पात्र यत्तिकै यो स्थानसम्म आएको भने पक्कै होईन । उसको सफलता भित्र अनेकन संघर्षका कथाहरु छन्, व्यथाहरु छन् । जसरी लाखौं चोट सहेर पत्थर पुज्नलायक मुर्ति बनेर मन्दिरमा सजिन्छ त्यसरी नै सुधिरले सफल कलाकार सुधिर बन्न हजारौं हण्डर र ठक्कर खाएर मात्र सबैको मनमुटुमा राज गर्न सफल भएका हुन् ।

म्याग्दी राखुकै अधेरीखोलाबाट अक्षर शुभारम्भ गरी दुई कक्षा पुगेका सुधिरले बुबा लाहुरे भएका कारण गुजरात गई पुन कक्षा दोहो¥याउदै प्राथमिक कक्षा पूरा गरे । पर्वत कुश्माको नमुना सेकण्डरी बोर्डिङ स्कुलमाबाट एसएलसी उत्तीर्ण गरे पछि भने उनको राजधानी यात्रा शुरु भयो ।

काठमाडौं जाउलाखेलबाट प्लस टु गरेपछि र पोखरामा व्याचलर्स पढ्दै गर्दा उनमा कता कता कलाकार बन्ने भुत सवार भयो । अहिले प्रचलनमा रहेको टिकटकमा एउटा जोडि नियमित देखिन थाले । कता कता श्रीकृष्ण श्रेष्ठको झल्को दिने त्यो अनुहार टिकटक प्रेमीको दिलमा बस्न सफल भयो । विशेषगरी “कोहिनुर“ को फ्रेम टु फ्रेम हुबहु अभिनय गरेर सुपर हिट भए पछि उनी एकाएक चर्चाका पात्र बन्न सफल भए ।

“हो, यहि टिकटक फ्रेम अभिनय मेरो जिवनको टर्निङ प्वाइन्ट हो । धेरैले चिने अनि मन पराईदिनु भयो ।” त्यो समय सम्झदै सुधिर थप्छन्–“दुईवटा डान्स एकेडेमी सञ्चालन गरि मेला र महोत्सवमा कोरियोग्राफरको जिम्मेवारी निभाउदै नृत्य लैजाने गरेको थिए । सन २०१४ मै मैले चलचित्रको असिस्टेन्ट कोरियोग्राफर बनेर क्यारियरको शुरुआत गरे ।

त्यसको लागि सानो नेगेटिभ रोल पनि स्वीकार गरेको थिए । जब कोहिनुर सामाजिक सञ्जालहरु टिकटक, फेसबुक, ईन्स्ट्राग्राम, युट्युवमा सुपर हिट भयो अनि मलाई अफर र कल आउन पनि शुरु भयो ।” नृत्यमा पोख्त सुधिरको युट्युव च्यालनमा मात्र दुई लाख बहत्तर हजार सस्क्राईबर छन् । टिकटकमा पाँच करोड बत्तीस लाख भिउ र पाँच लाख सतासी हजार एक सय फ्लोवर्स रहेका छन् ।

“भाको कुरा गर्न पर्छ ढाट्नु हुदैन … ” बोलको गितमा जब अभिनय गरे उनमा छुट्टै उस्साह पैदा भयो । ६ वर्ष पहिले भाको कुरा गरेको गितमा अभिनय गरेपनि जब “ए, हे ! मायाले ” तहल्का पिट्यो अनि उनले कहिल्यै पछि फर्केर हेर्नू परेन । यहि गितलाई उनी आफ्नो क्षेत्रमा कमव्याकको रुपमा लिन्छन् । “नबोली नबोली…, दुरी मजबुरी…., बेनी बजारमा…, घुम्तीमा रेल…., कुरा काट्ने मान्छेले काटुन… ” जस्तो दुईसय भन्दा बढि एक से एक हिट गितमा अभिनय गरेका सुधिर अहिले व्यस्त मोडेलका रुपमा स्थापित भएका छन् ।

सफलताको श्रेय बुबाआमा, जीवनसंगीनी सहित परिवारजन, निर्माता निर्देशक, सहकर्मी कलाकारहरु, शुभचिन्तक र फ्यानहरु साथमा संघर्षको समयमा साथ दिने साथीहरू र विद्यार्थीहरुलाई दिन चाहन्छन् । अहिले पनि “अविरल मायाको कोसेली…., यौटा कथा… ” जस्ता दर्जनौ म्युजिक भिडियो रिलिजको क्रममा छन् ।

लाखौं युवायुवतीको दिलमा बस्न सफल सुधिर भने विवाहित हुन् । उनको विवाह कथा पनि फिल्मको भन्दा कम छैन । रोमाञ्चित हुदै सुधिर सम्झन्छन्–“हाम्रो भेट बिहे भोजमा भएको हो । दुवै कलाकारिता क्षेत्र मन पार्ने, त्यसैले मन पनि मिल्यो। तर विवाह चाहिँ एरेन्ज म्यारिज नै हो । हरेक पुरुषको सफलतामा महिलाको हात हुन्छ ।

यो कुरा सुधिरमा पनि लागू भयो । भैरहवाका रोशनी श्रेष्ठले सुधिरलाई सफल बनाउन हातमा हात–काँधमा काँध मिलाएर साथ दिएकी छिन् साथका “श्री” लाई जन्म दिएर थप हौसला दिएकी छिन् । सुधिर आफ्ना जीवनसंगिनी रोशनीले पाईला पाईलामा साथ दिएकोले आफू अघि बढ्न सफल भएको स्मरण गर्छन् ।

“उनी आफै कलाकार भएकोले समस्याहरु बुझ्छन्, एक आपसमा समझदारी बनेकोछ, उनी पाउनु नै मेरो भाग्य चम्कनु हो । ” सुधिर थप्छन्–“छोरी “श्री” त मेरो “लक्की चाम” हो । जब उनको आगमन हुने खुशी मात्र के मिलेको थियो सफलताले एकाएक पछ्याउन थाल्यो । त्यसैले छोरीको नाम पनि नेपाली फिल्म जगतका सफल नायक र उत्कृष्ट नृत्यकार श्रीकृष्ण श्रेष्ठलाई स्मरण गर्दै “श्री” राखेको हुँ ।”

मास्टरब्राष्टर क्रिकेटर सचिन तेन्डुल्करबाट प्रभावित भै पहिले सफल क्रिकेटर बन्ने सपना बोकेका सुधिर महानायक राजेश हमाल र बादसाह शाहरुख खान लगायतका कलाकारहरुबाट प्रेरित हुदै कलाकारितामा पाईला टेकेर आधुनिक तर्फ ४ पटक वेष्ट मोडेल र १ पटक लोकदोहोरी तर्फ पनि उत्कृष्ट मोडलको अवार्ड चुम्न सफल भएका छन् । खुट्टामा समस्या भए पनि बेवास्ता गर्दै उनी कलाकारिता क्षेत्रमा थप केही गर्न चाहन्छन् । फिल्मी क्षेत्रलाई नै जीवनको उद्देश्य बनाएका उनी परिवारजनलाई पनि सुखि राख्न चाहन्छन् । “बुझेर र क्षमतावान बनेर मात्र यो क्षेत्रमा आउनुहोला ।”

नयाँ आउन चाहने कलाकारहरुलाई सुझाव दिदै सुधिर थप्छन् –“गडफादर नहुनाले सफलता पाउन लामो समय संघर्ष गर्नु प¥यो । मेरो मेहनत, लगनशीलता र धैर्यता, मेरा लागि साथदिने आफन्तजन, शुभचिन्तक फ्यानहरु र अभिनय गराउनु हुने निर्माता निर्देशकहरु र जस–जसले कलाकारिता क्षेत्र धान्नु भएको छ उहाँहरु सबै नै मेरा गडफादर हुन ।” उनी थप्छन् –“फ्यानहरु मेरा लागि भगवान हुन् । सधै माया र साथ दिनु भएको छ । भविष्यमा पनि दिई राख्नु होला ताकि मैले नयाँ उर्जा प्राप्त गरी राखु भगवती, म्याग्दी जिल्ला र समग्रमा नेपाल देश कै नाम राख्न सकु । शुभचिन्तकहरुलाई मनोरञ्जन दिलाउन सतप्रतिशत प्रयासरत रहनेछु ।”

“यो क्षेत्रमा लागेको एक दशक भयो । करिव आठ वर्षको मेहनत पछि मात्र सफलताले पछ्यायो ।” शुरुका संघर्षमय दिन सम्झदै उनी भन्छन्–“शुरुका दिनहरुमा डान्स डाईरेक्सन र कोरियोग्राफि गरे । पाँचै सेकेन्ड देखिने म्यजिक भिडियो पनि गरे । जय शम्भो, के म तिम्रो होईन र ….जस्तो फिल्ममा सानातिना रोलहरु गरे । ज्याकपट नामक फिल्ममा मुख्य रोल गरे तर विडम्बना रिलिज भएन । समुन्द्ररुपि यो क्षेत्रमा टिक्न र स्थापित हुन चानचुने कुरा थिएन । पहिलेको संघर्ष थाहा नपाउनेहरु टिकटकबाट स्थापित भएको भन्छन् । तर मैले दुःख मनाउ गर्दिन । कारण टिकटक मेरो लागि राम्रो प्लेटफर्म बन्यो । फ्यानहरुसंग र निर्माता निर्देशकहरुसंग जोड्ने पुलको काम ग¥यो । फिल्म ईन्ड्रष्ट्रिले नोटिस ग¥यो । यस मानेमा धेरै खुशी छु ।”

जे होस् बाल्यकाल म्याग्दी राखु भगवतीमा बित्दै त्यस पछिको समय पर्वत कुस्मा, कास्की पोखरा हुँदै कर्मक्षेत्र काठमाडौ भएकोले उनलाई कसैले रखाले, कसैले म्याग्देली, कसैले कुश्मेली, कसैले पोखरेली त कसैले राजधानीबासी भनेर चिन्छन् । जसले जे भनेर चिने पनि अति मिलनसार, सहयोगी, अग्रजलाई सम्मान र सहकर्मीलाई माया गर्ने, रत्तिभर घमण्ड नपालेका, कामलाई नै आफ्नो प्यासन सम्झने सुधिर नेपाल कै नाम राख्नेमा अग्रसर छन् । भावि दिनमा म्याग्दीको मात्र होईन नेपालकै पर्याय बन्न सकुन । कलाकारिता क्षेत्रको नक्षेत्र बन्न सकुन । शुभकामना !

Leave a Reply