राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा आज (बुधबार) प्रकाशन गर्ने अन्तिम तयारी पुरा गरेको छ। मंगलबार बसेको परीक्षा बोर्डको बैठकले प्राविधिक विषयवस्तुहरूमा टुंगो लगाई नतिजा प्रकाशनको अन्तिम काम पुरा गरेको बोर्ड अध्यक्ष महाश्रम शर्माले बताए।
‘मंगलबार अपराह्न बोर्डको बैठक बसेर टुंग्याउनुपर्ने सबै प्राविधिक विषयवस्तु टुंगो लगाऔं,’ अध्यक्ष शर्माले भने, ‘साउन ११ गते बुधबार एसइईको नतिजा प्रकाशन गर्ने तयारी सबै तयारी पुरा ग¥यौं। बुधबार बोर्डको बैठकले नतिजा प्रकाशन गर्छ।’राष्ट्रिय परीक्षा बोर्डका अनुसार वैशाख ८ गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षामा देशभरिबाट ४ लाख ९४ हजार ६ सय ८१ विद्यार्थीले परीक्षा दिएका।
३५ अकं नल्याए अवर्गीकृत गरिने, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्र्तगतका पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि परीक्षामा ३५ अंक नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्यांकनको नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ।
केन्द्रले चालु शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याएको ‘लेटर ग्रेडिङ निर्देशिका, ०७८ ले विद्यालय तहको कक्षा १–१२ सम्मका विद्यार्थीहरू अब पास हुन प्रत्येक विषयमा ३५ नम्बर अनिवार्य ल्याउनु पर्नेछ।
०७२ सालदेखि कार्यान्वयनमा ल्याएको ग्रेडिङ प्रणालीले विद्यार्थीको सिकाइ स्तर खस्काएको, शिक्षकमा पढाउने र विद्यार्थीको अध्ययन गर्ने संस्कृति हटाएको निष्कर्ष निकाल्दै पाठ्यक्रम विकास केन्द्रेले अक्षरांक पद्धति कार्यान्वयन कार्यविधि, ०७२ खारेजी गरी नयाँ लेटर ग्रेडिङ निर्देशिका, ०७८ कार्यन्वयनमा ल्याएको केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले बताए।
नयाँ व्यवस्था अनुसार अब विद्यार्थीको मूल्यांकन कक्षा १ देखि १२ सम्म्मा एकरूपता कायम गर्नेछ। यसअघि आधारभूत तहमा स्थानीय तहपिच्छे फरकफरक अक्षरांकन प्राणाली लागु थियो भने निजी र सरकारी विद्यालयबीच पनि मूल्यांकन प्रणाली फरक थियो। यसले एउटै तहको विद्यार्थीबीच विभेद कायम गरेको थियो। यसले विदेश अध्ययनका लागिसमेत समस्या आएको केन्द्रले जनाएको छ। ‘विद्यालय स्तरमा सबै तहमा एउटै मूल्यांकन प्रणालीले विद्यार्थीलाई स्वदेश तथा विदेशमा शिक्षा हासिल गर्न सहज हुन्छ,’ महानिर्देशक न्यौपानेले भने ‘ विद्यालयबीच पनि एकरूपता कायम हुन्छ।’
आठवटा श्रेणीमा वर्गीकृत ग्रेडिङ प्रणालीमा ९० र सोभन्दा माथि अंक प्राप्त गर्नेले स्तरीकृत अंक ४.० प्राप्त गर्नेछन् भने अक्षरमा ए प्लस र उपलब्धि स्तर सर्वोत्तम कायम हुनेछ।
८० र सो भन्दा माथि ९० भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीको स्तरीकृत ३.६ र अक्षरमा उपलब्धि स्तर ए प्राप्त गर्ने छन्। यी समुहका विद्यार्थीको उपलब्धि स्तरको व्याख्या अत्युत्तम हुने छ। ७० र सोभन्दा माथि ८० भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीहरूको स्तरीकृत अंक ३.२ र अक्षरमा उपलब्धि स्तर बी प्लस कायम हुनेछ भने उपलब्धि स्तरको व्याख्या उत्कृष्ट कायम हुनेछ।
६० र सोभन्दा माथि ६० भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीको स्तरीकृत अंक २.८ कायम हुने र अक्षरमा उपलब्धि बी हुनेछ भने उपलब्धि स्तरको व्याख्या उत्तम हुनेछ। ५० र सोभन्दा माथि ६० भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीको स्तरीकृत अंक २.४ कायम हुने अक्षरमा उपलब्धि सि प्लस र उपलब्धि स्तरको व्याख्या सन्तोषजनक कायम हुनेछ।
४० र सोभन्दा माथि अंक प्राप्त गर्ने विद्यार्थीहरूको स्तरीकृत अंक २.० हुने अक्षरमा उपलब्धि स्तर सी कायम हुने र उपलब्धि स्तरको व्याख्या ग्राह्य कायम हुने छ। यसैगरी ३५ र सोभन्दा माथि ४० भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीहरूको स्तरीकृत अंक १.६ हुने, अक्षरमा उपलब्धि स्तर डी र उपलब्धि स्तरको व्याख्या आधारभूत कायम गरिनेछ भने ३५ भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीको स्तर अवर्गीकृत गरिने अर्थात् फेल गरिने व्यवस्था नयाँ ग्रेडिङ प्रणालीले गरेको छ।
‘परीक्षा मूल्यांकनको नयाँ व्यवस्था अनुसार न्यूनतम सिकाइ नभएका विद्यार्थीले अर्को कक्षा चढ्न पाउने छैनन्,’ महानिर्देशक न्यौपानेले भने, ‘विगतमा नपढे पनि पास हुने, नपढाए पनि पास हुने अक्षरांकन प्रणालीको गलत बुझाइलाई नयाँ व्यवस्थाले समाधान गरेको छ। विद्यार्थीको सिकाइ स्तरको स्तरीयता कायम गर्न र अन्तराष्ट्रियस्तरमा समेत मानक कायम गर्न विद्यालय तहको शिक्षामा मूल्यांकन प्रणालीमा एकरूपता कायम गरिएको हो।’
यति माात्र होइन विगतमा शैद्धान्तिकमा ५ नम्बर मात्र ल्याए पास हुने व्यवस्थाको अन्त भएको छ। नयाँ निर्देशिकाले विद्यार्थीमा सिर्जनात्मक क्षमताको विकास हुने र शिक्षकका मिहिनेत गरेर पढाउने बानीको विकास गहुने विश्वास शिक्षाविद् विद्यानाथ कोइरालाको छ।
नयाँ व्यवस्था अनुसार अब विद्यार्थीले शैद्धान्तिकमा अनिवार्य ३५ अंक र व्यवहारिकमा ४० अंक ल्याए मात्र मूल प्रमाणपत्र पाउने व्यवस्था गरेको छ भने दुई विषय भन्दा बढी विषयमा ३५ अंक भन्दा कम अंक प्राप्त गरे वा ग्रेड वृद्धि परीक्षामा ३५ अंक प्राप्त गर्न नसक्ने विद्यार्थीले पुनः सबै विषयको परीक्षा दिनुपर्ने वा कक्षा दोह¥याउनु पर्ने हुन्छ।
‘०७२ सालसम्म विद्यार्थीले पढेर अध्ययन गरेर कम्तीमा ३२ नम्बर ल्याउने व्यवस्थाले शिक्षाको गुणस्तर कायम गरेको थियो,’ शिक्षाविद् कोइरालाले विश्लेषण गरे ‘०७२ पछि दातृ निकायको निर्देशनमा धेरै विद्यार्थी पास गराउने निहुमा नपढेनि पास हुने अक्षरांकन पद्धतिले समग्र विद्यालय शिक्षाको स्तरै खस्काएको सरकारी प्रतिवेदनले नै उजागर गरिदियो। हाल सरकारले कार्यान्वयनमा ल्याएको लेटर ग्रेडिङ निर्देशिका विद्यार्थीमा अध्ययन गर्नुपर्ने संस्कार विकास हुन्छ।’ nagariknews.com