पल्लोपाखा सामुदायिक माध्यमिक विद्यालयका दुई शिक्षकले यस वर्ष एकैपटक काम छाडे। पढाउन थालेको झण्डै १० वर्षमा विद्यालय छाडे्का राजु पौडेल र सात वर्षमा विद्यालय छाडेका विकास पौडेल विद्यालयबाट मात्रै टाढा भएनन्, उनीहरु जन्मेको थातथलो नै छाडेर हिँडे।
बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको टारगाउँमा रहेको पल्लोपाखा माध्यमिक विद्यालयमा अध्यापन उनीहरु घर टुनीबोट गाउँमा पर्छ। यो गाउँबाट यस वर्ष वर्षा सुरु नहुँदै १० घरले थातथलो छाडेका छन्। राजु र विकासजस्तै अर्का शिक्षक यदुनाथ शर्मा जागिरे जीवनबाट अवकाश पाउँदाको भोलिपल्टै घर छाड्ने अर्का पात्र हुन्। घरखर्च चलाउनमात्रै खेती किसानी गरेर गुजारा चलाउनेदेखि विभिन्न पेशा–व्यवसायमा रहेर काम गरिरहेका अधिकांशले गाउँ छाडेका छन्।
विसं २०७७ भदौ २८ र २९ गते यो गाउँमा आएको पहिरोले यहाँका नौ घर पुरेको थियो। पहिरोमा परेर दुई जनाको मृत्यु भयो। परापूर्वकालदेखि पहिरोको त्रास नरहेको गाउँमा एक्कासी गाउँमाथिबाट आएको पहिरोले घरबारी र ज्यान नै लिएपछि पुरिएका घरका विस्थापित भए। आसपासका घरहरू जोखिमकै कारण विस्थापित भए। गाउँका आधा परिवार विस्थापित भएपछि समुदाय नै मासिएको भन्दै घर छाडेर हिँड्नेको सङ्ख्या बढिरहेको छ।
‘न त घर जोखिममा थियो न मलाई रोजगारीको समस्या तर के गर्नु समुदाय नै नभएपछि एक्लै गाउँको घर कुरेर बस्न सकिएन्,’ यसै वर्ष शिक्षकको जागिरसँगै घर छाडेर हिँडे्का राजुले भने, ‘पहिरोले विस्थापितहरूको समयमा व्यवस्थापन र जोखिमको दिगो निकास हुन नसक्दा यो अवस्था आयो।’ बाउबाजेले आर्जेको सम्पत्ति, आफैँले बनाएको घर र खाइपाइ आएको जागिर छाडेर हिँड्दा नराम्रो लागेको उनले बताए।
कुनै समय निकै चहलपहल हुने टुनिबोट बस्ती अहिले सुनसान छ। त्यहाँका ४६ घरमध्ये ३१ घरमा ताला ठोकिएका छन्। घरका छेउकुना र आँगन घाँस र झाडीले भरिएका छन्। कुनै बेला घर–घरमै रोजगार भएको टुनिबोट बस्ती अहिले सुनसान र डरलाग्दो झाडीका रूपमा परिणत भएको छ। पछिल्लो समय टुनिबोटमा १५ घरपरिवारमात्रै बसोबास गर्दछन्। उनीहरुसमेत समुदायकै अभावमा गाउँ छाड्ने मानसिकतामा छन्।
‘गाउँमा बसेर के गर्नु एउटा घर ओल्लो डाँडा अर्को घर पल्लो डाँडा छ, बाँदरले समेत एक्लैलाई टेर्दैन,’ उनले भने, ‘गाउँ सकिएर जङ्गल भरियो, अब जङ्गलकै त्रासले गाउँ छाड्नुपर्ने छ।’ रोजगारीमा रहेका केहीले छाड्न नमिलेको र केही स्थानीयवासीको अन्यत्र जाने उपाय नै नभएकामात्रै गाउँमा रहेको शिक्षक राजु बताउँछन्। सडक नालीको प्रभावकारी व्यवस्थापन नगर्दा गएको पहिराले बस्ती उठाउने अवस्था आएको गाउँलेको आरोप छ।
टुनीबोट गाउँबाट विस्थापितहरू चितवन, पोखरा, काठमाडौँ र बागलुङ बजारमा बस्ने गरेका छन्। केहीले घर बनाए भने अवस्था कमजोर भएकाहरू भाडामा बसेर ज्यालादारीमा काम गरी छाक टार्छन्। दुई वर्षअघि पुरिएका घरसमेत पुनःस्थापना हुन नसकेकाले विपतका बेला सहयोग नपाइने भन्दै उनीहरू घर छाडेको बताउँछन्।
विपतले निम्त्याउने समस्या र बसाइँसराइ पछिल्लो समयको जटिल विषय भएको जैमिनी नगरप्रमुख नरबहादुर पुनको भनाइ छ। बसाइँसराइ रोकथामका लागि छलफल भइरहेको उनले बताए। सुविधाकै लागि गाउँ छाडेर हिँडेकाहरूलाई फर्काउन नगरले गाउँ–गाउँमा सुविधा पुर्याउने उनले बताए। पहिरो प्राकृतिक विपद् भएकाले त्यसको न्यूनीकरणमात्रै गर्न सकिने उनको भनाइ छ। विस्थापित र बसाइँसराइसँगै स्थानीय सीप, पूँजी र श्रमशक्तिसमेत बाहिरिने हुँदा बसाइँसराइलाई रोक्नुपर्ने स्थानीयवासीको माग छ।
बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिबाट जोगाउन राज्यले पहल गर्नुपर्ने, शिक्षा, स्वास्थ्यमा नागरिकको सहज पहुँच पुर्याउनुपर्ने, रोजगार तथा आम्दानीका स्रोत बढाउनतर्फ ध्यान दिन सके विस्थापित हुने कार्य र बसाइँसराइ गर्नेहरूको सङ्ख्यामा कमी आउने बुझाइ छ।