म्याग्दीको मङ्गला गाउँपालिका-३ स्थित ऐतिहासिकस्थल चिनाकोट दरबारमा पुग्ने पूर्वाधार निर्माण गरिएको छ । समुद्री सतहदेखि दुई हजार २ सय मिटरको उचाइमा अवस्थित चिनाकोटमा बाइसे चौबिसे राज्यका पालामा निर्मित दरबारलाई लक्षित गरी धमाधम पूर्वाधार विस्तार गरिएको छ ।

गण्डकी प्रदेश सभा सदस्य, पूर्व सामाजिक विकास मन्त्री नरदेवि पुनको पहलमा सांसद विकास कोषबाट पूर्वाधार विकास कार्यालय मार्फत रकम परिचालन रकमबाट ९ लाख र स्थानीयको श्रमदानबाट १ लाख १० हजार खर्च गरी पदमार्ग निर्माण गरिएको छ ।

घाम्टाङ देखि चिनाकोट सम्मको करिव ४ सय मिटर पदमार्ग निर्माण गरिएको पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष दर्पण रोकाले बताउनुभयो । घाम्टाङ देखि चिनाकोटसम्मको जम्मा सात मिटर बाटोमा करिव ६० प्रतिशतमा पदमार्ग निर्माण भएको छ । गाउँपालिकाभित्रको पर्यटकीयस्थलमा पूर्वाधार विस्तारमा प्राथमिकता दिनुभएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बाईसे चौविसे राज्यको समयमा राजा बसेकोले चिनाकोटको महत्व विशेष रहेकाले आवश्यक पूर्वाधार विस्तार गरिएको बताउनुभयो ।

चिनाकोटमा अझैपनि दरबारका भग्नावशेष, रानी बसेर कपाल कोर्न ढुङ्गा, पानी खाने कुवा, सिपाहीहरुले सुरक्षाका लागि बनाईएका पर्खाल लगायत रहेकाले ऐतिहाँसिक महत्वको चिनाकोटलाई संरक्षण र सम्वद्र्धन गरिने वडा अध्यक्ष याम रोकाले बताउनुभयो ।

चिनाकोट दरवारलाई पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि मंगला गाउँपालिकाले गुरुयोजना तयार गरी पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको गाउँपालिकाले जनाएको छ । चिनाकोटबाट, मंगला, मालिका र बेनी नगरपालिकाका अधिकांश बस्तीहरु सहित डाँडाकाँडाहरुको दृश्यावलोकन गर्न सकिन्छ । ऐतिहासिक महत्वका खुडा, तरबार, ढाल, खुकुरीलगायत चिनाकोट दरबारका हतियारलाई थर्पुकोटमा सुरक्षित रुपमा राखिएको छ ।

चिनाकोटबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छे रेञ्जका हिमाल, सूर्योदय, पहाडी भूगोल, ग्रामीण बस्ती र वनजङ्गलको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ ।चिनाकोट नजिकैको झाँक्रीपानीसम्म सडक यातायातको सुविधा छ । झाँक्रीपानीमा होमस्टे (घरबास) सुविधा पनि छ । गाउँपालिकाले दृश्यावलोकन स्तम्भ (भ्युटावर) र सामुदायिक भवन निर्माण गरेको छ ।

 

Leave a Reply