देउता भिर गुफा नाम नै अनौठो छ। गुफा अजंग भिरको अप्ठ्यारो भागमा रहेको छ। मालिका गाउँपालिका–५ देवीस्थानको पुछारमा रहेको बेसीगाउँबाट झण्डै डेढ घण्टाको जोखिमपूर्ण बाटो हुँदै देउता भिर गुफामा पुगिन्छ। भिरमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने भएकाले यो गुफामा सितिमिति कोही पनि जान सक्दैनन्
मगरदाङ पनि भनिने बेसी गाउँको फेदीमा रहेको दाङखोला तरेर एक घण्टाको उकालो बाटो हिँडेपछि पुगिने देउता भिर गुफा र अजंगको भिरमा गुफाभित्र थुनिएजस्ता देवीदेवता देखिन्छन्।
गुफामा पुगेपछि अनौठा प्राकृतिक कलाकृति एकीकृत गरेर कुशल कालिगढले निर्माण गरेजस्तो अनौठो संग्रहालय छ। विभिन्न आकृतिका मूर्ति दखिने यो गुफामा पुगरे पूजा गर्दा मागेको कुरा पूरा हुने जनविश्वास छ।
गणेशको मूर्ति अंकित चट्टानको दाहिनेतर्फ दुवोको आकृति र माथिल्लो पट्टिको चट्टानमा केराको बोटका आकृति रहेका छन्। मूर्तिको अगाडिपट्टिको चट्टानमा गाईका थुनको आकृति रहेको छ। यी सबै प्राकृतिक कलाकृति हुन्। गुफा प्रवेश गरेको दुई मिनेट भित्रमा यी सबै दृश्य अवलोकन एकै ठाउँमा गर्न सकिन्छ। त्यहाँबाट देब्रेतर्फ सात पाइला अघि बढ्ने हो भने अर्को सानो प्रवेशद्वार जस्तो आकृति छ। त्यहाँबाट छिरेर तीन पाइला तल झरेपछि पानी बगेको ठाउँमा पुगिन्छ।
दाहिनेपट्टिको छेउमा ओरालो परेको ढुंगा छ। ढुंगाबाट अघि बढ्न निकै ठूलो साहस र आँट आवश्यक पर्छ। भिरको बिचमा रहेको यस गुफाभित्र रहेका अनौठा प्राकृतिक कलाकृतिले यहाँ पुग्नेहरूलाई गज्जबसँग मोहनी लगाउँछ। गुफामा पुगेपछि देखिने विभिन्न आकृतिको सौर्दयले लठ्ठै पार्ने स्थानीय इन्द्रमाया फगामीले बताइन्।
चोखो मन भएको, पाप नगरेको र अघिल्लो दिन चोखोनितो गरेको व्यक्तिमात्र यस ठाउँबाट अघि जान सक्ने अन्यथा चमेरा तथा सर्पले बाटो छेक्ने भएकाहरू यो ठाउँबाट अघि बढ्न नसक्ने विश्वास गरिन्छ। यहाँ रहेका थरीथरीका नागका आकृतिमध्ये एउटा आकृति प्रवेशद्वारको नजिकै रहेको नागको आकृतिसँगै ठ्याक्कै मेल खान्छ। पाप गरेको मान्छेलाई दोस्रो प्रवेशद्वारबाट अघि बढ्न नदिने वास्तविक नाग पहिलो प्रवेशद्वारमा रहेको नागको आकृतिको नाग नै भएको स्थानीयको विश्वास छ।
‘मैले स्थानीयले भनेको त सुनेको थिए, यहाँ आउने कठिन हुने हुँदा अहिलेसम्म चाहेर पनि आउन सकेको थिइन्, तर बल्लबल्ल यहाँ आएर हेर्दा म त छक्क परेँ’ फगामीले भनिन्, ‘नजिकैको गाउँमा भएर पनि म यहाँ पहिलो पटक आएकी हुँ, यहाँ आएर हेर्दा मलाई यस गुफा निकै आकर्षक लाग्यो, यहाँ नाग हात्तिको सुँड, गणेश भगवानको मूर्ति लगायत आकृति देख्न पाएँ।’
गुफाको बाहिरपट्टि रहेका द्वारपाल (ढोके) का दुईवटा प्राकृतिक ढुंगे मूर्तिलाई पूजा गरी ढोके (द्वारपाल)लाई प्रसन्न गराएपछि गुफाभित्र प्रवेश गर्ने अनुमति पाइने गुफाका पुजारी कर्णबहादुर घर्तीले बताए। घर्तीका अनुसार द्वारपालको अनुमति लिई पाँच पाइला अघि बढ्दा देवताको वासस्थान जस्तै लाग्ने अनौठो चट्टान भएको ठाउँमा पुगिन्छ। त्यहाँ भगवान गणेशको प्राकृतिक ढुंगे मूर्ति छ। मूर्तिको वरिपरि काला र पुराना चट्टान छन्।
तर, गणेशको मूर्ति, हात्तीको सुँड र शेषनागको मूर्ति असाध्यै सेतो र हिरा जस्तै चम्किलो चट्टानमा कुँदिएर प्रत्येक १४ सेकेण्डमा पहेलों वर्णमा परिवर्तन हुने गरेको उनले बताए। त्यसका साथै यहाँ पूजा गर्ने समयमा बत्ती बाल्नका लागि प्रयोग गरिने पाला(दियो) पनि प्राकृतिक रूपमा नै बनेका छन्। स्थानीयले यो गुफालाई ठूलो देवता मान्ने गरेका छन्।
यहाँ पूजा गर्न अघिल्लो दिन घाम छँदा नै चोखो भएर उपवास बस्ने विधि रहेको र यसो गरे मात्र गुफा भित्र छिर्न पाइने पुजारी घर्तीले बताए। ‘यहाँ यसरी पुजा गरेपछि सन्तान हुने विश्वासमा टाढा–टाढाबाट जोखिम मोलेर यहाँ आउँछन्’, घर्तीले भने। यहाँ विशेषगरी जेठको पूर्णिमा, जनैपूर्णिमामा विशेष पूजा हुने गरेको छ।
रहस्यमयी गुफा
यो गुफा यस क्षेत्रका वासिन्दाको लागि रहस्यमय बनेको छ। परम्परागत विश्वासलाई नै आत्मसात गर्दै यहाँका बासिन्दाहरुले प्रत्येक वर्ष वैशाख पूर्णिमाका दिन यहाँ साँड,भेडा, बोका र परेवाले बलिदिई पूजा गर्ने गरेका छन्। गुफाभित्र स्पष्टरूपमा गणेश, हात्ती, केरा, नाग,दियोका मूर्ति र कलाकृति छन्। स्थानीयले हरेक वर्ष बलि दिँदै आएका छन्।
देउताभीर गुफामा वैशाख पूर्णिमाको दिन बलि दिएका साँड,भेडा,बोका र परेवाको मासु पकाउँदा नुन हालिँदैन। फगामीका अनुसार प्रसादमा नुन हाल्नु हुँदैन भन्ने परम्परागत मान्यता छ। तर पकाउँदा नुन नहालेको मासु खाँदा भने नुनिलो मात्र होइन चर्को हुन्छ।
पकाउँदा नुन हालिँदैन तर खाँदा चर्को कसरी हुन्छ? स्थानीयका अनुसार बलि दिएका पशुको मासु गुफाभित्र रहेको खोलाबाट आउने पानीले धोईपखाली गरी बनाइन्छ। यसको अर्थ गुफा भित्रको खोलामा नुनिलो पानी रहेको छ। समुद्रको पानी नुनिलो हुने हो। पहाडको गुफा भित्र बगेको खोलामा नुनिलो पानी कसरी भयो? यो अनुसन्धानको विषय बन्न सक्छ।