नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटीले पालिकाको वडा नम्वर १ बेगमा चुनावी सभा सम्पन्न गरेको छ । शनिवार आयोजित सभामा बोल्ने एमालेका नेता तथा उम्मेदवारहरुले नागरिकको जनजीविका संग सरोकार राख्ने पार्टी नेकपा एमाले भएकाले बैशाख ३० मा भोट दिएर विजयी बनाउन आग्रह गरेका छन ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले राष्ट्रियताको रक्षा गर्न, संविधानको मर्म बुझ्न र जनताको सम्मान गर्न एमाले सधैँ तत्पर रहेको बताउनुभयो । उहाँले अहिलेको गठवन्धन सरकारले जनताको पक्षमा रहेर काम नगरेको बताउनुभयो । देशमा महंगी बढेको, भ्रष्ट्राचार मौलाएको, हरेक ठाउँमा आफ्ना कार्यकर्तालाई मात्र भर्ति गराएको, देशको अर्थतन्त्र कमजोर बनाएको लगायतका गतिविधिले गठवन्धनका सरकार असफल भएको उहाँको भनाई थियो ।

जिल्ला कमिटी अध्यक्ष देवेन्द्र कटुवालले जिल्लाका सवै पालिकामा जनता एमालेकै पक्षमा रहेको भन्दै आसन्न स्थानीय तह निर्वाचनमा एमालेको जित सुनिस्चित भएको दावी गर्नुभयो । जिल्ला कमिटी उपाध्यक्ष बालकृष्ण सुवेदीले रघुगंगाको सामाजिक, सांस्कृतिक, शैक्षिक लगायत सवै पक्षको उन्नतिका लागि एमालेको उम्मेदवारलाई सूर्य चिन्हमा मतदान गरि विजयी बनाउन अनुरोध गर्नुभयो ।

नेकपा एमालेका पालिका कमिटी अध्यक्ष समेत रहनुभएका गाउँपालिका अध्यक्षका उम्मेदवार दिपक कार्कीले रघुगंगाको आमूल परिवर्तन गर्ने योजना लिएर आएको बताउनुभयो । उहाले बेगबासीहरु संग गलेश्वर–भगवति–बेग सम्मको सडक पिच गर्ने, बेगखोला देखि घाप्पा, सिम हुँदै सिरुवारी सम्मको सडक स्तरउन्नति गर्ने, सडक नपुगेको बस्तीमा सडक पु¥याउने, एक घर एक धारा निर्माण गर्ने लगायतका प्रतिवद्धता जनाउनुभएको छ ।

१ वडामा अक्सिजन सहितको १ एम्वुलेन्स सेवाको व्यवस्था, पालिकाका सवै दलित वस्तीलाई नमूना सिल्पकार वस्ती निर्माण, सुकुम्वासीका लागि जग्गा व्यवस्थापन, प्रविधिमैत्री शिक्षाको व्यवस्था, जुन घर बेरोजगार, त्यो घरमा एक रोजगार जस्ता योजनाहरुलाई प्राथमिकतामा राखेको उम्मेदवार कार्कीले बताउनुभएको छ ।

उपाध्यक्षका उम्मेदवार याम कुमारी गर्वुजाले पालिका भित्रका सवै जातजाति र समुदायको न्यायका निम्ती कानून निर्माण गरि लागु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । महिला, दलित, तथा पिछडिएका बर्गको उत्थानका लागि विशेष खालका गतिविधि संचालन गर्ने योजना बनाएको गवुर्जाले बताउनुभयो ।

कार्यक्रममा वडा अध्यक्षका उम्मेदवार धन बहादुर गर्बुजाले जनताको सेवालाई प्रभावकारी बनाउने र जनताको हरेक दुख पीडामा साथ दिने बाचा गर्नुभएको छ । कार्यक्रम वडा कमिटी अध्यक्ष नरसिंह पुनको अध्यक्षता, जिल्ला कमिटी सल्लाहकार परिषद सदस्य विर बहादुर तिलिजाको स्वागत र पालका कमिटी सचिव झलक शर्माको संचालनमा सम्पन्न भएको थियो । बेगबासीको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा राष्ट्रिय जनसांस्कृतिक महासंघका कलाकारहरुले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

Leave a Reply